शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आएकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् ।

कामिकावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो । नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन ।’

यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले बताए । नेपालमा रहँदा उनले विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ । उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनी २:३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

कामिकावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया