आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

संक्रमणकाल अन्त्यका लागि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु आवश्यक रहेको राष्ट्रपति भण्डारीको आग्रह थियो । दीपावली तथा छठ पर्वका अवसरमा आज शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्वाचनलाई सबै दल मिलेर सफल गराउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गर्नुभएको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई राष्ट्रपतिले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिनुभएको जानकारी दिनुभयो । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पुर्‍याउन राष्ट्रपतिबाट आग्रह भएको बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसहित नौ दलका नेताको सहभागिता थियो ।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि शीतल निवास पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया