बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024
टोकियो –  आज बुधबार बिहानैदेखि आएको शक्तिशाली सामुद्रिक आँधीका कारण राजधानी टोकियोको दक्षिणी भागमा पर्ने इजु ओशिमा द्विपमा १४ को ज्यान गएको र ५१ जनाभन्दा बढि बेपत्ता भएको एनएचके टेलिभिजनले जनाएको छ ।
आँधीका कारण आएको बाढी तथा पहिरोको कारण जनधन्को क्षति भएको हो । गत २४ घण्टामा त्यहाँ ८०० मिलिलिटर पानी परेकोले सामुद्रिक आँधीसंगै आएको बाढिले त्यहाँ दर्जनौ घरहरु पनि बगाएको छ भने २० हजार भन्दा बढि मानिसहरु बिस्थापित भएको एनएचकेले जनाएको छ ।
आज बिहानै देखि परेको अविरल बर्षा र आँधीका कारण राजधानी टोकियोका आंशिक रेलसेवा मात्र सुचारु छन् । जसले गर्दा दैनिक रेलमार्गको प्रयोग गरेर कार्यालय तथा ब्यवसायमा जाने करिब ३ करोड जापानी जनता प्रभावित भएका छन् । यद्यपि राजधानी टोकियोमा अहिलेसम्म कुनै ठूलो क्षती भने भएको छैन ।
आँधीका कारण हानेदा र नारिता बिमानस्थलका थुप्रै आन्तरिक तथा बाह्य उडान रद्द भएका छन् । हजारौं स्कुल, कलेजहरु बन्द छन ।
१० बर्ष यताकै शक्तिशाली मानिएको आजको आँधीबाट फुकुसिमा प्लान्ट  पनि प्रभावित हुन सक्ने सम्भावित खतराबाट बच्न उच्च सतर्कता अपनाईएको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।
यसैबिच आँधीका कारण हुन सक्ने सम्भावित क्षति र जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन जापान सरकारले आफ्ना नागरिकहरुलाई यसअघि नै सचेत गराईसकेको छ ।
आँधीका कारण जापानमा रहेका नेपालीहरुको जनजीवन पनि प्रत्यक्ष प्रभावित बन्न पुगेको छ । रोजगारीका लागि आ-आफ्ना कम्पनीमा जानुपर्नेहरु नियमित रेलसेवा नचल्दा समयमा पुग्न सकेका छैनन् भने कतिपय बिच बाटोमै अलपत्र परेका छन् ।
दिनभर ग्राहकको पखाईमा बस्नुपर्ने ब्यवसायीहरु खराब मौसमका कारण निराश देखिन्छन् । पछिल्लो समयमा त्यसै पनि आफ्नो ब्यवसायमा मन्दी आएको बताउँदै आएका रेष्टुरेन्ट ब्यवसायीहरु दैनिक जनजीवन नै प्रभावित हुने यसप्रकारको खराब मौसमले निकै ठूलो असर गर्ने बागलुङ रिघाका निर्मल श्रीषले बताए ।
taifu-ko-karan
भरखर दसैं मनाएर आ-आफ्नो कामधन्दामा लागेका नेपालीहरुको हिजोदेखिको अविरल बर्षा र लगत्तैको आँधीबाट दैनिक जीवन प्रभावित बन्न पुगेको हो ।
‘बिहानै कामका लागि कोठाबाट निस्केको ९ बजे ओमिया पुग्नुपर्ने, समयमा ट्रेन नआएकोले अझै निप्पोरीमा छु, ट्रेन आईहाले पनि ज्यादै कम मात्र आउँछ तर भरिएर आउँछ, आज काममा पुग्न गाह्रो छ’ – म्याग्दी फलियागाउँकी रिना छन्त्यालले भनिन् ।
सार्बजनिक यातायातका साधन नियमित सुचारु नहुँदा रिना जस्तै थुप्रै यात्रुहरु बिच बिचमा अलपत्र अवस्थामा छन् भने थोरै मात्र ढिलो गरी गन्तब्यमा पुग्ने गरेका छन् ।
मौसम बिभागका अनुसार आज अपरान्ह ४ बजेसम्म सबै ठाउँमा एकैनासको असर नपरे पनि कुनै स्थानहरुमा शक्तिशाली आँधीको असर पर्ने बताईएको छ ।    ***
तपाईको प्रतिक्रिया