काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्र ले छाडेका मन्त्रालयमा मन्त्रीलाई थप नयाँ जिम्मेवारी प्रदान गर्नुभएको छ ।
माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका मन्त्रीलाई थप जिम्मेवारी दिनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिनुभएको र नयाँ जिम्मेवारी दिइएको पत्र आजै राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री तथा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनुभएका विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, रक्षामन्त्री भीमबहादुर रावलले गृह, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, श्रम तथा रोजगारमन्त्रीले आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई शिक्षा, भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई सिँचाइ र पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा, रेखा शर्मा सामान्य प्रशासन, अग्निप्रसाद सापकोटा, वन तथा भू –संरक्षण, शक्तिबहादुर बस्नेत गृह, गणेशमान पुन आपूर्ति, गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिँचाइ र हरिबोल गजुरेल कृषिमन्त्री हुनुभएको थियो ।