शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको प्रतिक्रिया दिएका हुन् ।

शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिए । ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो । जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको थियो ।

तपाईको प्रतिक्रिया