मर्ने बेलामा हरियो काँक्रो भने झैं उनका बारेमा धेरै कुरा लेखिए । लेखिँदैछन् । लेखिएलान् अझ केहि दिन । बाँचुन्जेल उनलाई न कांग्रेसले हेर्यो न कार्यकर्तालेनै उनको बास्तविक उदाहरणीय जिवनलाई आम कार्यकर्ता र जनतामा स्थापित गराउन सके । त्यै गर्न सकेको भए अहिले जति पछुताइँदै छ त्यति नपर्दो हो । तर भीमबहादुर तामाङ खडेरीले सुकेको वनस्पतीका एक झर पानी हुन् । मरुभूमिमा भेटिने एउटा हुन् कुवा । राजनीतिक आस्था, बिचार र आग्रह पूर्वाग्रहलाई थाँती राखेर हेर्ने हो भने उनले सभ्य समाज, सादा जीवन, जनताको जस्तै जीवनशैली, जनताप्रतिको त्याग तपस्या र त्यो विश्वासलाई ढल्न नदिइकनै बिदा भए । कांग्रेस पार्टीका लागि त नहुने कुरै भएन, उनी धेरैका आस्थाका मियो हुन् । त्यहि मियो अकस्मात ढलेको छ ।
चाहेको भए उनले पनि बनाउन सक्थे राजधानीमा केहि तल्ले घर र गुडाउन सक्थे पजेरो । बिदेश ओहोरदोहोर गर्न सक्ने राजनीतिक हैसियत उनीसितपनि थियो । कार्यकर्ता उनका पक्षमा पनि थिए, भलै बलेको आगो ताप्नेको हुलमा कमै हुँदाहुन् उनका पछि लाग्ने । तर जीवनमा मोजमस्ति गर्न, अग्लो टाकुरामा बसेर कल्लर फाटेका, पैताला चिरिएका जनता हेर्दै रमाउन सक्ने भवनमा उनीपनि रमाउन सक्थे । तर राजनितिलाई मागी खाने, ठगी खाने भाँडो उनले बनाएनन् । अन्तिम कालसम्म ढलेन उनको त्यो विश्वास ।
सानो कुरो हो ? झण्डै तीन दशक त उनी राणाकालदेखि गणतन्त्र आउने बेलासम्ममा जेलनै बसेछन् । तीन दशक जेल नबस्दै हाम्रा अगाडि धेरै नेता स्वदेशी वा बिदेशीका गुप्तचर बनेर निस्किए । दल बदलेर, आस्थामाथि लौरो बजारेर पद पड्काउँदै प्रस्तुत भए । तर पूर्वी पहाडको यो तामाङको छोरो गलेन । लोकतन्त्र, बहुदलिय प्रजातन्त्र नामका कुनै तन्त्र आएपछि पनि पदका लागि मरिमेटेन । ज्यान फालेन । अन्तिम अवस्थासम्म कांग्रेसको एक शुभचिन्तकका घरमा आश्रय लिएर बस्यो । श्रीमती त्याग्यो । छोरा छोरीहरुले उनलाई त्यागे । आखिर भौतिक सुविधालाई सर्वथोक मान्ने हाम्रो समाजमा जीवनभर जनताको लागि भन्दै सडकमा चप्पल पड्काएर हिंड्ने, कर्महिन, ईखहिन, क्षमताहिन यस्तो बाउलाई उनका परिवारले पो किन साथ दिन्थे ? आखिर ति सबै यहि समाजका उत्पादन न हुन् । तर त्यो सबैलाई उनले वास्ता गरेनन् । त्यो विश्वास र संघर्षको आफ्नै गाथालाई छिन्न नदिन पनि होला सायद ।
उपचार आफ्ना कार्यकर्ताले गरिदिनुपर्ने । बस्ने ठाउँको ठेगान नभएर अरुलेनै आश्रय दिनुपर्ने । कति होलान् यस्ता नेता ? सुकुम्बासीलाई जग्गा दिउँला । रोजागारको ग्यारेन्टी गरौंला । देशमा कलकारखाना खोलम्ला । यो मुलुकलाई झिलिमिली पारम्ला भन्नेहरुले आफ्नै आँगन झिलिमिली पारे । जनतालाई आश्वाशन बाँड्दा तिनका घरमा पुगेको चप्पल फुकालेर करोडको सवारीमा हुइँकिने भए । राष्ट्रियताका नारा उरालेर सडक र सदन अवरोध गर्नेहरु बिदेशीका पाउमा लम्पसार पर्ने भए । बिदेशको सयर, काला ब्यापारीसित मिलेर राज्यको लूट । भएभरका आफन्तलाई बिदेश । त्यो नसके हुँदै नभएको पद खडा गरिगरि आँखा लाग्ने पदमा ब्यवस्थित गरिदिए । जनताले श्वास लिने हावा बाहेक सबैमा ढाड भाँच्नेगरि ठगे, कमिशन खाए । जनवादको सुनौलो चकलेटी गफ दिँदै राज्य र जनता दुबै लुटिरहेका छन् ।
एक पटक मन्त्री बन्नेले पुस्तौंलाई पुग्ने गरि थुपारे । कम्युनिष्ट नामधारी अनेकौं नेताको लवाईखवाई र शानले हँसिया हथौडालाईनै गिज्याउँछ । तर पूँजीवाद अँगालेको पार्टीको नेता भीमबहादुरले यि कम्युनिष्ट नामधारी छद्म भेषका मोजकर्ताहरुलाई मौन रुपमै सहि पाठ सिकाए ।
जनजातिहरु लाखा पाखा लाग्न थालेपछि कांग्रेसमा पनि भुइँचालो गयो । त्यो बेला यिनै बुढा तामाङ नभै भएन कांग्रेसलाई । जनजातिका मागलाई कसरी संवोधन गर्न सकिन्छ ? कांग्रेसले समिति बनायो । संयोजक यिनै भए । यिनले संयोजन गरेको समितिले बुझाएको सुझाव हेर्दा मुलुक नटुक्रियोस्, नभत्किओस्, जनताका आस्था सदा झैं उनिएरै रहुन् भन्ने पाईयो। सुझावमा सबै जात जातिको पहिचान होस् भन्ने राम्रै रिपोर्ट बुझाएका रहेछन् यिनले । समितिमा कांग्रेसका दिग्गज दिग्गज, बिदेशमा पढेका देखेकाहरुको ठूलै जमातलाई लिएर अगुवाई गरेका रहेछन् र दिएका रहेछन् गतिलै रिपोर्ट । भलै यसमा आ-आफ्ना बिचार, आस्था, स्वार्थ र बुझाइबाट हेर्दा तलमाथि पक्कै पर्छ । तर उनको सुझबुझले देखाउँछ, यो बुढो अध्ययनशिल नै रहेछ भन्ने ।
कतिले भन्छन्, ह्या यो भीम जस्ता एकाध ब्यक्तिले ज्यान फालेर के गर्ने ? त्यसो होइन, यि जस्तैको बलमा नेपाली कांग्रेस धेरै ठाउँमा टिकेको हो । यस्तै निष्ठावानकै कारण त यो समाज यत्तिको धानिईरहेको छ । केहि न केहि कार्यकर्ताले सिरोपर गरेका छन् । हिलै हिलोको थुप्रोमा दुई चारवटा भएपनि कमलको फूलले आशा जगाइरहेका छन् । तर उनले बिदा लिँदा श्रद्दा ब्यक्त गरेका कांग्रेसका कार्यकर्तालाई चाहिँ मलाई केहि भन्न मन लागेको छ । यस्तो निष्ठावानका बिचारहरुका पछाडि किन लागेनौ ? लाग्दैनौ ? अझैपनि अग्लो घर, चिल्लो गाडी, बिदेशीसितको लहसपहस, धनदौलत र शक्ति हुनेका पछाडि किन दगुर्छौ त ? यि त गए गए, अब नरहरी आचार्य, सुप्रभा र चन्द्र भण्डारी जस्ताबाट कांग्रेसी कार्यकर्ताहरुले बेलैमा सिक्नुपर्दछ ।
स्व. भीमबहादुर तामाङप्रति आज तेह्रौ पूण्यतिथिका दिन हार्दिक श्रध्दासुमन, हार्दिक श्रध्दान्जली ! ***