टोकियो – मासुमसला लगायतका दैनिक उपभोग्य सामानहरुकासाथै तिहारको लागि टिकामाला, भाइमसला किन्नेहरुको लर्को उतिकै छ, नेपाल फोन गर्नका लागि टेलिफोन कार्ड किन्नेहरुको झन कुरै नगरौं, उनीहरुलाई पनि यहिबेला झन चटारो परेको छ । उता तिहार खर्चका लागि नेपाल पैसा पठाउनेहरु पनि रेमिट्यान्स जति यहि केन्द्रित भएकाले उनीहरु झन आउने नै भए । नेपाली जिब्रोका लागि भान्सामा नभई नहुने खाद्यवस्तुमा छाला भएको खसीको मासु, मरमसला, बेसार खुर्सानी, लोकल कुखुरा, गुन्द्रुक, साँधेको अचार लगायत खैनीसुर्ती तथा पानपरागका अम्मलीहरु पनि झर्ने नै भए ।
ओ हो ! चाडपर्वले साँच्चिकै छुने गर्दछ बिदेशमै भएपनि नेपालीहरुलाई । माथिको दृश्य हो भाइटिकाको अघिल्लो दिन नेपालीगाउँकै झझल्को दिने सिनओकुबोमा देखिएको चहलपहलको ।
उपल्लाघरे पण्डितबाजेका छोरा पनि चोकैमा भेटिन्छन् र प्याच्च भुईंमा सुर्ती थुक्दै भने – ‘हैन आज कसकाँ जमाउने हुन् कुन्नि खाल ? तिहार त मनाउने होला के रे । नमरे बाँचेपार आइसाल त होला के रे ।’ संगैकी उनका दुलही जमुना च्याँठिदैं भनिन् – ‘पर्याछैन खाल-साल जमाउन खुरुक्क घराँ गएर नेपालाँ फोन अर्नी हो का बूढा… ।’
ठिक त्यति नै बेला मैते माईलो मुसुमुसु मुस्कुराउँदै त्यहि आएर थपिन्छ – ‘म त गाक्काँ बिदा लिएर आ’को बर्ष दिनको तिहाराँ हात त हेर्न त परो के रे ।’ यसरी एकपछि अर्को गर्दै त्यहि चोकमा एक खालको टिम तयार भएपछि उनीहरुको एक हुल एकातिर लाग्छन ।
साथीभाइ भेट्न, नेपाल पैसा पठाउन, किनमेल गर्न, खबरखाबर छाप्न-छपाउन नेपालीहरु सिनओकुबोमा आउने गर्दछन् । त्यसै पनि नेपालीहरुको केन्द्र बन्दै आएको सिनओकुबोमा चाडपर्व र बिशेष अवसरमा नेपालीहरुको चहलपहल ह्वाट्टै बढ्ने गर्दछ ।
केहि बर्ष अगाडिसम्म खासै नेपालीहरु भेटिदैनथे सिनओकुबोमा । आक्कल-झुक्कल कोही भेटिईहाल्यो भने पनि मान्छेहरु जिब्रो काढ्ने गर्दथे र भन्थे, फलानो त सिनओकुबोमा घुमिरा’थ्यो बाई… । मेरीबाबै …यल्ले त नेपालीको नाकै काट्ने’भो भन्ने गर्थे । हुन पनि दिउँसैदेखि बाटाभरि शिकार ढुकेर बसिरा’का हुन्थे मसाजको नाममा अरु के के धन्दा चलाउने बिदेशी मैंयाहरुको ताँती । हाम्रो कुरौटे नेपाली समाजको के दोष ? जिब्रो काढ्ने नै भयो ।
कालान्तरमा यहाँको नेपाली लक्षित क्रमिक बिकासले नकारात्मक छाप बिस्तारै मेटाउदै लग्यो । यहाँका फरक फरक प्रकृतिका ब्यवसायहरुको स्थापनाले मानिसहरुको सोंचमा पुरै परिवर्तन आयो ।
खासगरी नेपाली हलाल फुड, नेपाली मिडिया हाउसको स्थापना, जापानमै पहिलोचोटी खुलेको दोहोरी र खाजाघरको स्थापना, पछिल्ला दिनमा आएका रेमिट्यान्स कम्पनी, सस्तो तरकारी पसल, चाईनिज- कोरियन फ़्रोजन पसल र यातायातको दृष्टिले एउटा मात्र गेट भएको सबैभन्दा सजिलो स्टेशन जस्ता कारणले अनपेक्षितरुपले बसाईसराई गरी धेरै नेपालीहरु यहाँ आउन थालेपछि यो ठाउँ नेपालीहरुको जमघटको लागि राम्रो केन्द्र बन्दै गएको यहाँका पुराना नेपालीहरु बताउँछन् । हुँदा हुँदा यो वार्ड नै टोकियोको सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने वार्ड बन्न पुगेको सम्बन्धित निकायका अधिकारीहरुले नै बताएका छन ।
ब्यवसायिक तथा सामाजिक हिसाबले नेपाली समुदायको लागि केन्द्रकोरुपमा बिकास हुँदै गएको यो ठाउँलाई अस्वस्थ्य प्रतिस्पर्धा एवं खुट्टा तान्ने नेपाली रोगबाट अलग राख्दै सन्तुलित ब्यवस्थापन गर्न सके यहां अरु पनि प्रशस्त संभावनाहरु अझै बाँकी छन् ।
एकजना भुक्तभोगीका अनुसार सानै स्केलमा भएपनि जापानमा सबै चीज छन् रे । त्यसैले त जापानलाई उनी मिनी नेपाल भन्न रुचाउँछन । उनकाअनुसार जापानमा राजनीति गर्नका लागि छोटे पार्टी छन्, तिनका पुड्का नेता पनि छन, धेरै रहरले थोरै ब्यवसायिक खाले मिडिया पनि छन्, आफुले कहिल्यै केहि लेख्नै नपर्ने सँधै कपिपेष्टले गुजारा चलाउने पत्रकार पनि छन् । कलम छुनै नपर्ने पत्रकार पनि छन् अलपत्रकार पनि छन। बिभिन्न जातजाती, धर्म, भाषाभाषी, गाउँटोल र जिल्लैपिच्छेका सँघसँस्था पनि छन् । धेरै पढेका बिद्वान पनि छन् मुर्ख पनि छन्, पटक्कै नपढेका मुर्ख पनि छन् बिद्वान पनि छन् । हाटबजार छन्, जात्रामात्रा छन्, मेला छन । एउटाले शुरु गरेर हुन्छ कि क्या हो जस्तो लागे अर्कोले पनि ठ्याक्कै त्यहि नै शुरु गर्नैपने कपिपेष्टमा माहिर ब्यवसायी पनि छन् । अरुले चलाएर चलेको देखेपछि हाकाहाकी दोहोरी शुरु गरेर न आफुले चलाएर देखाउन सक्ने न अरुलाई गर्न दिने स्वनामधारी भद्र समाजसेवी तर छुद्र ब्यवसायी पनि छन् । एउटा कविता लेख्नै नपर्ने साहित्यकार पनि छन् साहित्य धेरै जानेका तर असाहित्यकार पनि छन् । उड्ने बिबि एयेरवेज पनि आ’काछन्, गुड्ने पिबि ड्राइभिङ स्कुल पनि भा’का छन् । यही बसीबसी नेपालमा बिजुली पनि बाल्ने भा’काछन, भुराभुरी पढाउने स्कुल पनि खोल्न ला’का छन् ।
यहाँ धनाढ्यमा धनिराम पनि छन्, डुबुल्कीप्रसाद पनि छन् । पाखुरे पनि छन्, डन पनि छन, उनीहरु आफैले मै बलियो भन्छन । जगल्टे छन्, मुन्द्रे पनि छन, अनि मरञ्च्यांसे पनि छन्, सुलसुले, काँतर, पानीमरुवा पनि छन् । आफु भने फिटिक्कै केहि नगर्ने अरुको कुरा मात्रै काट्ने, छुरा मात्रै चलाउने अल्छि ढ्याग पनि छन् ।
उनै महाशयकाअनुसार यो मिनी नेपालमा यतिबिघ्न सबैचीज भएपछि अब बाँकी भनेको एउटा मन्दिर मात्र रे । एकजना दानीले एउटा मन्दिर बनाएर प्रवचन शिरोमणि दीनबन्धु पोखरेललाई जापान बोलाएर महापुराण लाउन सके साह्रै राम्रो काम हुने उनको जिकिर छ । रसिक स्वभावका पुराण शिरोमणि पोखरेलजीलाई रोपोंगीतिर घुम्न पनि हुने । त्यो काम गर्नका लागि छातीमा रौं भएको सँस्था महाशयले अझै देखेका छैनन रे । शुरुशुरुमा त उनलाई अलिअलि आशा ए’नारानले गरे हु’ नि भन्ने लागेको थियो रे अब त उनी ए’ नारानको पनि खुट्टीको चालले थाहा पाइयो भन्न थालेका छन् । मठमन्दिर, धर्मकर्म र भजनकिर्तनजस्ता कार्य गर्न ए’नारानको बिधि- बिधानमा पनि हुनु पर्यो नि ! विचरा ती महाशयलाई के थाहा ! हैन र ? ***