बिश्वभरका हरेक पाँच मध्ये एक महिला आफ्नो जीवनकालमा एक न एक पटक शारीरिक, मानसिक, वा यौनजन्य हिंसाको शिकार बन्ने गरेको तथ्य बिश्व स्वास्थ्य सँगठनको छ ।
बिश्वभर महिला हिंसा बिरुद्धको कार्यक्रम गरिरहँदा, दिन सम्झिइरहँदा र दिवस मनाइरहँदा मलाई आफ्नै परिवेश वरपरका केहि कुईनेटाहरुले सताउने गर्दछन । महिला हिंसारहितको सुन्दर समाजको कल्पना गरिरहँदा महिला हिंसा नै नबुझ्ने समाजबाट टाढा रहन नसकेकोमा मलाई यसरी पिरोल्नुमा कुनै आश्चर्य भने थिएन । गत महिना मात्रै आफ्नै गाउँमा सम्झना भाउजुले दाइजो कम ल्याएको बहानामा बेस्सरी पिटाइ खानुभएछ । उहाँको निमुखोपनको खवर सुनेर ’कठै बरा’ भन्नुबाहेक केहि गर्न नसक्दा, नपाउँदा आफैलाई धिक्कार लाग्छ मलाई । सम्झना भाउजु त केवल चरित्रपात्र मात्रै हुनुहुन्छ, हरेक दिनरात यस्ता अनगिन्ती घटना भैरहेका छन् जसबाट महिला आफ्नै अधिकारबाट अझ भनौं सुरक्षित बाँच्न पाउने अधिकारबाटै बञ्चित बनेका छन् ।
नेपालजस्तो देशमा भने अबुझ बनेरै पनि वा ज्ञानको कमीका कारण नै पनि दिनानुदिन महिला माथिका हिंसाजन्य क्रियाकलाप बढ्दै गईरहेका छन । राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरु अझ बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरुको सँख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरुबाट महिलाहरु वञ्चित छन् । महिलाको मानव अधिकारको उल्लंघनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । त्यसमा पनि हाम्रो परिबेशमा दाइजो प्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ ।
गरिबी, अशिक्षा, अज्ञानता एवं अन्धविश्वासले ग्रसित मधेसी महिला विवश र निरिहरुपमा बाँच्न बाध्य छन् । मधेसमा पछिल्लो समय देखिएको द्वन्द र सामुदायिक प्रतिनिधित्वको उल्टो बुझाईले नकारात्मक प्रभाव महिलामाथि पर्ने गरेको छ । सशस्त्र समूहको त्रासमा पिल्सिएका मधेसी महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ, त्यसमाथि सशस्त्र समूहको अमानवीय क्रियाकलाप जस्तै बलात्कार, अपहरण एवं हत्याको त्रास पनि बढ्दो छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहुविवाह गरी यातना दिने लगायत बोक्सीको नाउँमा महिलालाई थप पीडा दिने काम समाजका अगुवा भनाउँदाहरुबाटै हुने गरेको पाइन्छ । दाइजो नल्याएको कुरालाई आधार बनाएर महिलालाई जिउँदै जलाउने, मार्नेजस्ता घटना पनि सामान्य हुँदै गएका छन् भने बोक्सीकै नाममा दिनदहाडै महिलालाई अभक्ष ख्वाइन्छ, छोरी जन्माएको निहुँमा महिलालाई घरनिकाला गर्नेदेखि लिएर अनेकौं यातना दिइन्छ तर त्यही बहुसंख्यक समुदायलाई मुलधारमा ल्याउन सकिएको छैन, उनीहरुको अधिकार स्थापित गर्न सकिएको छैन, जीवन सुरक्षा दिन सकिएको छैन । तराईमा त परम्परा र लोकलाज र घर परिवारको इज्जतको कारण देखाउदै धेरैजसो दाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् ।
अज्ञानताका कारण हुने आपराधिक घटनालाई एकातर्फ राख्ने हो भने पनि, अर्कोतर्फ जानेमानेको र बुझेको बर्ग पनि महिला हिंसामा उत्तिकै सहभागी देखिन्छन् । साहु धनाढ्यबाट घरमा काम गर्न राखिएकी महिलामाथि दूर्ब्यबहार हुन्छ भने कार्यालयहरुमा हाकिमबाट उस्तै फेरी । सेक्रेटरी राख्ने बहानामा वा काम लगाइदिने बहानामा घिनलाग्दा शब्द र प्रस्ताब त बिना हिचकिचाहट नै राख्ने गर्दछन् । कार्यक्षेत्रमा अन्य पुरुष समकक्षीबाट हेरिने नजर र गरिने व्यबहारले पनि महिला अछुतो रहन सकेका छैनन् । हुन त यस्तो ठाउँबाट आफैले आफुलाई निकाल्न सक्नुपर्दछ महिलाले तै पनि कमजोर मानसिकताका कारण उनीहरु निरिहतालाई अंगाल्न बाध्य छन् हाम्रै वरिपरी । त्यसपछि सहारा लिन्छन महिलाले नग्नताको, तर त्यसैले उनीहरुलाई कमजोरी बनाइरहेको छ भन्ने कुराको भान समेत पाउँदैनन् ।
म सम्झिन्छु, केहि पहिले आएको फिल्म थियो ’चपली हाइट’ अनि नायिका थिइन् बिनिता बराल । उनको फिल्ममा देखाएको दृश्यले के कुरालाई औंल्याउँन खोजेको छ म त्यतातिर जान चाहिन, तर समग्र सन्देश भनेको नग्नताको ब्यापार हो त्यो । यस्तै यस्तै घटनाका कारण आत्महत्या गरेकी नायिका जेसिका खड्का र अझ पहिले कि नायिका श्रीषा कार्कीको उदाहरणले पनि यस्तो परिपाटी आफैले सिर्जना गरेका छन् महिलाले कार्यक्षेत्रमा भन्ने कुराको पुष्टी हुन्छ । तसर्थ महिला स्वयमले पनि दोष मात्रै अरुलाई थुपारेर हाम्रा लागी केहि गरेनन् भन्नुभन्दा पनि यो गर्नमा सहयोग गर भन्दा धेरै सान्दर्भिक देखिन्थ्यो कि ?
महिलाको हक अधिकारका लागि उनीहरुको जीवनरक्षाका लागि पुरुषले केहि गर्दिएनन् भन्दै मुख ताकेर बस्ने अवस्था भने अहिले होईन । गरेर देखाउन सक्ने खुबी राख्नेहरुका लागि सहयोगी सँस्थाले सहयोगी भूमिका खेलेकै छन् । महिला बेचबिखन बिरुद्धको अनुराधा कोइरालाको अभियान, पौरखी हातहरुलाई सदैब सघाउने पौरखी, घरबारबिहिन बनेका र पीडामा जीवनयापन गरिरहेकाहरुका लागि सहज बातावरणको सिर्जना गरेको माइती नेपाल लगायत आन्तरिक र बाहृय सँघसँस्थाहरुले खेलेको भूमिका सह्रानीय छ । तर पुनर्स्थापना मात्रै नभएर फेरी त्यही प्रकारको घटना दोहोरिन नदिने तर्फको कदम पहिलो प्राथमिकता हो ।
यो यथार्थ हो कि, हाम्रो समाज पुरुषप्रधान छ, तै पनि आरक्षण र बिभिन्नतहमा सहभागिताका लागी महिलामा गरिने आह्वान पनि बढ्दो छ पछिल्लो समयमा । नियमगत कानुन पनि बनिसकेको अवस्था र राज्यले पनि महिला हिंसाका मतियारलाई कानुनी दायरामा ल्याउने प्रतिवद्दता गरेको अवस्थालाई सकारात्मक मान्नुपर्दछ । क्रमशः परिवर्तन अंगालिरहेको समाजलाई आफुले पनि एउटा ईटा थप्ने प्रयास हामीबाट पनि भए महिलाले नेतृत्व गरेको समुन्नत समाजको भबिष्य धेरै टाढा छैन । सर्बप्रथम आफ्नो घरलाई लैंगिकमैत्री बनाउन सके समाज र टोललाई सोही बाटोमा लग्न सकिने थियो । समग्र देशको सुमधुर भबिष्य देख्न पाइने थियो । त्यसैले त कार्यक्रमहरु भईरहँदा, दिवस र दिन सम्झिइरहँदा आफैले बाचा गर्न मन लागेको छ, म मेरो तर्फबाट आधरभुत आवश्यकता पुरा गर्नेछु । मेरो घरलाई लैंगिकमैत्री बनाउने छु । भन्दैछु, महिला हिंसा, अहँ ! हुँदैन । अनि भन्न अनुरोध पनि गर्दैछु, महिला हिंसा, अहँ ! हुँदैन ।
(महिला हिंसाबिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय दिवसका अवसरमा लेखिएको यसका लेखिका आचार्य नेपाल पत्रकार महासंघ जापान शाखाकी सदस्य हुन्)