आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – जापानका ख्यातिप्राप्त हास्य कलाकार शिमुरा केनको कोरोना भाइरसको संक्रमणबाट आइतबार निधन भएको छ ।  ७० वर्षिय शिमुराको टोकियोको एक अस्पतालमा उपचारको क्रममा आइतवार राति निधन भएको हो ।

यही मार्च १७ मा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका उनलाई २५ तारिखका दिन अस्पतालले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो ।
सन् १९५० मा टोकियोको हिगासी मुरायामामा जन्मिएका शिमुरा हाइस्कुल विद्यार्थी छँदा नै इकारिया र चोसुके लगायतका कलाकारहरुले नेतृत्व गरेको ’द ड्रिफ्टर्स’ नामक कमेडियन ब्याण्डमा सदस्य भएका थिए । त्यसपछि सन् १९७४ मा अफिसियल सदस्यका रुपमा विभिन्न भेराइटिज शोहरुमा उनी सक्रिय रहँदै आएका थिए । ’एट ओ-कल्कक’, ’अल मेम्बर ग्यादरिङ’, ’हिगाशी मुरायामा ओन्दो’, ’हिगे डान्स’ लगायतका टेलिभजिनका लोकप्रिय हास्य कार्यक्रमहरु मार्फत उनी उदाएका थिए । यसका साथै ’बाका दोनो’, ’वेयर्ड अंकल’, ’इन, डफी’ जस्ता थुप्रै लोकप्रिय कार्यक्रमहरु मार्फत टेलिभिजनका पर्दामा देखिदैं लोकप्रियताको उचाई हासिल गर्दै आएका थिए ।

उमेरले ७० टेके पनि पछिल्ला दिनहरुसम्म हास्य ब्यंग्यको क्षेत्रमा उत्तिकै सक्रिय रहँदै आएक उनले हासिल गरेको लोकप्रियता र उचाई जापानको इतिहासमा अग्रपंत्तिमा रहेको बताईन्छ ।

सामाजिक विकृति र विसंतिका पाटोलाई टपक्कै टिपेर हास्य-रसमा घोलेर सरल र सहज ढंगले पस्कन सक्ने अदम्य क्षमता भएका शिमुराको निधनले जापानभित्र मात्रै नभएर विश्वकै हास्यक्षेत्रका लागि अपुरणीय क्षति भएको विश्लेषकहरु बताउँछन् ।

क्यारिकेचरमा समेत अब्बल दखल राख्ने शिमुराको हास्य कार्यक्रम बालबालिका, युवा, पाका सबै उमेरसमुहका दर्शकका लागि रोजाईमा पर्दै आईरहेको थियो । जापानले हास्य विधाको एक चम्किला नक्षत्र मात्रै गुमाएको छैन, पाको पुस्ताको एक शीर्षस्थ धरोहरलाई सँधैको लागि गुमाएको छ । जापानको हास्य ब्यंग्यको क्षेत्रमा ख्यातिप्राप्त वरिष्ठ हास्य कलाकार शिमुराको अभाव सँधै खड्की रहने छ । जीवनभरि निरन्तर हास्य जगतमा सक्रिय रहेर जापानी समुदायलाई चेतनाको दियो मार्फत मनोरञ्जन मात्र नभएर सकारात्मक सन्देश प्रवाह गर्दै आएका शिमुरा केन अब सँधैका लागि अस्ताएका छन् । विदेशीहरुमाझ पनि उत्तिकै लोकप्रिय शिमुरा केन केही दशकदेखि श्रीमतीसंग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएका थिए ।

दिवंगत आत्माको चिरशान्तिको कामना सहित सबैका प्रिय कलाकार शिमुरा केनप्रति समुद्रपारि परिवार हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ । ***

 

तपाईको प्रतिक्रिया