बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बाबियाचौर –  म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३ औं कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ ।

बेनी नगरपालिका–६ का शर्माले ७० औं जन्मोत्सवका अवसरमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गर्नुभएको हो ।

यो कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयवस्तुमा आधारित कविता रहेका छन् । शर्माले २०६२ साल देखि हरेक जन्मदिनमा कृति प्रकाशन गर्दै आउनुभएको छ । उहाँले यसअघि कविता सङ्ग्रह आमाको सम्झना, तस्बिरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गर्नुभएको थियो ।

यसैगरी, शर्माद्वारा लिखित कथा सङ्ग्रह यौटा कथाको कथा, गीतिकाव्य ‘खोरभित्रको स्वर’ भाग १ र २, कोख र काख (खण्डकाव्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (मुक्तक सङ्ग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अनुभूति (नियात्रा) प्रकाशन भइसकेको छ ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा सचिव सुसन परियार र अमर स्पन्दनले पनि कृतिबारे बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया