आज भन्दा ठिक ४१ बर्ष अघि सात छुटाछुटै भूभाग मिलेर बनेको संयुक्त अरब इमिरेट्स आज बालुवा खानीबाट स्वर्ग बन्यो । उसका पनि कति अप्ठ्यारा बाधा अड्चन थिए होलान् । बिडम्बना मेरो स्वर्ग जस्तो देश नर्कमा परिणत भैरहेको छ । यूएईले ४१ औं एकिकरण दिवस स्वर्ग स्वरुपको झिलीमिली बत्तिमा मनाई रहदाँ मेरो देशमा बिजुली बत्ति गएर कालो अन्धकार छाईरहेको थियो । जहाँ टाठा बाठाहरु सिगोँ नेपाललाई अंगभंग पार्न अन्धकारमै तिर हान्न तंछाड मछाड गरिरहेछन् । अनभिज्ञ बिचरा सोझा सिधा निरही मृगका बथानहरु ब्याधाहरुको तिरबाट बच्न कान ठाडो, आँखा तिखो पार्दै कता भाग्ने, के गर्ने भनि बाटो खोजीरहेछन् ।
ज्यान जोगाउन भाग्दा भाग्दै नेपाली थाक्लान् तर मान्छेको काँचो रगत खान पल्किएका बाघ मानव खोज्दै हिड्ने रहेछ । नेपालको मानव बस्तिमा नरभक्षी बाघहरु बाटो ढुकेर, गौडो बथानी, रुप फेर्दै मौका हेरेर पालैपालो झम्टिरहेछन् । कहिले बाउँ, कहिले आमा, कहिले छोरा, कहिले भाई र कहिले नाती पालैपालो सोझसिधा मृग चर्ने शान्त, शितल, सुन्दर, रमणिय, हरियाली यो भूमिमा अझै रातो रगतको खोला बगाएर आफ्नो प्यास मेट्ने ध्येयमा छन् ।
संविधानमा नेपालीहरुको मौलिक अधिकारी नसमेटिएको भन्दै संविधान परिर्वतनको लागी कैयौं क्रान्ति भए । हज्जारौं नेपालीको ज्यान गयो । नेपाली सपुतहरुको रातो रगतको खोला बग्यो । लाखौं घरबार बिहिन भए । पालैपालो नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशवादी जन्मदै गए । बिधिको बिडम्बना सबैको देखाउने र चपाउने दाँत छुट्टाछुट्टै रहेछ । फुक्ने मन्त्र संविधान बन्यो तर आत्म भित्रबाट जप्ने मन्त्र बेग्लै रहेछ । यसैले नेपाली जनमानसमा मौखिक संविधान भित्रिएको धेरै भयो तर नेपाली जनजीवनको ब्यबहारमा लागु हुन कहिल्यै सकेन । यसबेलाको सुरक्षा ब्यबस्था हामी सबैलाई थाह नै छ । नेपाललाई अस्थिरताको बन्दि बनाई रहन चाहनेहरुलाई साथ दिदै संविधान लागु गर्न पर सारेर चुनावमा जान चाहने पार्टी र नेताहरुप्रति आम नेपालीले अब के को आशा राख्नु ? युद्ध, आतङ्क, भष्टचारको अराजकताले ग्रस्त भै आर्थिक मन्दिमा गुज्रिएर बल्ल बल्ल एक चुनाव गराएर संविधान बनाउन पठाएको मतको कदर नगरी अझ अर्को चुनावमा जान चाहने नेता र पार्टीहरुलाई लाज, घिन, डर, त्रास रहेनछ । हुन त एक गल्ती गर्दा पो लाज लाग्छ हज्जारौं गल्ती गरे पछि के को लाज ? के को इज्जेत ? के को डर ? रत्नपार्कको सेक्स बजारलाई जस्तै त हो नि । जनताले ऋण बोकेर बल्ल बल्ल एक चुनाव गरायो । त्यो उदेश्य आजको आवश्यकता यो संविधान लागु गर्न नसक्नेहरु अब चुनाव किन र के को लागी गर्न चाहन्छन् ? के अर्को चुनावले सविधान लागु गर्छ भन्ने ग्यारेन्टी छ ? पार्टी र नेताहरु यिनै होइनन् र ? फरक के ?