बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024
टोकियो – नेपालीहरुको महान चाड दसैंको अवसर पारेर वरिष्ठ गायकद्वय दीप श्रेष्ठ र ओमविक्रम विष्टको गत आइतवार टोकियोमा साँगीतिक कार्यक्रम लिजेण्ड नाइट सम्पन्न भएको छ । 
 
दसैंका अवसरमा नेपाली साँगीतिक क्षितिजका मुर्धन्य स्रष्टाद्वयको साँगीतिक माहौलकाबिच टोकियोका नेपालीहरु झूमेका थिए ।
 
लिजेण्ड नाइटमा श्रेष्ठले आफ्ना पुराना लोकप्रिय गीतहरु भन्थिन मेरी उनी….., कति कमजोर रहेछ भाग्य……….,  म दूरदेखि आएँ…….., मेरो आँखा………, बितेका कुरा…., हररात सपनीमा…. जस्ता लोकप्रिय गीतहरु सुनाएका थिए । किङ अफ मेलोडिका नामले चिनिने श्रेष्ठका दर्जनौ गीतहरु हिट छन् । २०२० सालदेखि उनका चर्चित गीतहरु रेडियो नेपालबाट र पछि टेलिभिजनहरुबाट बज्दै आएका छन् ।     

यसैगरी अर्का गायक बिष्टले गाह्रो पर्‍यो…, आउ आउ…., म थकित…, फुटेको भाग्य जोड्ने…, ओ मारिया…, सोल्टीनीलाई… जस्ता लोकप्रिय पपगीत गाएका थिए । गायक बिष्ट किङ अफ पपका नामले चिनिन्छन् । 

सिन्जुकुको युनिभर्सल सिटीमा भएको उक्त कार्यक्रम पूर्ण कोनी, मनोज घले र अमृत गुरुङद्वारा आयोजना गरिएको थियो । कार्यक्रमको प्रारम्भमा गायकद्वयलाई स्वागत गरिएको थियो । उनीहरुलाई गायक अमर गुरुङ, सैलेश गुरुङ, गोपी सारु मगरलगायतका जापानमै रहेका कलाकारहरुले साथ दिएका थिए भने अर्का गायक रामकृष्णबम मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।     
 
जापानका बिभिन्न सहरमा राखिएको साँगीतिक कार्यक्रमका लागि केही हप्ता अगाडि जापान आएका गायकद्वय हिजै स्वदेश फिर्ता भएका छन् ।   *** 
तपाईको प्रतिक्रिया