मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

थकाली सेवा समिति जापानका संरक्षक डा. योगेन तुलाचनको सातौं दिनको पुण्यतिथिको अबसर पारेर स्व. तुलाचनको संम्झनामा आयोजित शोकसभा हिजो आईतबार बिहान ९ बजे टोक्योको हामामाचुच्यो स्थित मन्दिरमा बत्ति बाल्ने कार्य सहित हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरको सभाहलमा सर्वप्रथम स्व.डा. योगेन तुलाचनको नाममा एक मिनेट मौन धारण गरे पश्चात सम्पुर्ण उपस्थिति महानुभावहरुले स्व. तुलाचनको फोटोमा पुष्पगुच्छा चढाउँदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसभा शुरु गरिएको थियो । कार्यक्रममा, जापानका लागि नेपालका राजदुत महामहिम डा.मदनकुमार भट्टराई, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन, नेपाली समाज जापान (नाज) पुर्व अध्यक्ष भुपि गोविन्द श्रेष्ठ, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ सहितका संघसंस्थाका प्रतिनिधिहरु, जापानबासी थकालीहरु र अन्य शुभचिन्तक सहित नेपालीहरुको उपस्थिति रहेको थियो ।

t1

शोकसभा कार्यक्रममा स्व.तुलाचनका परिवार तथा एकल छोरी बेरिना सावामुरा, नेपालबाट दाजुको अत्येष्ठिको लागि आउनु भएका माईली बहिनी र ज्वाई क्रमश सर्जनी शेरचन, राजेन्द्र मान शेरचन, कान्छी बहिनी सबिना शेरचन र अर्का बहिनी रस्मी भट्टचन एवं अमेरिकाबाट आउनु भएकी भान्जी सलीना गौचनको पनि उपस्थिती रहेको थियो ।
सो अवसरमा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुहुँदै महामहिम राजदुतले डा.तुलाचनको स्मरण गर्दै आफ्नो जापान आगमन पश्चात १६ महिना अघिको परिचय पश्चात छोटो समयमा गहिरो संम्बन्ध बढेको र जापानको बारेमा धेरै जान्ने र बुझ्ने अबसर मिलेको कुरा बताउनुभयो ।
सँधै राष्ट्रकै बारेमा चिन्तित हुने स्व.तुलाचनले जापानबाट नेपालीहरुले पुजी मात्र नभई शिक्षा,ज्ञानसीप, अनुशासन तथा जापानी शैलीको ब्यबस्थापनहरु नेपालमा भित्र्याउनुपर्ने कुरामा जोड दिनु भएको कुरा बताउनु भयो । केहि हप्ता अघि मात्र आफ्नै निवासमा सँगै डिनर लिएको स्मरण गराउँदै यस अघि अष्ट्रेलियाको भ्रमणको क्रममा यस दुःखद खबर सुनेकोमा आश्चर्य चकित र अति नै मर्माहित भएको कुरा पनि बताउनु भयो ।
श्रद्धासुमन ब्यक्त गर्नहुनेहरुमा, परिवारजनको तर्फबाट स्व.तुलाचनकी आफ्नै छोरी बेरिना सावामुरा, माईली बहिनी र ज्वाई, कान्छी बहिनी क्रमश सर्जनी शेरचन, राजेन्द्र मान शेरचन, सबिना शेरचनले सम्पुर्ण आफन्तजन तथा नेपाली एवं जापानीहरुको सहयोगले हामीलाई परेको यस अकल्पनिय दुःखद घडिमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताउनु भएको थियो ।
त्यसैगरी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ र नाजका पुर्व अध्यक्ष भुपि गोबिन्द श्रेष्ठले पनि श्रद्धाञ्जलीका दुई शब्द प्रकट गर्नुभएको थियो ।
अन्तमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनले हाम्रा अभिभावक तथा सम्मानित संरक्षक जो एक होनहार समाजसेवी, ईमान्दार, मनका धनी तथा जापानका अग्रणी ब्यक्तित्वको असमायिक निधनले हाम्रो संस्था, थकाली समाज र सिंगो राष्ट्रलाई नै ठूलो क्षति पुगेको भन्नुहुँदै स्व. तुलाचनको सपनाहरू पूरा गर्न आफूहरू सधैव प्रतिबद्ध रहने उल्लेख गर्नुभयो। स्व. तुलाचनको योगदानको कदर तथा स्मरण गर्दै संस्थाले डा. तुलाचनको संम्झनामा उहाँकै जन्म स्थल थाकक्षेत्रमा एक प्याकेज सार्वजनिक घोषणा गरी कार्य थालनी गरिने कुरा बताउनु हुँदै कार्यक्रमको अन्त गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन उपाध्यक्ष अनिल भट्टचनले गर्नु भएको थियो भने थसेस केन्द्रका अध्यक्ष खगेन्द्र भट्टचन, थसेस युकेका अध्यक्ष रेशम शेरचन र सचिब टंक शेरचन, थसेस अनुसन्धान केन्द्रका अध्यक्ष ओमकार गौचन, एड्सरोग नियन्त्रण संघ कास्कीका अध्यक्ष बिश्वमोहन गौचनद्धारा पठाईएका श्रद्धाञ्जलीका २ शब्द पनि पढेर सुनाईएको थियो।***

t22

 

t3

t4

t2

तपाईको प्रतिक्रिया