बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ ।

नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया