संस्मरण
काठमाडौंबाट टुरिष्ट बस चढेको ६ घण्टामा हामी पोखरा पुग्यौं । पोखराको मनोमोहक दृष्य अवलोकनका लागि हामीलाई ऊर्जा प्रदान गरेको थियो, शिक्षा तथा सामाजिक विकास केन्द्र (एशोडेक) ले । केही आशा, उमंग, उत्साह र सपना बोकेर राजेश श्रेष्ठ र म पोखरा पुग्यौं । त्यहाँ हाम्रो आगमनको प्रतिक्षामा हुनुहुन्थ्यो, निरज थापा । फोनमा वार्तालाप भएपनि प्रत्यक्ष भेटघाट भएको उहासँग पहिलो पटक हो । लामो समयपछि पोखरा पुग्दा पोखराको मुहार फेरिएको रहेछ । म एक्लै गएको भए त कुहिरोमा हराएको काग जस्तै हुने रहेछु ।
कुनै जमानामा ‘विद्या हराए कास्की जानु’ भन्ने थियो । हामी पनि अनुभव सँगाल्नकै लागि कास्की (पोखरा) गएका थियौं । ‘मानिसलाई माछा दिने होइन, माछा मार्ने सीप सिकाइ दिनुपर्छ’ यो जापानी उखान अहिले निकै लोकप्रिय भएको छ । अरुले मारेर दिएको माछाले उसको एक छाक टर्छ । तर, माछा मार्न सिकाइदियो भने उसले आवश्यकता अनुसार आफ्नो भोक मेटाउछ । विगत करिव दुई दशकदेखि एशोडेकले गरिव तथा जेहेन्दार विद्यार्थीलाई त्यस्तै माछा मार्ने अर्थात ज्ञान आर्जन गर्ने शिक्षा दिएको रहेछ । कास्कीका १९ विद्यालयका २ सय जना विद्यार्थीले त्यसको प्रत्यक्ष फाइदा पाइरहेका रहेछन । एशोडेकले प्रतिविद्यार्थी बार्षिक २ हजार ४ सयका दरले कापी, कमललगायतका सामान खरिद गर्नका लागि नगद उपलव्ध गराउँदै आएको रहेछ ।
‘पोखराको भैंसीले पनि अङ्ग्रेजी बोल्छ, धरानको कुखुराको भालेले पनि कम्फू-करात खेल्छ र नुवाकोटको कुकुरले पनि राजनीति गर्छ’ भन्ने सुनेका थिए । तर पोखराका कतिपय ठाउँका विद्यार्थीहरु आर्थिक अभावका कारण अँग्रेजी बोल्न त परै जाओस शिक्षाको मन्दिर (विद्यालय) सम्म पुगेर समान्य लेखपढ गर्न सकिरहेका रहेनछन । अत्यधिक गरिवका कारण पढने उमेरका बालबालिकाहरु अरुको ज्यालादारीमा काम गर्न बाध्य रहेछन ।
आजभन्दा करिव २५ बर्षअघिदेखि जापानीजहरुको ती विद्यालयका बालबालिका प्रति अकारण प्रेम बसेको रहेछ । जापानीज र विद्यालयबीचको पुलको काम एशोडेकका अध्यक्ष देवमान हिराचनले गर्नुभएको रहेछ । जापानीजहरुले नेपालको शिक्षाको दयनिय स्थिति देखेर उनीहरुका लागि खाजा खर्च कटाएर पैसा पठाइँदिदा रहेछन ।
अकारण प्रेम केवल आमाको मात्र हुन्छ भनिन्छ । तर आमा बुबाको भूमिका निभाइरहेका ति जापानीजहरुले पनि अकारण विद्यार्थीलाई सहयोग गरिरहेका रहेछन । आमा जसले निरन्तर बिनाकारण आफ्ना सन्तानमा प्रेमको घडा बसाइरहेकी हुन्छिन् । त्यस्तै स्मरणीय, बन्दनीय ममतामयी आमाको हृदय जस्तै माया रहेछ ती बालबालिकामा जापानीजहरुको । यी पंक्तिहरु लेख्दै गर्दा देवमान दाईले भनेको सम्झन्छु, जापानीजहरु बिद्यालयका ती बालबालिकले पढ्न पाए/नपाएको बारम्वार सोधिरहन्छन । अस्पताल भर्ना हुँदा पनि जापानीहरुले ती बालबालिकाहरुलाई सोधिरहेका हुन्छन रे, ‘उनीहरुले पढेका त छन’ । जापानीहरुले आफ्नो असहृय दुखाइमा पनि बालबालिकाको पढाइको बारेमा कुरा गरिरहेका हुन्छ रे । यही हो जापनीहरुको विशाल हृदय । जो आफ़्नो दुःखमा पनि आफुले दिएको छात्रबृत्तिले बिद्याथीहरुले पढन पाए नपाएकोमा चिन्तित छन । आमाले दुःखमा पनि आफ्ना सन्तालाई सम्झिरहेकी हुन्छिन् । त्यसैले भनिन्छ, आमाको दुःख पचाउने सन्तान कुपात्र हुन सक्दछ तर आमा कहिल्यै कुपात्र हुन सक्दिनन् र हुन्नन् पनि । आमाको जस्तै भूमिका निभाएका रहेछन जापानीहरुले ।
‘जीवनको कथा कामले लेखिन्छ’ भन्ने गरिन्छ । साँचो अर्थमा त्यही नै हो । पोखराको सौन्दर्य हेर्न जो कोही पर्यटक पनि आकर्षित हुन्छन । तर माछा पुच्छ्रेको छायाँ पर्ने स्कूलका विद्यार्थीमा भने कमैको ध्यान पुगेको रहेछ । पोखरा जति सुन्दर छ, त्यस भित्रको कथा दर्दनाक रहेछ । सात तालको सुन्दर बगैचा भित्रको केही पीडा बुभ्ने काम एशोडेकले गरेको रहेछ । अकारण प्रेम आमाको छोराछोरीमा जसरी बस्छ, त्यसैगरी जापानीजहरुको बिद्यालयका बालबालिकामा बसेको रहेछ । जापानीजहरुले देखाएको सहयोगको भावनाले हामीलाई खुशी तुल्यायो ।
भन्ने गरिन्छ ‘बलेको आगो ताप्ने धेरै हुन्छन’ तर निभ्न लागेको आगो बाल्ने कसरत कमैले गर्छन । तर जापानीजहरुले गरेका रहेछन । बालबालिकाको शिक्षाका लागि उनीहरुले अध्याँरोमा मैन बत्ती बाल्ने प्रयत्न गरेका रहेछन । म सम्झन्छु, ती बालबालिका कति निर्दोष छन । उनीहरुमा न कुनै छलकपट छ न त कसैसँग दुस्मन नै । तर बिना कारण गरिवीको मारमा परेका छन । गरिवी उनीहरुको कारणले आएको होइन । तर पनि गरिवीको पीडाको सजाय भोग्दैछन् । ‘जाऊ मलाम लगाउ चराइरहेको घाउमा’ आज म लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छु र आँखाभरी आँशु पार्छु । ***