बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन्।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए । पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दनदनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु ।’

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरूको अधिकारलाई दिलाउनका लागि महत्त्वपूर्ण भूमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसअनुकूलको वातावरण बनाउन पछि नपर्ने उल्लेख गरे । उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्नुुभन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागिपरेको दाबी गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीका मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे ।

 

तपाईको प्रतिक्रिया