आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

बिश्वभरि छरिएर रहेका नेपालीहरुलाई सूर्योदयको देश जापानबाट सूचनाको सेवा प्रदान गरेर सूचनाको हक र अधिकारप्रति सचेत गराउने उद्देश्यले घरदेश र परदेशलाई जोड्ने पुलकारुपमा सुरु गरिएको समुद्रपारिको यात्रा आजकै दिनदेखि नवौं वर्षमा प्रवेश गरेको छ । Sp Banner

समयको परिवर्तन र मागअनुसार सूचना र प्रविधिको बिकासले ल्याएको समाचार संप्रेषणको सशक्त माध्यम विद्युतीय पत्रकारिताको लोकप्रियता दिनानुदिन बढ्दो छ । आदरणीय पाठकहरुको सूचनाको खुलदुली मेटाउँदै अर्थात प्यासको पानी बनेर हाम्रो यात्रा आजको दिनसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु र चुनौतीका जंघारहरु तरेका छौं । तिनै चुनौतीका अग्ला अग्ला पहाड र बिषम परिस्थितिहरुले हामीलाई अझ बलियो, परिपक्व र परिष्कृत बनाउन मद्दत गरेका छन् भने अगाडिका यात्रा तय गर्न ऊर्जा मिलेको छ । यात्रामा तेर्सिएका काँडेबारले हामीलाई कहिल्यै छेकेनन्, प्रवाससम्म फैलिएका निरंकुशताका नंग्राबाट हामी कहिल्यै डगमगाएनौं, विचलित भएनौं, निरन्तर अगाडि बढिरह्यौं, अविछिन्नरुपले सूचनाको सेवामा समर्पित बनिरहयौं, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा डटेर लागिपर्‍यौं । यहाँहरुकै न्यानो माया, साथ र समर्थनकै कारण यो सबै संभव भएको हो । नत्र पानीबिनाको माछा कति दिन टिक्न सक्छ र ?

 

एक्काइसौ सताब्दीको पहिलो दशकको महत्वपूर्ण उपहार सूचना प्रबाहको नवीनतम प्रयोगकारुपमा उदाएको विद्युतीय सूचनाले आम सञ्चारको क्षेत्रमा सांच्चिकै कायापलट नै गरेको छ । सत्य, तथ्य र शिघ्र सूचना प्रवाहको अत्यन्त भरपर्दो माध्यम बन्न सफल वेभपत्रकारिताको बिश्वब्यापीकरणलाई पछ्याउँदै हामीले पनि सन् २००६ को जुन ४ आजकै दिनदेखि समुद्रपारि डट कम बिधिवतरुपमा सञ्चालनमा ल्याएका हौं । नेपाल पत्रकार महासंघका तत्कालिन सभापती बिष्णु निष्ठुरीले टोकियोमा आयोजित एक गरिमामय समारोहकाबिच समुद्रपारि डट कमको उदघाटन गर्नुभएको थियो । त्यसबेलादेखि नेपालका अगुवा पत्रकारहरु पनि सम्मानजनक ढंगले प्रवासका पत्रकारहरुद्वारा आमन्त्रित हुने प्रचलन हामीबाटै सुरु भएको सर्बबिदितै छ । जापानको टोकियोलाई आधारकेन्द्र मानी सुरु भएको समुद्रपारिले मुलतः नेपाल र जापानको समाचारलाई प्राथमिकतामा राखेर संसारभर सञ्चार गर्न सुरु गरेको हो ।


त्यसयता हामी निरन्तर अक्षरहरुसंग खेल्दै देशका लागि मरिहत्ते गर्ने बिश्वभर छरिएका नेपालीहरुसंग एकाकार र हातेमालो गर्दै आईरहेका छौं । उनीहरुसंग भावनाको एउटै डोरीमा गाँसिएका छौं । यसअर्थमा समुद्रपारि तपाईहामी सबैको साझा मञ्च हो, स्रष्टाहरुको चौतारी हो र कलमबीरहरुको शितल छहारी पनि । ‘बिश्वभरि क्षणभरमै सूचना र सञ्चारका लागि समुद्रपारि’ भन्ने नारासहित केवल समाचारको घेरामा मात्र सीमित नरही विचार, साहित्य, मनोरञ्जन, खेलकूद र समसामयिक सामाग्री पस्कदैं आएको समुद्रपारिको स्थापनाकालको संस्थापन टिमलाई आजको यो पुनित अवसरमा स्मरण गर्न चाहान्छौ र हार्दिक आभार ब्यक्त गर्दछौं । उहाँहरुको देन समुद्रपारिको इतिहासमा सम्मानित पात्रकारुपमा सुनौला अक्षरले कुदिएका छन्, ।

किन समुद्रपारि ?
सन् १९९९ को फेब्रुअरीदेखि जापानभूमिमा नेपाली अक्षरमा लेखिएको १ पाने पत्रिका सुरु भयो ‘नेपाल समाचार’ । सुरुका दिनमा पाठक ग्राहकहरुलाई फ़्याक्समार्फत पठाईने गरिएको सो पत्रिकाको बिस्तारै माग बढ्न थाल्यो । पत्रपत्रिका, इन्टरनेट र कम्प्युटरको पहुँचबाट धेरै टाढा रहेको तत्कालिन नेपाली समाजका लागि उक्त पत्रिका सञ्जिवनी सरह नै बन्न पुग्यो । जापानभरि रहेका नेपालीहरुलाई छोटा, मीठा र तात्कालिक घटना र विवेचनारुपी सामाग्रीहरुको संगालोकोरुपमा साप्ताहिकरुपमा प्रकाशित हुँदै आएको उक्त पत्रिका लोकप्रिय हुँदै गयो । लगत्तै सन् २००० देखि उक्त साप्ताहिक पत्रिकाको सहप्रकाशनकारुपमा अर्को एउटा त्रैमासिक म्यागजिन समुद्रपारिको प्रकाशन सुरु भयो । करिव तीन महिनाको अन्तरमा पर्ने अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, गृष्मको लामो गर्मी विदा र दशैं गरी वर्षमा ४ अंक प्रकाशित हुँदै आएको समुद्रपारि जापानभित्र मात्र नभएर संसारभरि बितरण हुँदै आईरहेको थियो । प्रवासी डाईजेष्टकारुपमा प्रकाशित हुँदै आएको समुद्रपारिको पनि संसारभरि लोकप्रियता र माग बढ्दै गएपछि सन् २००३ देखि मासिकरुपमा प्रकाशन हुन थाल्यो । उता साप्ताहिक पत्रिका नेपाल समाचार नियमित प्रकाशित भईरहेकै थियो । कालान्तरमा समुद्रपारि टिमका सदस्यहरु जापान छोडेर नेपाल लगायत विभिन्न मुलुकहरुमा छरिएपछि अलग अलग भूगोलमा रहेर पनि संगै काम गर्न सकिने अवधारणा अनुसार समुद्रपारिको लोकप्रियता र गरिमालाई कायमै राख्दै निरन्तरता प्रदान गर्ने उद्देश्यले साबिकै नामबाट वेभपत्रिका समुद्रपारि डट कमको सुरुवात गरिएको हो ।

सूचना र प्रविधिमा अभ्यस्त नभईसकेको तत्कालिन हाम्रो नेपाली समाजलाई प्रवासका बस्तीबाट वेभपत्रिका मार्फत सञ्चारक्रान्ति सुरु गरेर हामीले इन्टरनेट र कम्प्युटर साक्षरतातर्फ प्रेरित मात्र गरेनौ, भाषा, साहित्य, कला सँस्कृतिका विविध पक्षलाई संगसंगै जोडेर देशप्रेमका भाव र मुलुकप्रतिको जिम्मेवारी बोधतर्फ सजग र सतर्क बनाउनेतर्फ पनि उत्तिकै ध्यान दियौं । राजाको शाही शासनका बेला देश पुरै सञ्चारबिच्छेद हुँदा सूचनाको क्षेत्रमा सकेको भरथेग गर्‍यौं । अमेरिकाबाट सञ्चालित नेपाली पोष्ट र देशभित्रबाट परेवा डट कमले अगुवाई गरिरहेको तत्कालिन वेभपत्रकारिताको अभ्यासको मुलधारमा लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखी हामी पनि संगसंगै हातेमालोमा गाँसियौं । जसका कारण देशको तत्कालिन असहज राजनैतिक परिस्थितिमा पनि हाम्रा कलमहरु रत्तिभर विचलित भएनन्, कुनै दिन र कुनै क्षण रोकिएनन् र हाम्रा कलमहरु कसैको भजनकिर्तन र कसैको अन्धाधुन्ध आग्रह-पूर्वाग्रहमा बहकिएनन् । किन कि हाम्रा सबैभन्दा महत्वपूर्ण प्रेरणाका स्रोत भनेका हाम्रै पाठकहरु हुन् । उनीहरुका सुझाव, सल्लाह र सहयोगबाट हाम्रा कमीकजोरीहरु पत्ता लगाई क्रमिक सुधार गर्दै जाने प्रक्रिया जारी नै छ । फेरि पनि पाठकहरुकै सुझावअनुसार नै अगाडिको यात्रा तय गरिने छ । आजको यो अवसरमा हाम्रा सबै पाठक, सहयोगी, बिज्ञापनदाता र लेखकवर्गमा समुद्रपारि डट कम हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छ । लामो यात्राको अनुभवबाट सिकेका पाठलाई पाठकहरुकै लागि पठनीय र मननीय तुल्याउन खर्च गरिने छ ।

अबको दशक झन थप चुनौतीपूर्ण बनेर हाम्रोसामु ठिंग उभिएको छ । आजको दुनियाका सचेत पाठकको अपेक्षालाई पुरा गर्न नसके दशकौं लगाएर निर्माण गरेको छबि क्षणभरमै धराशयी हुने कुरामा  पनि हामी अत्यन्तै सचेत छौं । पाठकका रुची पहिलो प्राथमिकतामा राखेर हाम्रो कार्ययोजना तय हुनेछन्, आज हामी जे छौं पाठककै कारण छौं र भोलि जे हुने छौं त्यो पनि पाठककै कारण हुने छौं । तसर्थ परिबर्तनशील समय र पाठकका चाहनाअनुसार हाम्रो स्तरोन्नतीलाई बढाउँदै जाने प्रतिबद्धताकासाथ मेचीदेखि कालीसम्म र होक्काइडोदेखि क्यूश्युसम्म मात्र नभएर समुद्रवारिदेखि समुद्रपारिसम्मका हाम्रा श्रद्धेय पाठकहरुलाई हार्दिक मंगलमय शुभकामना टक्याउन चाहान्छौं । ***

(ग्लोबल नेपाली मिडिया सोसाईटी टोकियो जापान टिमद्वारा सुरुवात गरिएको समुद्रपारि  डट कम टिम बिस्तार भई हाल जिएमटी ईन्टर्नेशनल कम्पनी लिमिटेडद्वारा  संचालित छ ।) 


सन २००६ जुन ४ तारिखका दिन  टोकियोको इकेगामी खाईकानमा भएको समुद्रपारि डट कमको समुदघाटन  समारोहका झलकहरु : 
Banner 912345679101112131415161718192021222324IMG_3135IMG_3150IMG_3151IMG_3153IMG_3155IMG_3156IMG_3161IMG_3166IMG_3169IMG_3170IMG_3171IMG_3177IMG_3179IMG_3202IMG_3216IMG_3240IMG_3243IMG_3254IMG_3255IMG_3265IMG_3272IMG_3286IMG_3319IMG_3320IMG_3336IMG_3347IMG_3377IMG_3381IMG_3382IMG_3384IMG_3385IMG_3386IMG_3388IMG_3389IMG_3393

 

तपाईको प्रतिक्रिया