Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको आयोजनामा आईतबार टोकियोमा बिचारगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठान केन्दका संरक्षक, पूर्व अध्यक्ष समेत रहेका प्राज्ञ तथा वरिष्ठ लोकगायक दुर्गा रायमाझीको विशेष उपस्थितिमा उक्त विचारगोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
‘नेपाली लोक तथा दोहोरीगीत-संगीतको प्रबर्द्धनमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयक विचार गोष्ठीको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले उदघाटन गरेका थिए ।

बिचारगोष्ठीका प्रमुख प्रस्तोता रायमाझीले लोक तथा दोहोरीगीत-संगीतको क्षेत्रमा भईरहेको बिकासक्रम, यसले पाईरहेको महत्व र गर्नुपर्ने सुधारहरुका बारेमा प्रकाश पार्दै प्रवासबाट खेल्न सकिने भूमिका तथा अपेक्षाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए ।

रायमाझीले नेपाली लोक संगीतको बिकासक्रममा विभिन्न आयाम तथा अवस्था बारे प्रकाश पार्दै यो क्षेत्रलाई ब्यवस्थित एवं नियमन गर्न भईरहेका प्रयास र प्रगतिबारे आफ्ना धारणाहरु राखेका थिए ।
आफ्ना सन्दर्भसामग्री प्रस्तुत गर्ने क्रममा रायमाझीले भने – ‘पहिले पहिले रमाउन गाईन्थ्यो, अहिले कमाउन गाईन्छ, डिजिटल प्रविधिले गर्दा गीत-संगीतको क्षेत्रमा खुल्ला बजार, अस्वस्थ्य प्रतिस्पर्धा, चर्चाको मोह जस्ता कारणले विकृति, विसंगति बढेका छन्, तिनलाई अपेक्षा गरिएअनुरुप नियमन गर्न त सकिएको छैन, तर ब्यवस्थित गर्ने प्रयास भने जारी छ, प्रवासबाट पनि सकारात्मक पहलको अपेक्षा गरिएको छ’ – उनले भने ।

बिचारगोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत डा. सुबेदीले नेपाली कला, सँस्कृति, गीत-संगीतका साथसाथै हामीले नेपाली भाषा, साहित्य र भेषभूषाको पनि संरक्षण र संबर्द्धन गर्नुपर्ने उत्तिकै दायित्व छ भने यसलाई हुर्कदो नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बारे हामी सबैले सोच्नुपर्ने बेला आएको बताए । राजदूत डा. सुबेदीले विश्वब्यापीरुपमा फैलदों नेपाली समाजलाई नेपाली भएर बस्न र नेपालीपन जोगाएर राख्न हाम्रा मौलिक गीत-संगीतले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आईरहेको बताउँदै यसको यथोचित संबर्द्धन र उन्नयनका लागि सहकार्य गरेर अगाडि बढ्न दूतावास सँधै तयार रहेको धारणा ब्यक्त गरे ।

यसैगरी विचारगोष्ठीमा आफ्ना धारणा राख्दै प्रतिष्ठान जापान शाखाका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्लले लोक तथा दोहोरीको क्षेत्रमा विद्यमान विकृति तथा विसंगतिलाई न्यूनीकरण गर्दै यसको महत्व र उपादेयतालाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनुपर्ने धारणा ब्यक्त गरे । यो क्षेत्रले पाईरहेको लोकप्रियता र हासिल गरेको उचाईलाई प्रवासका नेपालीहरुले नजिकबाट नियालिरहेकोले अब यसलाई ब्यवस्थित गर्दै संबर्द्धन गर्न प्रवासबाट खेल्न सकिने भूमिकाका बारेमा उनले बुँदागत लिखित सुझाव राखेका थिए ।

प्रतिष्ठान जापान शाखाकी सल्लाहकार समेत रहेकी नेपाली कला, सँस्कृति, गीत-संगीत तथा नृत्यका बारेमा जानकार-अध्येता युको ओकामोतोले नेपाली गीत-संगीत तथा खासगरी दोहोरीगीत सँस्कृतिलाई जापानी समुदायमा पनि बिस्तार गर्न ठोस कार्यक्रम तथा योजना बनाएर जान सकिने धारणा ब्यक्त गरेकीथिईन् ।

बिचारगोष्ठीमा नेपाली ब्यवसायी संघ (NBA) जापानका अध्यक्ष बिजय थकाली, एनआरएन जापानका उपाध्यक्ष सिध्दार्थ श्रेष्ठ, एनआरएन अभियान्ता संगिता अधिकारी, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका भाइस प्रिन्सिपल राजेन्द्र तामाङ, प्रतिष्ठान जापान शाखाका संस्थापक अध्यक्ष युवराज आचार्य, जापान शाखाका निवर्तमान अध्यक्ष समेत रहेका प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्य खड्का लगायतले प्रस्तुत बिषयमा आ-आफ्नो धारणा राखेका थिए ।

जापान शाखाका अध्यक्ष महेन्द्र न्यौपानेको सभापतित्वमा भएको बिचारगोष्ठीमा प्रवक्ता अमित सापकोटाको स्वागत मन्तब्य रहेको थियो भने पहिलो चरणमा शाखाका सचिव समुन्द्रराज पौडेलको र दोस्रो चरणमा केन्द्रीय सचिव रामकृष्णबम मल्लको सञ्चालन रहेको थियो ।

अन्तमा, सभाध्यक्ष न्यौपानेले प्रतिष्ठानको जापान शाखाले बिषयगत दिग्गज ब्यक्तित्वको विशेष उपस्थितिमा यसखालको सन्देशमुलक एवं रचनात्मक कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै गोष्ठीको समापन गरेका थिए । कार्यक्रममा बक्ताहरुबाट आएका महत्वपूर्ण धारणा तथा सुझावहरुको आधारमा बिचारगोष्ठीको निचोडकारुपमा ९ बूँदे टोकियो घोषणापत्र पनि जारी गरिएको छ ।  घोषणापत्र यसप्रकार रहेको छ ।

तपाईको प्रतिक्रिया