आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024

आवधिक निर्वाचनपछि २०७९ पुस १० गते एमालेको साथ सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारको सुरुवाती समय आशाजनक भएपनि पछिल्ला दिन सो अनुरूप भएन । उसो त प्रधानमन्त्री स्वयं सरकारको कामको गतिप्रति सन्तुष्ट हुन सकेका छैनन् । एकीकृत समाजवादीका नेता एवम् सांसद मेटमणि चौधरी सरकार ‘जस्ट’ पास भएको प्रतिक्रिया दिन्छन् । देशको मुहार फेर्नका लागि अब नेपाली राजनीतिबाट पहिलो जेनेरेसनका नेताहरूले विश्राम लिनुपर्ने उनको तर्क छ ? प्रस्तुत छ, सरकार एक बर्से कार्यकाल र मुलुकको भावी राजनीतिक समीकरणका विषयमा नेता चौधरीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

राष्ट्रियसभा निर्वाचन र त्यसअघिको कसरतलाई कसरी लिनुभएको छ । 
अहिलेको शीर्ष राजनीतिक दलहरू सबैले अपराध गरेका छन् । त्यसमा सबैभन्दा ठूलो अपराध शीर्ष दलका शीर्ष नेताहरूले नै गरेका छन् भन्छु म । ती शीर्ष भनिएका नेताहरूले आफूले गरेका कुराहरू जनताले थाहा नपाउन्, सार्वजनिक नै नहोस् भन्ने उनीहरूको मनोविज्ञान छ । त्यसैले विगतमा जस्तो सम्बन्ध भएपनि सबै एक ठाउँमा रहने, एकले अर्काको गल्ती, कमी, कमजोरीलाई ढाकछोप गर्ने, उजागर नगर्ने र आफूलाई फेरि पनि ‘सेभ साइट’मा राख्ने उद्देश्यका साथ सबै मिलेर अघि जान्छन् ।   अहिलेको अवस्था हेर्दा एमाले सके सत्ता राजनीतिको समीकरणमा आउने नसके नजिकनजिक रहेर आफ्नो पार्टीलाई जोगाउँदै मुलुकको राजनीतिलाई गोलचक्करमा फसाउने खेल ओलीको हो । यसमा प्रधानमन्त्री प्रचण्डको रणनीति के हो थाहा छैन, तर मलाई के लाग्छ भने, प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता मच्चाइरहने पात्र हुन् । राजनीतिक स्थायित्वभन्दा पनि अस्थिरता मच्चाउने र त्यही अस्थिरतामा खेलेर आफू केन्द्रमा रहने उनको दाउ जहिले पनि हुन्छ । उनी सबैलाई ‘इमोसनल ब्ल्याकमेल’ गरेर अरूलाई खुम्च्याउने र आफू गोल गर्न अघि सर्ने मनोवृत्ति भएका व्यक्ति हुन् ।

राष्ट्रियसभा त बुढा नेताहरूलाई थन्काउनका लागि मात्रै हो कि ? भन्ने जस्तै भयो नि !
अहिलेको अवस्थामा त त्यही देखिएको छ । तपाईँ हामीले यस विषयमा कुरा उठाउने हो भने अहिलेसम्म भएको पार्टीको जिम्मेवारी पनि खोसिएला भन्ने डर । अब नबोल्ने हो भने यिनीहरूले केही गर्न सकिरहेका छैनन् । त्यसैले सबै राजनीतिक दलभित्रका युवाहरू छौं हामी, हामीले अब हिम्मत गर्नुपर्छ । अहिलेको अवस्थामा बुढाहरूलाई कसैले नपत्याउने अनि हामीले पनि हिम्मत नगर्ने हो भने अर्को नामको राजनीतिक शक्ति अगाडि आउँछ । तर त्यो शक्ति पनि टिक्नेवाला त छैन । त्यसैले अब नेपाली राजनीतिबाट पहिलो जेनेरेसनका नेताहरूले विश्राम लिनुपर्छ । उहाँहरूले अहिलेसम्म धेरै गर्नु भएको छ, बहुदल, गणतन्त्र ल्याउनु भयो यसको लागि सम्मान व्यक्त गर्दै उहाँहरूबाट पुस्ता हस्तान्तरण गर्ने बेला आइसकेको छ । उहाँहरू नै नेतृत्वमा रही रहने हो भने देश बन्दै बन्दैन ।तर तत्काल पुस्ता हस्तान्तरण सम्भव छ ? पार्टीभित्र आवाज उठेपनि त्यो आवाज चेपुवामा पर्दै आएको देखिन्छ ।
पछिल्ला केही वर्षदेखि मेरो दिमागमा के कुरा खेलिरहेको छ भने, अहिलेसम्म नेपाल किन बिग्रियो भन्दा हामीले सधैं सम्झौताको राजनीति ग-र्याैं । २००७ सालमा क्रान्ति गरेर राणालाई बिदाइ ग-र्याैं भन्यौं, राणा हटाएर हामीले त्रिभुवनलाई स्थापित ग-र्याैं, २०४६ सालमा फेरि बहुदलीय व्यवस्था ल्यायौं र फेरि राजासहितको संविधान बनायौं । २०६२/०६३ को आन्दोलनपछि गणतन्त्र ल्यायौं । गणतन्त्र आउँदा पनि हामीले पूर्ण गणतन्त्र नभएर संसदीय व्यवस्थासहितको गणतन्त्र ल्यायौं । त्यसैले सधैंभरि जित्यौं भनेर नाम परिवर्तन भयो तर हामीले कहिल्यै जित्न सकेनौं । त्यसैले जहिलेसम्म सम्झौताको राजनीति चल्छ, त्यतिबेलासम्म नेपालको उन्नति हुन सक्दैन । जस्तै चीनमा एउटा व्यवस्थालाई बिदाइ गरे अनि अर्को व्यवस्था आयो, अहिले चीनमा कम्युनिस्ट पार्टीको शासन अगाडि बढी रहेको छ । भारतमा ब्रिटिसहरूलाई भगाएर भारतकै शासकहरू आए । तर नेपालमा यस्तो कहिल्यै हुन सकेन । त्यसैले सम्झौताको राजनीति भन्ने कुरा नै बेठीक रहेछ । कम्तीमा तपाईँ र मबीचमा वार (लडाइँ) भइसकेपछि मिल्नेभन्दा पनि कि तपाईँले जित्ने कि मैले जित्ने अवस्था आउनुपर्ने थियो । त्यसैले नेपाली राजनीतिमा ‘विन विन’ भन्ने शब्द प्रयोग नै गलत रूपमा भएको छ । राजनीतिमा विन विन भन्ने हुँदैन ।

सत्तारूढ गठबन्धनको आयुमाथि प्रश्न उठिरहेका छन् । गठबन्धनको अवस्था ठिक छ नि अहिले ? 
ओलीले चाहेको जस्तो गठबन्धन भत्किने र अर्को बन्ने सम्भावना छैन । तर के छ भने हामी कोही पनि इमान्दार छैनौं र भएनौं । सधैंभरि दाउपेचको राजनीतिक गर्न खोज्छौं । दाउपेचको राजनीति गर्ने बेला हरेक पटक थप उपलब्धि प्राप्त भइहाल्छ कि भन्ने सोचबाट ग्रस्त छौं । दाउपेचको राजनीति भएको कारणले यस्ता खालका कुराहरू आउँछन् । तर, मलाई के लाग्छ भने यो गठबन्धन पाँच वर्ष नै टिकाउँछौं । यद्यपि यसमा सबै थोक हामीमात्रै पनि होइनौं । सबै थोक प्रचण्ड र कांग्रेस सभापति देउवा हुन् । देउवाले इथिक्सको राजनीति गर्छन् । प्रचण्ड कमरेडमा त्यस्तो केही देखिँदैन ।

सरकारले १ वर्ष पूरा गरेको छ । यो १ वर्षमा सरकार पास की फेल ? 
हामी सबै ‘इस्टन्टवाज’मात्रै छौं । प्रधानमन्त्रीले इस्टन्ट नगरे हुन्थ्यो नि त । जनताको बीचमा जे सत्य कुरा हो त्यही राखे हुन्थ्यो । तर, इस्टन्ट गरेको कारणले सन्तुष्ट हुने ठाउँ छैन । सरकारले पुराना फाइल खोलेको देख्दा त धेरै नम्बर दिऊँ जस्तो पनि लाग्छ । तर ती फाइलहरू निष्कर्षमा पुग्न सकेनन्, ठाउँमा पुग्न नसकेपछि सुरुआत राम्रो भए पनि के नम्बर दिनु र । अहिलेको अवस्थामा सरकारको कामबाट सन्तुष्ट हुने ठाउँ छैन । काण्डका फाइलहरू खोलेअनुसार काम गरेको भए उत्कृष्ट नै हुन्थ्यो । तर, कारबाही गरेको जस्तो देखाउने कामको कुनै अर्थ छैन । सरकारले विभिन्न काण्डमा संलग्नलाई कारबाही गर्ने र संलग्न नभएकाले पुरस्कृत गरेको भए विशिष्ट श्रेणीको नम्बर दिन सकिन्थ्यो । तर यो सरकारले केही पनि गर्न सकेन । फाइल खोतलेर मात्र केही अर्थ हुँदैन । अहिलेको सरकारको समीक्षा गर्दा मुस्किलले पास मार्क दिन सकिन्छ ।तपाईँकै पार्टीबाट गएर मन्त्री भएकाहरूको कामप्रति पनि सन्तुष्ट हुनुहुन्न ?
एउटा व्यक्तिले मात्रै गरेर केही हुनेवाला छैन । प्रधानमन्त्रीले नै ‘कमिटमेन्ट’ गर्नुपर्छ । प्रधानमन्त्रीले नै कमिटमेन्ट नगरेपछि मन्त्रीले मात्रै कमिटमेन्ट गरेर काम हुँदैन । त्यसैले अहिलेको राजनीति भनेको कामचलाउ अवस्थामा रहेको छ । अझ गाउँघरतिर ‘झारा टार्ने’ भनिन्छ नि हो, त्यस्तै भएको छ । यो भनेको जानु त प¥यो तर काम गरे पनि भयो नगरे पनि भयो भने जस्तो । त्यसैले अहिलेको सरकार कामचलाउ र समय गुजार्नका लागि मात्रै भएको छ । त्यसैले अब प्रधानमन्त्री, मन्त्री, नेता र हामी सबैको एउटा कमिटमेन्टको जरुरी छ । अब नेपाली राजनीतिमा स्पष्ट भिजन र मिसन भएको नेता नहुँदासम्म केही हुनेवाला छैन । त्यसैले नेपाली राजनीतिमा नयाँ मान्छेको उदय हुन जरुरी छ ।

नयाँ मान्छे भनेको नयाँ पार्टी भन्न खोज्या ?
‘ब्रिलियन्ट’ मान्छे भनेको । नेपालको हरेक क्षेत्रमा ब्रिलियन्ट (तगडा, जाने बुझेको) मान्छेको खाँचो छ । मुलकमा परिवर्तन ल्याउँछु, सबैलाई रोजगारी दिन्छु भनेर राजनीति गरिएको छ । अनि केही नजान्ने कुरा हुन्छ । त्यसैले अब यति वर्ष जेल बस्यो भन्दैमा नेता मान्ने कुरा हुँदैन । यति ब्रिलियन्ट मान्छे छ, यो मान्छेको ‘आइडिया र आइडोलोजी’ ‘कन्सेप्ट’मा यति हजार मान्छेलाई रोजगारी दिन सकिन्छ, बेरोजगार र गरिबी यसरी सम्बोधन गर्न सकिन्छ, त्यो खालको भिजन भएको व्यक्ति चाहिएको हो । अहिले पनि म देख्छु मेरो पार्टीमा जिम्मेवारी दिनुपर्दा यतिवर्ष जेल बसेको यति सालमा जन्मिएको, केन्द्रीय कमिटीमा बसेको यति वर्ष भएको छ भन्ने आधारमा जिम्मेवारी दिने कुरा छ यो एकदमै गलत कुरा हो । अहिले पनि पार्टीमा सामन्ती सोच र चिन्तन हाबी नै छ । त्यसैले अब २५ वर्षकै किन नहोस् क्षमता छ भने उसलाई जिम्मेवारी दिनुपर्छ । मलाई अहिले पनि भन्छन् हेर्नुस्, म देश चलाउन सक्छु भन्ने ठाउँमा पुगिसकेको छु, अरूभन्दा राम्रो गर्छु भन्नेमा कन्फिडेन्स छ, तर मलाई के भन्छन् भने यसको दाह्रीजुँगा नै आएको छैन भर्खर पोलिटब्युरो बनेको छ, के सक्छ र भन्ने चिन्तन छ ।

भारतीय विदेशमन्त्रीको भ्रमण कर्मकाण्डी भन्ने त होला नि होइन ?
उनी एकदमै बेठीक मान्छे हुन् । उनको मनोविज्ञान नै गलत छ । हेपाहा बेठीक खालका भारतीय विदेश मन्त्री आत्तिएर आएका हुन् । अहिले चीन र नेपालको सम्बन्ध धेरै राम्रो अवस्थामा छ । कतै नेपाली समाजको मनोविज्ञान चीनतर्फ ढल्कने त होइन भन्ने आत्तिएर नेपाल आएका हुन् । अर्को कुरा पछिल्लो समय नेपाली समाज एन्टी भारत मनोविज्ञानबाट अघि बढेको छ, यसलाई पोजेटिभ गराउन सकिन्छ कि भनेर प्रोजेक्टमा खर्च गर्ने सीमा पनि बढाएको छ । पाँच करोडको ठाउँमा २० करोड बनाइएको छ । पैसा यसरी हाल्दिएर नेपाली समाजको मनोविज्ञानलाई पोजेटिभ बनाउन सकिन्छ कि अर्को कुरा चीनप्रतिको पोजेटिभ मनोविज्ञानलाई डाइभर्ट गर्न सकिन्छ कि भनेर नै हो । नत्र उनले चीनका नेताहरू नेपाल आए आएनन्, किन तिमीहरू चीनसँग नजिक भयौं भन्ने जस्ता विषयमा चासो दिँदैनथे ।

अन्त्यमा भारतीय विदेशमन्त्री बसेको होटेलमै पुगेर किन नेपालका पूर्वप्रधानमन्त्री भेटे त ?
यो त सामन्ती पारा भइहाल्यो । अहिले पनि हाम्रा नेताहरूलाई आफूप्रति विश्वास नै छैन । फेरि प्रधानमन्त्री बनाइदिन्छ कि, मन्त्री बनाइदिन्छ कि, सत्तामा फेरि फर्काइदिन्छ कि यसैगरी आफ्ना नजिककालाई छात्रवृत्ति वा जागिरका लागि ग्यारेन्टी गर्छ कि भन्ने चेतनाबाट नेपाली राजनीति र त्यसका नेताहरू माथि उठ्न नसकेर नै यस्तो भएको हो । यो अवस्थालाई हामीले नेताहरूमा गुलामी मनोवृत्ति बाँकी रहेको रूपमा पनि बुझ्न सक्छौं ।

तपाईको प्रतिक्रिया