सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो, जापानको ब्यस्त अन्तरराष्ट्रिय बिमानस्थल मध्येको एक हानेदा बिमानस्थलमा अब मेसिनबाटै यात्रुको अनुहार जांच गरी प्रवेश अनुमति दिइने भएको छ । जापानको कानुन मन्त्रालयले एयरपोर्ट इमिग्रेशनको चेकजाँच प्रणालीलाई छिटो र छरितो बनाउन यस्तो ब्यवस्था गरेको जनाएको छ । सो प्रणाली यहि १३ तारिखका दिन सार्बजनिक गरिएको र १८ तारिखदेखि जापान प्रबेश गर्ने जापानीहरुबाटै प्रयोगको सुरु गर्ने क्योदो न्युजलाई उदृत गर्दै निक्केइ अनलाइनले प्रकाशित गरेको छ ।

सन २०२० मा टोकियोमा आयोजना गरिने ओलम्पिकको समयमा बिदेशीहरुको आवत जावत बढ्ने भएकोले बिमानस्थलका कर्मचारीहरु बिदेशीहरुको चेकजांचमा लगाई, जापानीहरुका लागि भने पूर्ण रुपमा यो प्रणाली मार्फत प्रबेश प्रकृया पूरा गर्ने लक्ष्य राखिएको समाचारमा उल्लेख छ । नयाँ जडान गरिएको मेसिनमा पासपोर्टले छोएपश्चात त्यसमा दर्ता गरिएको सम्बन्धित ब्यक्तिको फोटोसंग प्रवेश गर्ने ब्यक्तिको फोटो अर्थात अनुहार मिल्ने नमिल्ने जाँच गरी, मिलेमा मात्र प्रबेश ढोका खुल्ने प्रणाली बनाईएको छ ।

जसले गर्दा अर्को ब्यक्तिको पासपोर्ट लिएर प्रबेश गर्न चाहने ब्यक्तिले प्रबेश गर्न नसक्ने हुन्छ । मास्क तथा टोपी लगाएर प्रबेश गर्न खोज्नेहरुलाई पनि सचेत गराई ती चिजहरु खोलेर प्रबेश गर्न निर्देशन दिने प्रणाली बनाईएको छ । सो मेसिनबाट १० सेकेण्ड भित्रमै सबै प्रकृया पूरा हुने पनि अधिकारीहरुले बताएका छन् । यसो गर्दा बिमानस्थलमा कर्मचारीले पासपोर्टमा छाप लगाउने लगायतका म्यानुअल काम गर्न आवश्यक हुंदैन । यो मेसिनमा १३५ सेन्टिमिटर भन्दा होचो ब्यक्तिको लागि चाहिं जांच गर्न नसकिने भएकोले १ जना कर्मचारी त्यसको लागि नजीकै ब्यवस्था गरिएको बिमानस्थल श्रोतले जनाएको छ । सन् २००७ देखि लागु गरिएको औंठा छाप जांचको प्रणालीमा अग्रिम दर्ता गर्नुपर्ने भएपनि अनुहार जाँ प्रणालीमा भने जाँच गर्नुनपर्ने बनाईएको छ ।

जापान आउने बिदेशी पर्यटकको संख्या सन् १९९८ मा करिब ४१ लाख ६ हजार जना थियो भने सन २०१६ मा करिब २ करोड ४० लाख ३९ हजार पुगेको छ । सन २०२० सम्ममा बार्षिक ४ करोड बिदेशी पर्यटक भित्र्याउने जापान सरकारको लक्ष्य रहेको छ । हानेदा बिमानस्थलमा राखिएको यो प्रणाली सन् २०१८ भित्रमा नारिता, च्युबु, कान्साइ र फुकुओका लगायतका बिदेशीको आगमन बढि हुने बिमानस्थलहरुमा पनि राखिने कानुन मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया