Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

शुभकामना दिंदा, तथानाम गाली

यो बर्षको तिहार सदाको भन्दा भिन्न रह्यो । अघिल्लो दिनसम्म खासै छोएन । मनमा उमंग जागेको थिएन, केहि दिनदेखिको ब्याकपेनको समस्याले ज्यानमा खासै फुर्ती पनि थिएन । सबैलाई तिहार झ्याप्पै लागिसक्दा पनि आफुलाई भने कागलाई बेल….. भनेझैं कुनै उत्साहित बनाएन । आज भाइटिकाको दिन भने के के नपुगेको, के के बिर्सेजस्तो छटपटी-छटपटी लागेको जस्तो, भित्रबाहिर भित्रबाहिर गर्न मन लागिरहयो।

सदाझैं नित्यकर्म सकेर भाइटिकाको बिदा भएपनि बिहान कार्यालय छिरेपछि यसो अनलाईनतिर आँखा डौडाए । दशैं होस या तिहार, तिज होस या अरु नै ! पर्व मान्ने नाउँमा फोटो सेशनको चलन अलि बढेको छ हामी नेपालीहरुमा । फोटो खिच्यो ठेल्यो फेसबुकमा, फोटो खिच्यो अनि फेसबुकमा राख्ने चलनले बाहिरी संसार चियाउनै नपर्ने भएको छ अचेल। चारपाते फुच्चे कम्प्युटर काखमा लिएर बसेपछि त्यसको सानो झ्यालबाट संसारको विचरण गर्न पाईने भएको छ । क-कसले कसरी लक्ष्मीपूजा गरे, कसको घरमा को पाहुना आए, क-कसका घरमा कस्ता सेलरोटी पाके, क-कसको कोठामा कस्ता टिभी छन्, क-कसले कसलाई कसरी शुभकामना दिए, क-कसको स्टाटसमा क-कसले के का लागि लाईक ठोके, यी सबै फेसबुकमा हेर्न पाईने भएको छ । हामी नेपालीहरु पनि सूचना र प्रविधिमा राम्रै अभ्यस्त हुंदै गएका छौं । यो खुशीको कुरा हो ।

मलाई भने फेसबुकमा लेख्न भन्दा हेर्न मनपर्छ । कसको लेखनी कस्तो छ, त्यो हेर्न मजा लाग्छ । मान्छेहरुको लेखनी र कथनी बिचको अन्तर जान्न र देख्न पाईन्छ । कोही लिखितममा राम्रै भएपनि बकितममा खासै दखलता हुदैनन् भने कसैको बकितम इस्पातजस्ता लाग्ने भएपनि लिखितममा ध्वस्त र टिठ्लाग्दा हुन्छन् । फेसबुकमा देख्न पाईने यो अर्को रमाइलो पाटो हो ।

जे होस प्रसंग भाइटिकाको ! दुहुनो नहुने घरमा गोरसको बढ्ता चाहना हुन्छ भन्छन्, आफ्नै दिदिबहिनी नहुनेलाई झन तीज र तिहारको अचाक्ली चाहना हुने सानैदेखिको स्वभाव परदेशिएर लाहुरेकान्छा भएदेखि बिस्तारै बानी पर्दै आएको हो । सन्तनेता कृष्णप्रसाद भट्टराईलाई दिनउमेर हुञ्जेल बिबाह गर्ने फुर्सदै भएन रे, त्यस्तैजस्तो आफुलाई पनि बेलैमा धर्मकै भएपनि दिदीबहिनी बनाउने, मित लगाउनेतिर कहिलै ध्यान गएन, त्यतातिर फुर्सद निकालिएन भन्नुपर्ला । कालान्तरमा जोगमेसो त्यस्तै पर्न गएकोले एउटी बहिनी बनाएको थिंए । उनी पनि अहिले त नेपालतिर रमाना भएकीले अब आफ्नै भन्ने कोही नभएपछि निधार खालीको उही पुरानै स्थितिमा आजको तिहारको अनुभव बांड्ने जमर्को गरेको छु, नितान्त निजी अनुभव ।

भेट नभएको १६ बर्ष पुगेको १ जना पुरानो साथी घरजमसहित फुकुओकामा बस्छन् । उनी जापानमै छन् भन्ने थाहा थियो कता छन् के छन पत्तो थिएन । उनलाई पनि म जापानमै छु भन्ने थाहा भएपनि सम्पर्क हुन सकेको थिएन । उनीसंग एउटा कार्यक्रममा संगै क्यानाडा गएका थियौं, नाचगान र रमाईलो गर्न निकै मनपराउने रामेछापका ती साथीसंग फेसबुककै माध्यमबाट केहि महिना अगाडि मात्र सम्पर्कसूत्र कायम भएको हो । उनले दशैंको टिकाको दिनमा मलाई फोन गरेका थिए । लामो कुरा गर्‍यौं, बिगतलाई केलायौं, आला बनायौं, दूवै भावुक भयौं । जिन्दगीरुपी गाडिको पाङ्ग्राहरुका गुडाईलाई गहिराईमै पुगेर छाम्यौं र बिश्लेषण गर्‍यौं । अन्तमा, दशैंको शुभकामना आदानप्रदान गरेर बिदाबादी भयौं । बिदाबादी अघि उनले भने – ‘आफुलाई टिका लगाईदिने कोही नभए पनि यसपाली पहिलोचोटी बच्चाहरुलाई टिका लगाएर नेपाली सँस्कार बिस्तारै सिकाउँ कि भनेको त हेर्नुस् न जमरै उम्रेन ।’ मैले पनि जबाफमा भने – ‘आफुलाई पनि टिका लगाईदिने कोही नभएपनि आफुकहाँ टिका थाप्न आउनेहरुलाई टिका लगाउनुपर्छ भनेर जमरा राखेको हेर्नुस् न जमरै उम्रेन ।’ टिका थाप्ने नभएर लगाईदिने भूमिकामा आइपुगेकोमा आफुहरु निकै पाको भईएछ है भन्ने अनुभव साट्दै छुट्टियौं । तिनै मित्रसंग आज पनि फेसबुकमा लामो कुरा भयो । उनले भने – ‘हैन हाम्रा चाडपर्वले किन हामीलाई यसरी छुन्छ होला, अरुबेला सामान्य दैनिकी चलिरहँदा खासै वास्ता नहुने, दशैतिहारजस्ता पर्वमा भने हामीलाई सँधै नेपालै हुत्याउँछ ।’ मैले भने- ‘अपनत्व भनेको आफ्नैमा मात्र पाईन्छ । त्यसैले त यी पर्वहरुले नेपालीहरुबिचको सामाजिक सद्भावलाई सदियौंदेखि कायम राख्दै बचाउन सकेका हुन्।’  हामी शुभकामनाको आदान प्रदानसंगै बिदा भयौ ।

एकजना नजिककी बहिनी हङकङमा छिन् । उनी त्यहाँ बस्न लागेको एक दशकभन्दा बढि भयो । कहिलेकाँही उनीसंग फेसबुकमा कुरा हुन्छ । फोनमा बहुत कम । बिशेषगरी तिज र तिहारमा फोन या फेसबुकमा शुभकामना आदानप्रदान गर्ने गर्छौं हामी । आज पनि हामी केहिबेर फेसबुकमा बहकियौं । उनी पनि नेपालमा भाइहरुलाई टिका लगाउन नपाएको १० बर्ष भयो भन्दै न्यास्रो पोखिन् । आज भाइटिकाकै दिनमा भएको कुराकानीबाटै भएपनि दाजुबहिनीको भावनात्मक नाता र सम्बन्धलाई नविकरण गर्‍यौं । यही ईन्टर्नेटमा भएको वार्तालापलाई टिका लगाएसरहको मान्यता दिने सहमति गर्दै हामी छुट्टियौं।

दिन ढल्कदों छ, घरतिर फोन गरेर तिहारको शुभकामना दिनसम्म भ्याईयो । फोनमा उता पछाडिबाट आएको हल्ला सुन्दा टिकाको साइत छोप्न गरिएको हतारो हो भन्ने प्रष्टै झल्कन्थ्यो । आज त फेसबुकका पानाहरु पनि दशैंको बेला राजधानीका खाली सडकजस्ता देखिन्छन् । यसबाट पनि सबैलाई तिहार त निकै पो लागेछ भन्ने अड्कल काट्न त्यति गाह्रो भएन ।

२०, २१ बर्ष जति भयोहोला प्रत्यक्ष नभेटेका एकजना समकालिन मित्र जो बेलायती सेनाको निकै उपल्लो  दर्जाको  रिटायर्ड जीवनमा अतिरिक्त जागीर गर्दै बेलायतमा कार्यरत छन् । उनीसंग फेसबुकमा आज जम्काभेट भयो । उनले आफु तिहार मान्न अहिले नेपालमा आएको, केहिबेरमा टिकाटालो समारोह शुरु हुन लागेको संकेतसहित शुभकामना दिदैं म कहाँ छु भन्ने बारे जिज्ञासा तेर्स्याए । आफु जापानमै रहेको अवगत गराउँदै उनलाई मैले भने – ‘पृथ्वी गोलो छ भन्छन् तर जीवनका कुइनेटाहरुमा हाम्रो भेट २०, २२ बर्षसम्म हुन सकेन है ? उनले भने – ‘जीवन अथाह ब्यस्त भईदियो, परिवारका पुरै सदस्यहरुबिच भेटघाट हुन अब धेरैका लागि गाह्रो बिषय भईसक्यो । एउटा हलोका लागि १ दिन खर्चिने हाम्रा पुर्खा कति सुखी थिए । उनीहरुसंग चाहेजति समय थियो, चाहेजति आनन्द आफ्नै माटोमा लिन सक्थे, आफ्नै छानोमुनि रमाउन सक्थे । तर भोलीलाई आफ्नो कब्जामा पार्ने ध्याउन्नमा लण्डनमा ब्रेकफाष्ट खाएर मास्कोमा लञ्च गर्ने हाम्रो पुस्ता यति ब्यस्त भईदिएको छ र यति डौडधूपमा फसेको छ कि उ संग अब एक सेकेण्ड समय फुर्सद छैन । र उसले सुख र सन्तुष्टी भने तिनै पूर्खाहरुको जति पनि लिन सकेको छैन र सक्दैन पनि । बचेखुचेका समय-फूर्सदलाई सप्पै, क्वाप्पै खाईदियो, ल्यापटप, आइप्याड, आइफोन, फेसबुक, स्काइप, ट्वीटर अनि के के आधुनिक यान्त्रिक सुबिधाहरुले । भौतिकरुपमा सशरिर भेटघाटप्रति मान्छेहरु समय निकाल्न छाडे’ – उनले भने । उनका धेरैजसो कुरामा मलाई पनि चित्त बुझ्यो । ‘आफ्नै धर्तीमा पुगेर तिहार मनाउँदै हुनुहुँदो रहेछ, तपाईको तिहार, साँच्चिकै तिहारजस्तै होस् यान्त्रिक नहोस्’ – मैले शुभकामना दिएँ । हामी बिदा भयौं । अब कति बर्षपछि जम्काभेट हुने हो केहि थाहा छैन । त्यो पनि आम्नेसाम्ने प्रत्यक्ष भेट त कहाँ होला र  ? उही यान्त्रिक भेट ।

साँझ पर्नुअघि र दिन ढल्कँदै गर्दाको समयमा मलाई किन किन अलि अत्यासलाग्दो अनुभूति हुन्छ । समय गुडिरहेको हुन्छ कामको मेलो देखिदैन र सकिदैन पनि । क्षेत्र नै त्यस्तै पर्‍यो । फेरि पनि आज त भाइटिका है भन्ने कुरोले भने मनमा अड्डा जमाईरह्यो । यसरी शुभकामना आदाप्रदान गरेर सामान्य भन्दा सामान्य तरिकाले यो बर्षको तिहार मनाइयो । शुभकामना म्यासेज पठाउनेक्रममा पनि जीवनकै पहिलो अचम्मको घटना घट्यो यो पाली । फेसबुक होस या म्यासेजमा सामान्य औपचारिकता भन्दा बढि सक्रियता मलाई  देखाउन मन लाग्दैन  र भ्याउदिन पनि । खास खास मित्रहरु र  उताबाट आएकै ब्यक्तिलाई बाहेक अरुलाई शुभकामना पठाईरहनुको अर्थ छैन भन्ने लाग्छ । १ जना सामान्य चिनजानकी महिला पाठकमित्र जसले दशैंमा शुभकामना पठाएकी थिईन् । अरुलाई पठाउनेक्रममा उनलाई पनि थान एक  ह्याप्पी तिहार लेखेर पठाएको थिए । साँझ पख नम्बर लुकाएर फोन आयो – ‘तपाई नचिनेको मान्छेलाई पटक पटक ह्याप्पी तिहार लेखेर काममा डिष्टर्व गर्ने को हो ? काम छैन खातेहरु’ – भन्दै तथानाम गाली गरिन् बा !मलाई त खपिनसक्नु भाउन्न भयो, चक्कर लाग्लाजस्तो भो, मैलै सम्झाउन नपाउँदै  उनले अश्लिल गाली बर्बराउंदै फोन राखिन् । स्वर सँधैको भन्दा फरक मान्छेको जस्तो लाग्यो नंबर भने उही थियो शुरुमै उनैले टिपाएकी थिईन।  केहि घण्टापछि उनी फेसबुकमा अनलाईन देखिईन, अनि मैले घटनाबारे सबै बेलीबिस्तार लगाएर त्यो नम्बर अहिले अरुले नै चलाउँछ हो भनेर सोधें उनले भनिन् – ‘होइन यो त मैसंग छ, तर मलाई तथानाम गाली गर्ने उनी होइनन रे, नम्बर चेक गर्दा भने एउटै छ, अचम्म लाग्यो । जापानमा बसे भन्दैमा कमसेकम बोल्न त सिकूँन् नि हाम्रा भाइबैनाहरुले, आकाशै खसेझै र धर्ती नै फाटेझै गरी घटिया शब्द प्रयोग गरी तथानाम गाली गर्नुपर्ने ?  शुभकामना दिंदा तथानामी गाली,  मेरो तिहार यस्तै भो यसपाली । ***
तपाईहरुको कस्तो भयो कुन्नि ?

(तपाईहरुको पनि तिहार कस्तो भो, छोटा र सटिक अनुभवहरु लेखेर पठाउन सक्नुहुने छ । नेपालीमा टाईप गरी पठाईएकोलाई प्राथमिकता दिईने छ ।)

तपाईको प्रतिक्रिया