आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

– हेल्लो ! दाई नमस्ते ।
– नमस्ते भाई के छ खबर ?
– के हुन्थ्यो दाई वेहालै छ ।
– के भयो र त्यस्तो ?
– स्कुल जान झ्याउ लाग्यो म त फाँडी हान्दिउँ कि भनेको ।
– कता फाँडी हान्ने ?
– कता हुने नि दाई उही के फौजी तिर ।
– फौजी रे ? कस्तो फौजी ?
– रिफौजी के । रिफुजी…रिफुजीतिर जाउँ कि भनेको ।
– त्यस्तो नगर्दा राम्रो हुन्थ्यो किनभने अझै उमेर छ । दुइचार वर्षपढेर जागीर खाने अनि राम्रै तरिकाले जापान बसाईको बाटो बनाए त हुन्थ्यो नि ।
– के गर्ने दाई कहिले हो कहिले मलाई त लास्टै अत्यार लागेर आयो भन्या । साथीहरु त्यतै लागेर टन्नै कमाइसके आफू भने कहिलेसम्म स्कुल जाने ?
– आएको एक डेढ वर्षपनि भएको छैन त्यसरी आत्तिएर हुन्छ त ?
– मैले त निर्णय लिएँ दाइ । यसो प्रोसेसिङ्गको कुरा हजुरलाई थाहा भए बताइदिनुहुन्थ्यो कि भनेर ।
– खै भाइ मलाई त यस बारेमा त्यति थाहा भएन ।
– हुन्छ त त्यसो भए पछि फोन गरुँला ।
फोनको घण्टी काटिन्छ (टुँ..टुँ…टुँ…टुँ)

केही दिन अगाडि एकजना चिनेजानेको भाईसँग कुरा गरेको टेलिफोन वार्ताको एक अंश हो यो । केही समय अगाडि जापान छिरेका उनमा हालैका दिनहरुमा धेरै वैचारिक परिवर्तनहरु पाउन थालेको थिएँ । निराशाका कुराहरु बढी गर्ने, धैर्यता गुमाएको जस्तो अनि कताकता आर्थिक महत्वकांक्षी बढेको । बसेरै कुरा गरुँला र सम्झाउँला भनेको समयले भिलेन खेल्यो । माथिका वार्तालाप हुने दिनसम्म ढिला भैसकेको थियो ।

विद्यार्थीका रुपमा जापान छिरेका धेरैजसोमा भोलिका दिनमा केही राम्रो होला भनेर धैर्य गर्ने शक्ति छँदैनभएको जस्तो लाग्छ यी माथिका वार्तालापहरु सुन्दा । उल्टै राष्ट्रको वदनाम गरेर भविष्यलाई ओझेल पार्दै पढाई छाडेर शरणार्थीका लागि आवेदन दिन लाम लागेकाहरुलाई राम्रो भन्छन् उनीहरु अनि कसैले रोजेको गलत बाटाहरुको अनुशरण गर्न लालायित हुन्छौं । हिजो भर्खरै सम्मानजनक विद्यार्थी जीवन विताएकाहरु आज रातारात परिवर्तन हुन्छौं । अस्तीसम्म बुनेका सुनौला भविष्यका सपनाहरु एकैरातमा भताभुङ्ग पार्छाैं । अनि जापान छिरेको १/२ वर्षनपुग्दै विद्यार्थीका रुपमा आएकाहरुको झोलामा गृहकार्यका पानाहरुको साटो यो पार्टिको कार्यकर्ता र त्यो पार्टीको कार्यकर्ता भन्ने झुटो कागजपत्रको खात बोकेर शरणार्थी आवेदन गर्न लामवद्ध हुन्छौं । साला क्या छ जिन्दगी ! आखिर पैसै त रहेछ ।

नेपालमा मेरो वावाको यो व्यवसाय छ, जसको आम्दानीले मलाई जापानमा पढाउन सक्नुहुन्छ भनेर बनाइएको कागजमा सही धस्काएर बुझाएको हामीलाई सम्झना हुँदैन र आवश्यक पनि । हामीलाई केवल चाहिन्छ, यो संगठनमा काम गरेको, यसले मलाई ज्यान मार्ने धम्की दिएको  छ, उसले मलाई देशमा बस्न दिन्न भनेको छ आदि इत्यादि । ज्यानको खतरा भएकोले सुरक्षाको दृष्टिकोणले म नेपाल जान सक्दिन भनेर शरणार्थी बन्न लाम लाग्छन् । उच्च शिक्षा हासिल गर्न हिजै मात्र जापान छिरेकाहरु जादूमय तरिकाले तुरुन्तै असुरक्षित हुन्छन् । के र कस्को उत्प्रेरणाले शरणार्थीमा लामवद्ध हुन जान्छन् त्यो भने समयले नै बताउला र जापानमा भएका सम्बन्धित निकायहरूले वियाँलो नगरी यसतर्फ ध्यान दिन अत्यान्तै जरुरी छ ।

केही समय अगाडि म एउटा कम्पनीमा काम गर्दथें । त्यहाँ अन्य नेपालीहरु पनि काम गर्दा रहेछन् । त्यस कम्पनीमा काम गर्ने केही नेपालीहरु शरणार्थीको आवेदन बुझाएकाहरु पनि रहेछन् । कामको ब्रेकमा हामी जहिले सँगै बसेर खाना खान्थ्यौं । त्यस्तै क्रममा कहिलेकाहीं जापानी नागरिकहरु पनि मिस्सिन आउँथे । त्यही शिलशिलामा एक दिन हामी खाना खाँदै गर्दा एकजना जापानी हाम्रो नजिकै आयो र हामीसँग कुरा गर्यो । उनले नेपालको बारेमा धेरै सोधखोज गरे । जस्तैः कस्तो छ नेपाल ? जहाज भाडा कतिलाग्छ? कुन समयमा घुम्न जान राम्रो हुन्छ ? अनि सुरक्षाको अवस्था कस्तो छ ?

उसको प्रश्नहरुको उत्तर दिंदै थिए साथीहरु । त्यसै विचमा शरणार्थी आवेदन वाला मित्रले नेपालको याथार्थ बताउन कस्सिए । उनले सबैकुरा पालैपालो बताएँदै गए । यसै क्रममा उक्त जापानीले सुरक्षाको कुरालाई बढी ध्यान दियो । हुन पनि जापानीहरु सुरक्षाको कुरा सबैभन्दा बढी महत्वपूर्ण मान्दछन् । अर्कोकुरा नेपाल धेरै वर्ष माओवादी जनयुद्धको चपेटामा परेको भन्ने कुरा सारा संसारलाई नै थाहा छ । सायद त्यही कुराले उक्त जापानीमा नेपालप्रतिको सुरक्षाको विषयमा शंका रहेछ । जापानीको हरेक प्रश्नको उत्तर दिईरहेको शरणार्थी आवेदन वालाले यस विषयमा पनि बोल्यो । तपाई पीर नगर्नुहोस्, तपाई होटलमा बस्न पनि पर्दैन, म मेरो घरको फोन नम्बर दिन्छु तपाईलाई मेरो घरका मान्छे लिन आउँछन, केही हुँदैन ढुक्क भए हुन्छ । होटलमा बसे पनि भयो तर त्यो भन्दा बढी सुरक्षित मेरो घरमा हुन्छ । जाने वेलामा सम्पर्क गर्नु सबै व्यवस्था म मिलाईदिउँला । त्यो जापानीले खुशी हुँदै टाउको निहुरायो । शरणार्थी आवेदन वालाको शीर उचो भयो । विचरा त्यो जापानीलाई थाहा त किन हुन्नथ्यो र तर उसले केही भन्न चाहेन । सकेसम्म जापानीहरु सीधै अरुको मन दुखाउँदैनन् । पत्याउने नपत्याउने आफनो कुरा हो तर उसले भन्न पाउनुपर्ने उसको अधिकार हो भन्ने सोच्दछन् । त्यो दृश्य देखेर मलाई पनि कस्तो कस्तो लाग्यो । जो मानिस आफ्नो ज्यानको खतरा छ, नेपाल जान सक्दिन भनेर जापान सरकारसँग ज्यान सुरक्षाको लागि लम्पसार परेको छ, त्यही व्यक्ति जापानी नागरिकलाई नेपालमा सुरक्षाको ग्यारेन्टी लिन्छ । ब्रेक सकिएपछि हामी फेरि काममा फर्कियौं । अगाडि ब्रेकमा जापानीसँग गरेको वार्तालाप मेरो दिमागमा फन्फन्ती नाचिरहृयो । धेरै प्रश्नहरु आउँदै विलाउँदै गए । कैयौं प्रश्नहरुको अनुत्तरित जवाफले मेरो दिमाग एकोहोरो बनाएको रहेछ । केही बेर काम गर्नै नै छाडेर आफू  टोलाएको रहेछु । लिडरको चर्को आवाजले म झसंङ्ग हुन्छु । होरा … हायाकु सिरो (ओइ, छिटो गर) ।***

तपाईको प्रतिक्रिया