काठमाडौं – नयाँ सरकार गठनको कसरतमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारी कार्यक्रम बहिष्कार गरेका छन् ।
कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले आज काठमाडौंमा गरेको राष्ट्रिय सुरक्षा गोष्ठी बहिष्कार गरेका हुन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवा र दाहाललाई निमन्त्रण गरेका थिए ।
आयोजकले देउवा र दाहालका लागि मञ्चमा अलग्गै कुर्सीको व्यवस्था गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा र दाहालले कार्यक्रम वहिष्कार गरेकामा दुःख व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय सुरक्षा कुनै एउटा मन्त्रालयको मात्र चासोको विषय नभएकाले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरिएको तर प्रमुख दलको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री नै कार्यक्रममा अनुपस्थित हुनु चिन्ताको विषय भएको बताउनुभयो ।