Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानले १२ कक्षाको बोर्ड परीक्षा दिएका विद्यार्थीहरुलाई शनिबार एक समारोहका बीच बिदाई गरेको छ ।

सो अवसरमा कक्षा १२ र कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि युनिभर्सिटी काउन्सेलिङ सेसन पनि गरिएको थियो ।

चिबा प्रिफेक्चरको माकुहारीस्थित आपा होटल एण्ड रिसोर्टमा काउन्सेलिङ सेसन सहितको बिदाई कार्यक्रम गरिएको हो ।

सो अवसरमा क्राउन इन्ष्टिच्युट अफ हायर एजुकेशन अष्ट्रेलियाका बोर्ड अध्यक्ष प्रोफेसर जोन ग्रे, कार्यकारी प्रमुख डा. नारायण तिवारी र निर्देशक दिपक खड्काले काउन्सेलिङ गरेका थिए । उनीहरुले उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया उपयुक्त गन्तब्य हुन सक्ने बिषयमा जोड दिएका थिए । यसैगरी युनिभर्सिटी अफ टोकियोका एसिष्टेन्ट प्रोफेसर दिपेश खरेलले उच्चशिक्षा अध्ययनका लागि जापानमा उपलब्ध अवसर र सुबिधाका बारेमा प्रकाश पार्दै ग्य्रायजुयशन पश्चात यहाँ उपलब्ध रोजगारीका अवसरहरुका बारेमा आफ्नो प्रस्तुतीहरु मार्फत जानकारी गराएका थिए ।

यसैगरी एम एण्ड ए कम्पनीका अध्यक्ष सरोज बुढा मगरले उच्चशिक्षा अध्ययनका लागि अमेरिका नयाँ पुस्ताको रोजाई बन्दै गईरहेको धारणा ब्यक्त गर्दै अमेरिकामा उच्चशिक्षा अध्ययन गर्न जान चाहनेहरुका लागि आफ्नो कम्पनीले सहजीकरण सेवा प्रवाह गर्दै आईरहेको विचार ब्यक्त गरे ।

समारोहमा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले मुलुकबाहिरको एकमात्र नेपाली इन्टरनेशनल स्कुल एभरेष्टले हुर्कदो नेपाली पुस्तालाई केवल नेपाली पाठ्यक्रमअनुसार औपचारिक शिक्षा मात्रै नभएर नेपाली भाषा, साहित्य र कला सँस्कृति पनि हस्तान्तरण गर्दै आईरहेको विचार ब्यक्त गरे । समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष भवन भट्टको भर्च्युअल सम्बोधन रहेको थियो भने प्रिन्सिपल बिष्णु भट्टको स्वागत मन्तब्य रहेको थियो । समारोहको सन्चालन भने विद्यालयका शिक्षक सुरेन्द्र जोशीले गरेका थिए ।

समारोहमा १२ कक्षाका विद्यार्थीहरुलाई प्रमाणपत्र र मायाको चिनो उपहार दिएर विदाई गरिएको थियो । समारोहमा विद्यार्थीहरुले गीत तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

स्मरण रहोस्, एभरेष्ट इन्टरनेनशल स्कुल जापानबाट यसपटक दोस्रो ब्याचमा ३२ जनाले १२ कक्षाको बोर्ड परीक्षामा सरिक भएका हुन् भने हाल कक्षा ११ मा ३८ जना विद्यार्थीहरु अध्ययनरत छन् । ***

 

तपाईको प्रतिक्रिया