सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

हङकङ- नेपाली पोसाकका साथ राष्ट्रिय झण्डा र गौतम बुद्धका तस्बिर साइकलमा बोकेर सन् २००४ देखि विश्व भ्रमणमा निस्किएका विश्व साइकल यात्रीहरु लोकबन्धु कार्की र जनार्दन खनाललाई स्थानीय जोर्डनको फुलबारी क्लबमा कटकपुर झापाबासीले भब्य सम्मान र स्वागत गरेका छन् ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रशंसा पत्र, फूलका गुच्छा, खदा र मायाको सौगातहरुले विश्व साइकल यात्रीहरुलाई सम्मान गरिएको थियो । उक्त समारोहमा हङकङका जेष्ठ बुद्धिजिबी एबं समाजसेवी मानबहादुर नाल्बो, नेपाली आर्टस एण्ड कल्चर सोसाइटीका अध्यक्ष नन्द चंसु, समाजसेवी एवं तेह्रथुम मञ्चको सल्लाहकार पृथ्वि इङनाम, ताप्लेजुङ सिकैचाका पूर्व प्रधानाध्यापक एबं बुद्धिजीवी शेरबहादुर लक्समलाई अतिथिको आशनग्रहण गराइएको थियो ।

“दिगो शान्ति र सच्चा मानवता सबले बुझौ”, “हिमाल पहाड तराई, कोहि छैन पराई”, “पूर्व मेची पश्चिम महाकाली, मातृभूमिका हामी सबै एकै नेपाली” आदि नाराहरु बोकेर हिंडेकाद्वय विश्व साइकल यात्रीहरुले विश्व यात्राका क्रममा अमेरिका, अफ्रिकादेखि एसिया महादेश सम्मका विभिन्न मुलुकहरु हुँदै आजसम्म ११४ वटा राष्ट्र पुगिसकेका छन् । २०१७ सम्मै सबै राष्ट्र पुगिसक्ने लक्ष्य लिएको उनीहरुले सुनाए ।

साढे १० बर्ष अघिदेखि निरन्तर विश्व भ्रमणमा हिंडिरहेका साइकलबाजहरु कार्की र खनालले कुनै व्यक्तिगत महत्वकांक्षा, स्वार्थ बोकेर या लोभले नहिँडेको बताए ।
हङकङका साहित्यकार, समाजसेवी, महिलाहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष एव कवि चन्द्र मादेन “आन्छन्”ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया