मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो-सगरमाथा आरोहणको ६० वर्षपुगेको उपलक्ष्यमा नेपाली दूतावास जापानको आयोजनामा टोकियो टावरमा आयोजना गरिएको दुई दिने “सगरमाथा हिरक महोत्सव” सुरु भएको छ । नेपालका पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, ८० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी पाका आरोहीका कीर्तिमान बनाउन सफल यूईचिरो मिउरा र पूर्व प्रधानमन्त्रीकी श्रीमती हासिमोतो कुमिकोले सामुहिक रुपमा पानसमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवमा विभिन्न पेशा तथा व्यवसाय गरी जापानमा वसोवास गरिरहेका नेपालीहरु तथा जापानीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाली दूतावास जापानका राजदूत डा. मदनकुमार भट्टराईले महोत्सवको बारेमा जानकारी गराउनुका साथै उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । 
मन्तव्यको क्रममा पूर्व प्रधानमन्त्रीका छोरा तथा वर्तमान सांसद हासीमोतो गाकु (यामा) ले नेपाल र सगरमाथा अनि आफ्नो नामको प्रसंगमा आफू आमाको कोखमा हुने बेलामा वावा सगरमाथाको आरोहरणमा जानुभएको र सोही अनुसार आफ्नो नाम हासीमोतो गाकु (हिमाल) रहेको जानकारी पनि गराउनुभयो । बोल्ने क्रममा उहाँले जापानमा उमी नो हि (समुद्रको दिन) भए झै आगामी दिनमा यामा नो हि (हिमालयको हि) भनेर त्यस्तो विशेष दिनको घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । जापानमा उमीको हि (समुद्रको दिन) मा सार्वजनिक विदा दिइन्छ ।
त्यसैगरी अर्का वक्ता नेपालका लागि जापानी राजदूत ताकाहासी कुनीले टोकियो टावरमा गरिएको सगरमाथा हिरक महोत्सव अनि हालै ८० वर्षको उमेरमा यूईचिरो मिउराले गरेको सफल सगरमाथाको आरोहणले दुई देशको सम्बन्धलाई अझ गाढा र प्रगाढ बनाउँदै लैजानेछ भन्नुभयो । त्यसैगरी उहाँले यो वर्ष तीनवटा कुराहरुको संयोग एकैचोटी जुरेको कुराको पनि चर्चा गर्नुभयो । पहिलो कुरा सगरमाथाको चुचुरोमा मानवीय पाइला टेकिएको ६० वर्ष पुगेको, दोस्रोमा जापानको प्रख्यात हिमाल “माउन्ट फूजी” विश्व सम्पदा सूचिमा दर्ता हुन सक्नु र तेस्रो कुरामा ८० वर्षीय यूईचिरो मिउराले सगरमाथाको सफल आरोहण गर्नु एउटा सुनौलो संयोग हो भन्नुभयो ।
त्यसैगरी मन्तव्यको क्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ्गले सगरमाथा हिरक महोत्सवमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुहुँदै २५ हजारको हाराहारीमा रहेको जापानमा नेपालीहरुको संख्या दिनदिनै बढ्दै जानुमा जापानी नागरिकहरुको न्यानो मायाले हो भन्नुभयो ।
त्यसैगरी भर्खरै सगरमाथाको सफल आरोहण गरी फर्किनुभएका यूईचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी नयाँ पाका आरोहीको कीर्तिमान सहित फर्किन सफल भएकोमा खुशी व्यक्त गर्दै सगरमाथा आरोहणको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्नुभयो । आफूले ८० वर्ष ७ महिनाको उमेरमा सगरमाथाको आरोहण गरी  प्राप्त गरेको कीर्तिमानलाई तोड्नको लागि सगरमाथा आरोहणमा जानुभएका नेपालका आरोही मिनवहादुर शेरचनले मौसम खरावीको कारणले आरोहण सफल पार्न नसक्नुभएकोमा आफूलाई दुःख लागेको कुरा पनि बताउनुभयो । मिउराले आफ्नो सगरमाथा आरोहणको क्रममा ज्यानको वाजी लगाएर सहयोग गर्ने शेर्पाहरूलाई पनि धन्यवाद दिंदै शेर्पा जाती मानव जातिहरुमा नै सबैभन्दा स्वाच्छ विचार र सहयोगी भावना भएको चर्चा गर्नुभयो । साथै उहाँले स्वच्छ हृदय र सहयोगी भावना भएका नेपालीहरुलाई नजिकबाट वुझ्नको लागि एक पटक नेपालको भ्रमण गर्न पनि उपस्थित जापानीहरुलाई अनुरोध गर्नुभयो ।
अन्तमा महोत्सव उद्घाटन गर्नको लागि नेपालबाट आउनुभएका पर्यटन मन्त्री रामकुमार श्रेष्ठले नयाँ पाका आरोहीको कीर्तिमान राख्न सफल मिउरालाई बधाई दिंदै सगरमाथाको देश नेपाललाई आगामी दिनमा पनि अझै मायाँ गरिदिनुहुन अनुरोध गर्नुभयो । मन्त्री श्रेष्ठले शान्तिका दूत गौतम वुद्धको जन्मथलो लुम्बिनीलाई अन्तरराष्ट्रिय रुपमै शान्त शहरको रुपमा विकास गर्दै लैजाने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो । बोल्ने क्रममा मन्त्री श्रेष्ठले हाल संसारकै साझा समस्याको रुपमा देखिएको जलवायु परिवर्तन समस्याले सगरमाथालाई पनि असर परेको कुरा राख्दै समस्या समाधानको लागि सबैले हातमा हात मिलाएर लागि पर्नुपर्ने कुराको विचार व्यक्त गर्नुभयो । जापानको राजधानी टोकियोमा आयोजित सगरमाथा हिरक महोत्सव यति धेरै मानिसहरुको भीडमा मनाउन पाउँदा आफूलाई अति नै खुशी लागेको छ, तपाईहरु एक पटक सगरमाथाको देश, गौतम वुद्ध जन्मेको देश नेपाल भ्रमणको लागि पाल्नुहोस् -उहाँले निमन्त्रणा गर्नुभयो । मन्त्री श्रेष्ठले कार्यक्रमकै बीच मिउरा र जापानी पूर्व प्रधानमन्त्री हासीमोतोकी श्रीमती हासिमोतो कुमिकोलाई नेपालबाट ल्याउनुभएको उपहार पनि हस्तान्तरण गर्नुभयो ।
महोत्सव भोलिसम्म चालु हुनेछ । आफ्नो जापानी साथीलाई लिएर नेपाल चिनाउन टोकियो टावर जाऔं भन्ने नाराका साथ आयोजित उक्त महोत्सवको ३० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

eve1

eve2 eve3 eve4 eve7 eve8

eve6

eve5

eve11 eve12 eve13 eve14 eve15 eve16

 

 

 

 

 

तपाईको प्रतिक्रिया