मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
bhattarai _20130308030206तीन वर्षदेखि आफू प्रेममा परेको र चाँडै विवाह गर्न लागेको खबर दिँदै आएका राजेश हमालले आफ्नी प्रेमिकालाई सार्वजनिक गर्न सकेका  छैनन्। प्रेम भएको सार्वजनिक चर्चा हुनु तर उनकी प्रेमिकालाई भने कसैले फेला पार्न नसक्ने अवस्था सिर्जना भएपछि कतिपयले उनको  नियतमै शंका गर्न थाले। उमेरका कारण कम चलचित्र हात पर्न थालेपछि आफ्नो क्रेज कायम राख्न उनले प्रेम र विवाहको कुरा बाहिर  ल्याएको आरोप लगाउनेहरूको पनि कमी भएन।
साप्ताहिकमै पटक-पटक आफ्नो प्रेम भएको र चाँडै विवाहको खबर सुनाउने दाबा गर्दै आएका हमालले २०६९ सालसम्ममा विवाह गर्ने  बताएका थिए। यो वर्ष सकिन लाग्दा पनि प्रेमिका सार्वजनिक नभएपछि साप्ताहिकलाई पनि उनकी प्रेमिका नै नभएको शंका लाग्न थाल्यो।  हमाललाई पटक-पटक प्रेमिका सार्वजनिक गर्न आग्रह गर्दा उनी भन्थे, ‘म पो सेलिब्रेटी हुँ र बाहिर आउनुपर्ने बाध्यता छ, उनी चाहन्नन्, म  के गरूँ?’ अरूले दिएको समाचारमा सधैं शंका गर्नु भन्ने पत्रकारको बानीअनुसार केही समयदेखि साप्ताहिकले राजेश हमालको प्रेमिका छन्  कि छैनन् भन्ने विषयमा विभिन्न रूपले परीक्षण गर्‍यो। केही प्रश्न पठाएर त्यसको उत्तर लिने प्रयास भयो। हमाल पनि के कम ? अति भएपछि  उनले आफ्नी प्रेमिकालाई प्रकट हुन राजी गराएरै छाडे।
भ्यालेन्टाइन डेको दिनदेखि लगातार प्रयास गरेपछि दरबारमार्गस्थित एउटा रेस्टुराँमा महानायक राजेश हमालकी प्रेमिकासँग अनौपचारिक भे टघाट र कुराकानी भयो। हमालले जसलाई प्रेमिका भनी परिचय गराए, उनी आमपाठकले कल्पना गरेभन्दा फरक थिइन्। ५० पुगेका राजेश  हमालको छेउमा करिब आधा उमेरझैं लाग्ने उनकी प्रेमिका अकस्मात् भेटिँदा अप्ठयारो महसुस गरिरहेकी थिइन्। हँसिलो मुद्राकी राजेश  हमालकी भ्यालेन्टाइन सकेसम्म कम तर चुस्त भाषा प्रयोग गरिरहेकी थिइन्। धेरै प्रश्न सोधेपछि बल्ल उनको बोलीबाट थोरै शब्द चुहिन्थ्यो।  यस्तो लाग्थ्यो, उनी बाध्यताका कारण मात्र बोलिरहेकी छिन्।
 उनको अप्ठयारो महसुस गर्दै सकेसम्म सावधानीका साथ साप्ताहिकले कुरा सुरु गर्‍यो। कुराकानीकै क्रममा उनी भन्दै थिइन्, ‘प्लिज  तस्बिरचाहिँ नखिच्नुहोला।’
तपाईंको नाम ?
मधु भट्टराई
अनुहार त मंगोलको जस्तो देखिन्छ, नाम थर ढाँट्नुभएको हो ?
होइन, ढाँट्ने भए यहाँ किन आउँथें र ?
तैपनि मंगोल अनुहारको केही कारण त होला नि ?
बुवाले अन्तरजातीय विवाह गर्नुभएको हो।
घरमा को-को हुनुहुन्छ ?
आमा र दुई भाइ।
तीन वर्षदेखि राजेशजी तपाईंको चर्चा गरिरहनुभएको छ, तर तपाईं कतै देखिनुहुन्न। यसरी लुक्नुपर्ने कारणचाहिँ के हो ?
हामी उपयुक्त समयको प्रतीक्षामा थियौं। म ग्लामर क्षेत्र बाहिरको मानिस भएकाले अप्ठयारो लागेको हो।
अहिले उपयुक्त समय हो भन्ने लाग्यो ?
अझै लागेको छैन। विवाहपछि नै बोलौं जस्तो लागेको थियो, तर तपाईंहरूले राजेशजीकी प्रेमिका नै छैनन् भन्न थालेपछि बाध्यताकै कारण  बोलेकी हुँ।
पहिलोपल्ट राजेश हमाललाई कहाँ देख्नुभयो ?
मैले हेरेको पहिलो चलचित्र गोपीकृष्ण थियो। त्यसको नायकका रूपमा भेटेकी हुँ।
औपचारिक भेट नि ?
सात वर्षअघि एउटा सामाजिक समारोहमा भेट भएको थियो। त्यो बेला म उहाँकी फ्यान थिएँ।
कल्पनाको राजेश हमाल र यथार्थको राजेशबीच के भिन्नता थियो ?
त्यो बेला सामान्य परिचय मात्र भएको थियो। भेट छोटो थियो। यद्यपि मैले उहाँलाई मेहनती र असल चरित्रको व्यक्तिका रूपमा पाएकी छु र  यस्तै कल्पना पनि गर्थें। भिन्नता धेरै रहेनछ।
पहिलोपल्ट तपाईंले मन पराएको सिग्नल कसरी दिनुभयो ?
म भेट गर्ने बहानाको खोजीमा थिएँ। केही प्रयासपछि भेटघाट भयो। हामीले एक-अर्कालाई चिन्दै गयौं र बिस्तारै एक-अर्कालाई मन पराउँछौं  भन्ने थाहा भयो। म बेलाबेलामा फोन गर्थें उहाँलाई।
पहिलो भेटदेखि अहिलेसम्मको अवस्था सम्झँदा राजेशजीमा के परिवर्तन देख्नुभयो ?
उहाँ परिपक्व र अनुशासित हुनुहुन्छ र मेहनती पनि असाध्यै, तर समयसँगै मानिसको जीवनमा पनि सानातिना परिवर्तन भैरहन्छन्। यसले  गर्दा उहाँको व्यवहारमा, सोचमा सामान्य परिवर्तन आउनु स्वाभाविक हो।
तपाईंको प्रेम कस्तो प्रकारको हो ?
प्रेमका प्रकारका बारेमा मलाई राम्रोसँग थाहा भएन। मेरो विचारमा प्रेम दुई प्रकारको हुन्छ, स्वार्थ र निःस्वार्थ। मेरो प्रेम सफा छ।
प्रेम के हो ?
प्रेमलाई सम्भवतः शब्दका माध्यमले बुझाउन सकिँदैन। प्रेमलाई केही शब्दले बुझाउने प्रयास हुन्छ भने पनि ती शब्दभन्दा प्रेम माथि हुन्छ।
 
प्रेम किन गरिन्छ ?
प्रेम किन गरिन्छ त्यो मलाई थाहा भएन। म पनि किन उहाँलाई प्रेम गर्छु थाहा छैन। यति हो, म उहाँलाई प्रेम नगरी बस्न सक्दिनँ।
प्रेमका निम्ति तपाईंको उमेर परिपक्व छ जस्तो लाग्छ ?
प्रेममा उमेरले खासै महत्व राख्दैन। प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ। प्रेम कहिले हुन्छ भन्ने विषयमा आफैंलाई थाहा हुँदैन। मलाई जब उहाँसँग प्रेम भयो, मेरो उमेर सानै थियो। मेरो यो प्रेम सफल हुनेछ भन्ने मेरो हृदयले मानेको थियो। आज प्रेममा पाँच वर्ष बितेको सम्झँदा खुसी  लाग्छ।
यो प्रेम नै हो भन्नेमा पक्का हुनुहुन्छ ?
 
जुन किसिमको प्रेमका कुरा हामी गरिरहेका छौं, म गर्वका साथ भन्छु- यो मेरो पहिलो प्रेम हो र अन्तिम पनि। मलाई खुसी लाग्छ, हाम्रो प्रेम  सुरुका दिनमा जस्तो ताजा थियो, आज पनि त्यस्तै छ। फरक यति मात्र छ कि हामीमा अझ बढी माया छ। म एकदमै खुसी छु।
प्रेम हुँदाको अनुभूति कस्तो हुँदो रहेछ ?
मायामा परेपछि यस्तै हुँदो रहेछ सायद, सधैं सँगै बस्न मन लाग्ने। कहिल्यै  नछुट्टिऊँ भन्ने लाग्दो रहेछ। त्यसैले नै हामीले विवाह गर्ने निर्णय  गरेका हौ।
राजेश हमालले तपाईंलाई भ्यालेन्टाइन डेमा घुमाउन लानुभयो ?
(हाँसो) उहाँ जहाँ हुनुहुन्छ, त्यहीँ नै मेरो भ्यालेन्टाइन स्पट हो। मेरो विचारमा प्रेमीको साथ छ भने खोला किनारको ढुंगा होस् कि सुन्दर  फूलको बगैंचा…त्यसले प्रेमको सानिध्यमा खासै फरक पर्दैन। बाइ द वे भ्यालेन्टाइन डेको दिन उहाँ नेपालगन्जमा हुनुहुन्थ्यो, म काठमाडौंमा।
तपाईंहरू जोडिनुमा कसको बढी भूमिका छ ?
हामी एकसाथ हुनुमा हामी दुवैबीचको मायाको भूमिका छ। माया छ र त यो सम्बन्ध बलियो छ।
तपाईंहरूको जोडी मिल्छ जस्तो लाग्छ ?
मलाई हामी दुवै जना एक-अर्काका लागि मात्र बनेका हौं जस्तो लाग्छ।
राजेश हमालको विगतका प्रेम प्रसङ्गले तपाईंको प्रेमलाई असर पार्छ नि, होइन ?
उहाँको जिन्दगीको विगतका कथाहरू उहाँलाई प्रिय छन्, तर हामी अहिले विगतभन्दा बढी वर्तमानमै सन्तुष्ट छौं।
उमेरको ग्याप बढी छ भन्ने लाग्दैन ?
हामीबीचको उमेरको ग्यापलाई मायाले जोडिदिएको छ।
राजेश हमालको व्यक्तित्वको वर्णन गर्नुपर्‍यो भने, के भन्नुहुन्छ ?
उहाँ आकर्षक हुनुहुन्छ। म उहाँको बौद्धिकताको सम्मान गर्छु। उहाँमा यस्ता धेरै गुण छन्, जसले गर्दा उहाँ आज यो स्थानमा हुनुहुन्छ। मलाई  खुसी लाग्छ, हाम्रो भेट भयो र उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ। हामीबीच निकटता बढ्यो। हामी चाँडै विवाह गर्ने तयारीमा छौं।
राजेश हमाल माया गर्न जान्ने खेलाडी हो ?
उहाँलाई माया गर्नचाहिँ अलि आउँदैन, मैले सिकाइरहेकी छु। अँ केही सुधार आउँदैछ।
 
परिवारलाई थाहा छ ?
सुरुदेखि नै थाहा छ। म आमालाई जानकारी नदिई जीवनको गम्भीर निर्णय गर्नु हुँदैन भन्ने कुरामा विश्वास राख्छु।
तपाईंको प्रेमसम्बन्धी जानकारी निकै     रमाइलो लाग्यो, कुन लेखकबाट बढी प्रभावित हुनुहुन्छ ?
ब्राजिलियन लेखक पाउलो कोहेलो मन पर्छन्। उनले जीवनका गम्भीर कुरा सरल तर मार्मिक रूपमा प्रस्तुत गर्छन्।
तपाईं समाजशास्त्रको विद्यार्थी, नेपाली समाजका महिलाहरूका सम्बन्धमा राम्रोसँग परिचित हुनुहुन्छ, तपाईर् आफूलाई कुन वर्गको नारीमा  राख्नुहुन्छ ?
मलाई नारीको कुनै वर्ग हुन्छ जस्तो लाग्दैन। सबै नारी समान हुन्छन्। मायालु, संवेदनशील एवं क्षमाशीलको अर्थमा।
राजेशजीलाई तपाईंले मन पराउनु सामान्य नै हो, किनभने उहाँ नेपालको सुपरस्टार हो, तर राजेशजीले तपाईंलाई नै किन मनपराउनुभयो  होला ?
मैले राजेशजीलाई सुपरस्टार भन्दा पनि एक असल व्यक्ति भएकाले मन पराएकी हुँ। यो कुरा र मेरो भावना उहाँले बुझ्नुभएको छ र खुसी  पनि लाग्छ। उहाँले मलाई किन मन पराउनुभयो भन्ने कुराचाहिँ उहाँसगैै सोध्नुपर्छ।
 
तपाईंको विचारमा प्रेम हुनु वा विवाह हुनु पूर्वजन्मको फल हो ?
मैले यस विषयमा सोचेकी छैन।
ईश्वर धर्म वा सांसारिक कुरालाई नेपाली समाजले जसरी मान्छ, तपाईं त्यसैगरी मान्नुहुन्छ कि तपाईंका धारणा फरक छन् ?
म सबै भगवानप्रति आस्था राख्छु। म नेपाली नारी हुँ।
विश्वभरि नै सेलिब्रेटीसँगका वैवाहिक जीवन सधैं धरापमा देखिन्छन्, पक्कै पनि तपाईंलाई पनि डर लाग्दो हो, होइन ?
जुन सम्बन्धमा विश्वास हुँदैन, त्यहाँ डर हुन्छ। डरले गर्दा विभिन्न किसिमका शंका वा अवरोध आउने हो, तर मैले उहाँलाई राम्रोसँग चिनेकी  छु र त्योभन्दा राम्रोसँग मैले आफूलाई चिनेकी छु। त्यसैले कुनै डर छैन।
राजेशजीका लागि तपाईंले दिने सर्वोत्तम उपहार भनेको सन्तान नै हो, यस्तो उपहारका बारेमा तपाईंको धारणा के छ ?
अहिले हामी विवाहका बारेमा सोच्दैछौ, त्यसपछि मात्र सन्तानका विषयमा कुराकानी होला।
तपाईं पहिलो पटक पत्रकारको चंगुलमा पर्नुभयो, पत्रकारका बारेमा तपाईंको धारणा के रह्यो ?
हरेक क्षेत्रमा लागेका व्यक्तिले आफ्नो पेसागत कर्तव्य गर्ने हो। तपाईंले पनि त्यही गर्नुभएको छ जस्तो लाग्छ। पत्रकारसँगको भेट मलाई पनि  रमाइलो लाग्यो।

तपाईको प्रतिक्रिया