बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – टोकियोमा दुई दिवसीय मोना फेस्टिवल सम्पन्न भएको छ । शनिबार सुरु भएको फेस्टिवल आइतबार समापन भएको हो ।

प्रमुख अतिथि इताबासी नगरप्रमुख साकामोतो ताकेशी लगायतका विशेष अतिथिहरुले फेस्टिवलको रिबन काटेर उदघाटन गरेका थिए । शनिबार उदघाटन समारोहमा बोल्दै मेयर साकामोतोले जापान र नेपाल बीचको सम्बन्धलाई थप टेवा पुग्ने यसप्रकारको संयुक्त कार्यक्रम आफ्नो गृहनगरमा सम्पन्न गर्न पाउँदा खुशी लागेको बताए । उनले जापान र नेपालको कला, सँस्कृति, भेषभुषा, खानपान, रहनसहन, गीत-संगीतमार्फत दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बिकास गर्न यसप्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बिचार ब्यक्त गरे । समारोहमा नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिका जोशी, मोना आइसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नबिन निउरे, मोनाका आइसीका संस्थापक अध्यक्ष प्रकाश पुन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

फेस्टिवल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तब्य रहेको समुद्घाटन समारोह मोना जापानका अध्यक्ष बिशाल केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

समुद्घाटन समारोह अघि घुम्टे नौमती बाजा समुह, धौलागिरी भजन समुह, मोहन ड्रागन महर्जन समुहको नेवारी सँस्कृतिमा आधारित लाखे नृत्य सहितको झाँकी, नेपाल आदिबासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेषभूषा र सँस्कृति झल्कने साँगीतिक प्रस्तुती सहितको झाँकीले फेस्टिवल स्थल परिक्रमा गरेका थिए ।

फेस्टिवलको दुबै दिन नेपाली र जापानीहरु कलाकारहरुले पालैसंग साँगीतिक प्रस्तुती राखेका थिए । साँगीतिक प्रस्तुती दिनेहरुमा एभरेष्ट इन्टरनेशनल स्कुल, तमु धी जापान, मोना जापान, घुम्टे नौमति बाजा, धौलागिरी भजन समुह, थकाली सेवा समिति, शेर्पा संघ जापान, तामाङ समाज जापान, पुन क्लव जापान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान लगायतका संघस्थाहरु रहेका थिए । यसैगरी जापानी कलाकारहरुले पनि जापानी सँस्कृति झल्कने कलात्मक प्रस्तुतीहरु राखेका थिए । फेस्टिवलमा दुबैदिन प्रो रेस्लिङ खेल पनि च्यारिटी शो गरिएको थियो ।

नेपालीका साथै जापानीहरुको उल्लेख्य सहभागिता रहेको फेस्टिवलको दुबै दिन दिनभरजसो साँगीतिक कार्यक्रम चलेको थियो । फेस्टिवलमा नेपाली तथा जापानी खानाका स्टलहरु पनि राखिएका थिए ।

फेस्टिवलमा मोनाका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । जसमा हङकङबाट मोना आइसीका संस्थापक अध्यक्ष प्रकाश पुन, दक्षिण कोरियाबाट मोना आइसीका महासचिव सुनेश केसी र कतारबाट मोना आइसीका कोषाध्यक्ष नरेन्द्र फगामी र उहाँकी धर्मपत्नी फुलमति फगामी, मोना कोरियाको उपाध्यक्ष रिम भण्डारी, कतारबाटै मोना कतारका पूर्व अध्यक्ष समेत रहेका सञ्चारकर्मी तिलु शर्मा लगायतका रहेका थिए । ***

 

तपाईको प्रतिक्रिया