काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार घेराउ गरेको छ ।तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचानसहितका प्रदेश बनाइनुपर्ने माग गर्दै गठबन्धनले आइतबारदेखि सिंहदरबार घेराउ गरेको हो । सिंहदरबार घेराउका क्रममा गठबन्धनका नेता तथा कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा धर्नामा बसेका छन् ।
पार्टीको झण्डासहित धर्नामा बसेका गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सात प्रदेशको संविधान कुनै हालतमा स्वीकार नगर्ने भन्दै जातीय पहिचान कायम हुने गरी प्रदेशको सीमांकन गर्न माग गरेका छन् । त्यसक्रममा उनीहरुले सरकारविरोधी नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्दै नारा लगाएका हुन् ।