मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
ramkrishna wid wife nilam shahiदश वर्षअघि गायक रामकृष्ण ढकाल नीलम शाह काम गर्ने कलेजमा पुगेका थिए, भाइको फर्म भर्ने बहानामा। तर, खासमा उनी नीलमसँग ‘चक्कर’ चलाउने सुरमा त्यहाँ गएका थिए। त्यो चक्कर पछि प्रेम र त्यसपछि विवाहमा बदलियो। उनीहरूको प्रेम जीवनलगायत विभिन्न पाटाबारे धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
भ्यालेन्टाइन्स डेको तयारी कस्तो छ?
रामकृष्णः त्यस्तो खास तयारी केही छैन। दिउँसो दुई ठाउँमा प्रोग्राम छ मेरो। साँझतिर सपिङ गर्ने योजना बनाएका छौँ। घुमघाम गर्ने र बाहिर डिनर खाने विचार छ।
भ्यालेन्टाइन्स डेको दिनमा पनि श्रीमान् प्रोग्राममै व्यस्त भइदिँदा खुब रिस उठ्दो हो नि?
नीलमः उठ्दैन। म पनि उहाँसँगै हुन्छु नि त। छोरीलाई पनि साथै लग्छौँ। बाउ-छोरी गीत गाउँछन्। म चाहिँ एउटा कुनामा बसेर सुन्छु, हेर्छु।
रामकृष्णः छोरीले पनि गाइहाल्छिन्, सजिलै छ हामीलाई।
एक-अर्कालाई गिफ्ट दिइन्छ कि नाइँ? 
रामकृष्णः दिन्छौँ। लुगाफाटा र घरमा आवश्य परेका सर-सामग्री नै गिफ्टका रूपमा दिने गरेका छौँ। यसपालि चाहिँ दुईजना सँगै बजार गएर एकअर्कालाई मन परेका जिनिस किन्ने विचार छ।
नीलमः यसरी एकअर्काको च्वाइस बुझेर गिफ्ट दिन लागेको यो पहिलोपटक हो। पहिले-पहिले त सरप्राइज गिफ्ट दिने गर्थ्यौं।
दाइको रोजाइको सबैभन्दा चित्त बुझ्दो गिफ्ट कहिले पाउनुभएको थियो?
नीलमः उहाँले रोजेर दिएका सबै उपहार चित्त बुझ्छन् मलाई। अस्ति भर्खरै युकेबाट ल्याइदिनुभएको ब्याग चाहिँ अहिलेसम्मकै फेभरेट गिफ्ट थियो।
रामकृष्ण (नीलमसँग) : मैले त थुप्रै राम्रा-राम्रा गिफ्ट ल्याइदिएको थिएँ। सबै मन पर्‍यो भन्थेऊ! अहिले त ब्याग मात्रै भन्यौ।
 तपाईंलाई चाहिँ भाउजुले दिएका गिफ्टमध्ये कुन बढी मन परेको छ ?
मेरो यो ह्यान्डसम लुक्स नै उनको देन हो नि। म पहिले-पहिले खाली फर्मल ड्रेसअप गर्थें। उनले मलाई सुहाउँदो क्याजुअल ड्रेस उपहार दिन थालिन्। अनि त म पनि हिरो देखिन थालिहालेँ नि। हाहाहा…। उनको च्वाइस गजबको छ। त्यसैले उनले दिएका सबै उपहार बडिया लाग्छन्।
श्रीमान्लाई क्याजुअल ड्रेसमा असाध्यै ह्यान्डसम देख्नुहुन्छ हो?
नीलमः उहाँलाई सुहाउँछ नि त।
रामकृष्णः अरूले पनि मलाई उनको च्वाइसको ड्रेसमा कम्पिलिमेन्ट दिने गरेका छन्।
पहिलोपटक भेट्न आउँदा कस्तो ड्रेसअपमा हुनुहुन्थ्यो? याद छ?
नीलमः पाइन्ट, सर्ट र ज्याकेट लगाउनुभएको थियो।
नीलमजीसँग कसरी चिनजान भएको थियो?
रामकृष्णः एउटा पत्रिकामा ‘नोबेल एकडेमीमा भर्ना खुल्यो’ भनी विज्ञापन छापिएको थियो। त्यसमा उनको पासपोर्ट साइजको ब्ल्याक एन्ड ह्वाइट फोटो पनि थियो। त्यो फोटोले मलाई मोहनी नै लगायो भनौँ न।
अनि भेट चाहिँ कसरी भयो त?
रामकृष्णः उनी नोबेल एकेडेमीकी रिसेप्सेनिस्ट थिइन्। त्यसैले एकजना भाइलाई भर्ना गर्ने बहाना बनाएर म उनलाई हेर्न गएको थिएँ। मसँग एकजना साथी पनि थिए। त्यहीँ हो पहिलोपटक भेट भएको।
उहाँले पहिलोपल्ट के सोध्नुभएको थियो?
नीलमः भाइको भर्ना गर्नुपर्‍यो, के छ प्रोसेस भनेर सोध्नुभएको थियो। मैले केही कुरा बताएर ब्रोसर दिएकी थिएँ। उहाँसँगै आउनुभएको साथीले चाहिँ ‘नेपाली गीतहरू कत्तिको सुन्नुहुन्छ’ भनी सोध्नुभएको थियो। मैले अलिअलि सुन्छु भनेँ। त्यतिबेला उहाँको ‘यो त सब भन्ने कुरा न हो’ बोलको गीत चर्चित थियो। उहाँको आनीबानी हेर्दा यो गायक राम्रै रहेछ जस्तो लागेको थियो मलाई। अँ साँच्ची, उहाँले जाने बेलामा मेरो फोन नम्बर पनि माग्नुभा’थ्यो। मैले दिएकी थिएँ।
जीवन साथी बनाउन ‘फर्म भर्न गएको’ चाहिँ कहिले पत्तो पाउनुभयो?
नीलम : उहाँले केही दिनपछि फोन गर्नुभयो। त्यसपछि मैले पनि गर्न थालेँ। साथीका रूपमा कुराकानी गर्थ्यौं। मैले त धेरै दिनसम्म पनि पत्तो पाएकी थिइनँ नि।
रामकृष्णः मैले उनलाई बिहेका लागि केटी खोज्दैछु पनि भनेको थिएँ फोनमा। त्यही बेला उनको बर्थडे नजिकिँदै थियो। त्यसकै अवसरमा एकपटक भेटौँ न त भनेँ मैले। र, ठमेलको एक रेस्टुरेन्टमा दोस्रो पटक भेटघाट गर्‍यौँ हामीले।
त्यतिबेलासम्म त तपाईंले सुइँको पनि पाइसक्नु भएको थियो होला नि, यो गायकले मलाई ताक्दै छ भनेर?
नीलमः कहाँ सुइँको पाउनु? मैले त उल्टै उहाँको बिहेका लागि वधू पनि लिएर गएकी थिएँ। मेरो एकजना साथी उहाँको क्रेजी फ्यान थिइन्। उनैलाई साथी लिएर उहाँलाई भेट्न गएकी थिएँ। ऊ मभन्दा चौगुणा बढी खुशी थिई। बेलुका फोन गरेर ‘केटी मन पर्‍यो त?’ भनेर उहाँलाई सोधेकी थिएँ। उहाँ त छक्कै!
रामकृष्णः म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेजस्तै पो भयो मलाई त! मैले पनि ‘बिहे गर्ने भए त तिम्रो साथी किन, तिमीसँगै गर्छु नि’ भन्दिएको थिएँ।
नीलम : मैले चाहिँ त्यसलाई पनि ठट्टै सम्झेकी थिएँ।
बिहेको प्रस्ताव राख्दा चाहिँ कस्तो महसुस गर्नुभयो त?
मैले कहिल्यै सोच्दै सोचेको कुरा भन्दै हुनुहुन्थ्यो उहाँ। त्यसैले तत्कालै केही भनिनँ। पछि उहाँले म तिम्रो बुवासँगै कुरा गर्छु भनेर नम्बर माग्नुभयो। मैले खुरुक्क दिएँ। म पनि उहाँलाई मन पराउँदी रहिछु भनेर त्यतिबेला मात्रै चाल पाएँ। फोन नम्बर दिनु नै मेरो सहमति थियो क्यारे।
हुनेवाला ससुरालाई के भन्नुभयो?
रामकृष्ण : फोन गरेर सिधै म गायक रामकृष्ण ढकाल हुँ। मलाई तपाईंकी छोरी असाध्यै मन पर्‍यो, बिहे गर्छु भनेको थिएँ।
बिहे अघि कतिपटक डेटिङ गइयो?
नीलमः त्यस्तै तीनपटक भेटियो होला।
भेटघाट भएको कतिपछि बिहे गर्नुभयो?
रामकृष्णः असोजतिर भेटेका थियौँ। मंसिर १४ गते त बिहे नै गरियो।
हनिमुन कहाँ मनाइयो त?
पोखरा र अमेरिकामा।
बिहेपछिको फर्स्ट भ्यालेन्टाइन्स डेको सम्झना छ?
नीलमः हामी र्‍याडिसन होटल पछाडिको घरमा बस्थ्यौँ। उहाँले घुम्न जाउँ भनेर र्‍याडिसन होटलमै लग्नुभयो। ‘तिमी खाना खाँदै गर’ भनेर बाहिर निस्कनुभयो। एकछिन पनि आएर ‘ल माथितिर पनि घुमौँ’ भन्नु भयो। माथ्लो तलाको एउटा कोठा बुक्ड गर्नुभएको रहेछ। भित्र छिर्दा त म चकित भएँ नि। कोठा त पूरै बेलुन र फूलले सजाइएको रहेछ। साह्रै रमाइलो भा’थ्यो त्यो साँझ। राती छतमा गएर आफ्नै घर पनि हेरियो।
आजभोलि घुम्ने सेड्युल कस्तो छ?
नीलमः हामी प्रायः घुम्न गइरहन्छौँ। उहाँको प्रोग्राममा हुँदा जहिल्यै सँगसँगै हुन्छौँ। अरूले ‘तिमीहरू त अहिले पनि बुढाबुढी होइन, ब्वाईफ्रेन्ड-गर्लफ्रेन्ड जस्ता छौ’ भन्छन्।
रामकृष्णः गर्लफ्रेन्ड-ब्वाईफ्रेन्ड नै त हौँ नि। हामी दुवै जान मिल्ने पार्टीदेखि प्रोगामसम्म सँगै जान्छौँ। घुम्न जान्छौँ।
कहिलेकाहीँ झगडा पर्दा चाहिँ बुढाबुढी हौँ भन्ने फिल हुँदो हो नि?
रामकृष्णः दुवै सर्ट टेम्पर्ड छौँ। कहिलेकाहीँ ठाकठुक पर्छ।
को बोल्छ पहिले?
रामकृष्णः मै फकाउँछु।
नीलमः अहिले त मध्यस्थकर्ता रानी (छोरी) पनि छ। त्यति लामो समय नबोलेर बस्न सक्दैनौँ।
रामकृष्णः छोरीलाई असर पर्ला भनेर झगडा पनि कम गर्छौं नि।
घुम्न सँगै जानुको कारण एक्लै गए अरूले आँखा लगाइदेलान् भनेर हो?
नीलमः म त उहाँलाई बाहिर पठाउँदा अरूले आँखा लगाउने खालकै बनाएर पठाउँछु। नपत्याए, उहाँलाई सोध्नोस् न। अस्ति गोल्डेन गेट कलेजको कार्यक्रममा जाँदा कलेजका ठिटीहरूले मन पराउने बनाउन कम्ता मेहनत गरेकी थिएँ।
रामकृष्णः उनको स्वभाव रिजर्भ टाइपको छ। धेरै बोल्दिनन्। त्यसैले मलाई चाहिँ पिर छैन।
भाउजुलाई चाहिँ सँगै गएको प्रोगाममा दाइलाई केटीहरूले हग गर्दा, किस गर्न खोज्दा साह्रै पारो तात्छ होला नि?
नीलमः उहाँको पर्सनालिटीका कारण अरू गायकलाई जस्तो डाइरेक्ट खनिने आँट उहाँमाथि गर्दैनन् फ्यानहरूले। त्यसैले पनि आजसम्म रीस उठ्ने स्थिति आएको छैन।
रामकृष्णः उनी पनि त मोडल हुन्। कतारमा जाँदा एउटा केटाले उनको तस्बिर मोबाइलको वालपेपरमा राखेको देख्दा मलाई चाहिँ रिस उठेको थियो। आफ्नी श्रीमतीको फोटो अर्काको खल्तीमा! तर, पछि ठीकै हो जस्तो लाग्यो। राम्रो मान्छेलाई त सबैले मन पराउने नै भए नि।
एक पटक श्रीमतीकै विषयमा तत्कालीन युवराज पारस र तपार्इंबीच ‘लडाइँ’ परेको थियो रे नि?
रामकृष्णः हुँदै होइन। त्यो समाचारै फेक थियो। कति खण्डन गर्नु भनेर पछि वास्तै गर्न छाडेका थियौँ हामीले। वास्तवमा त्यतिबेला उहाँ र हामी एकैदिन नगरकोट पुगेका थियौँ। पहिल्यैदेखि चिनजान भएकाले सँगै बसेर गफ गर्न थाल्यौँ। मैले उहाँलाई गीत पनि सुनाएको थिएँ। डिनर पनि सँगै खाएका थियौँ। पछि उहाँकै एक कर्मचारीले मलाई कुनामा बोलाएर ‘सरकारसँग अलिकति दूरी मेन्टन गर, धेरै नजिक नहोऊ’ भने। मलाई झनक्क रिस उठ्यो। तीन घण्टा गीत गाएर फ्रीमा इन्टरटेन नि गराउनुछ, उल्टै मलाई चेतावनी दिने! यो त राम्रो भएन नि भनेको थिएँ मैले। यही विषयमा हाम्रो भनाभन लम्बियो। पछि यो कुरा उहाँको कानसम्म पुगेछ। उहाँले ती कर्मचारीलाई ‘रामकृष्ण इज माई फ्रेन्ड’ भनेर हप्काएपछि थप बबाल भएको हो। उहाँहरू निस्केपछि अरूले ‘बी केयरफुल’ भनेका थिए। पछि त पारसले रामकृष्णलाई मुक्का हानेर घाइते भई हस्पिटलमा एडमिट भएकोदेखि म मरेकोसम्मका समाचार छापिए। यो हल्ला चल्दाचल्दै फेरि एकपटक भेटेर हामीले सँगै डिनर खाएका थियौँ।
‘रामकृष्णले बाहिर केटीलाई आँखा लाउँछ’ भन्ने सुन्नुभएको छ कहिल्यै?
नीलमः अहिलेसम्म छैन। मसँग कसैले पनि त्यस्तो कुरै गर्न सक्दैनन्।
बच्चा भएपछि त श्रीमतीको माया कम हुन्छ भन्छन्? त्यस्तो महसुस गर्नुभएको छ?
रामकृष्णः कहिलेकाहीँ त मलाई पनि यो कुरा सत्य लाग्छ। हा हा हा…।

तपाईको प्रतिक्रिया