Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

यतिखेर हाम्रो मुलकभरि तीजको रौनकताले छाएको छ । सानो राष्ट्र नेपालमा हिन्दुधर्म अन्तर्गतको एउटा महिलाहरुले मात्रै मानिने तीज पर्वले सिंगो देश नै रातो र हरियो साडीमय बनेको आभाष मिलेको छ । नारी होस या पुरुष सबैको आँखा रातो र हरियो रंगमा ठोक्किएको छ । त्यसैगरी टलक्कै टल्केका पहेंला गहनाहरुमा सबैको मन लोभिएको छ, रौसिएको छ र हौसिएको छ । यहि मौका छोपी सुनको भाउले पनि गतिलो चौका हानेको छ अर्थात सुनको मुल्य अचाक्ली आकाशिएको छ । यो तीजको तडक भडकले ब्यापार व्यवसाय फष्टाउने एउटा गतिलो माध्यम बन्न पुगेको छ ।

सँधै बजार भाऊ बढ्यो बढ्यो भनेर जिब्रो काढ्ने सर्बसाधारणहरु गरगहना र साडी त जति महँगो भए पनि किन्न नछोड्ने रहेछन । यही नै नेपालीको एउटा नराम्रो रोग र अचम्मैको बानीले गर्दा नै बजार भाउ नै बिग्रेको हो कि ? भनेर लख् काट्न सकिन्छ । दिनप्रतिदिन यस्तै चाल हो भने भोलीका दिनहरुमा तीज पर्वको अस्तित्व नरहने हो कि ? पहिचान नै नछुट्टिने हो कि ? महत्व पनि घट्दै जाने हो कि ? भन्ने सबैको चिन्ताको बिषय बन्दै आएको छ । यसतर्फ सम्बन्धित निकायहरुबाट एउटा दीर्घकालिन र सान्दर्भिक संस्कार बसाल्ने पहल हुन जरुरी छ । तर यस्ता संबेदनशील कुराप्रति कसैको ध्यान जान सकेको देखिदैन त्यही नै दुःखको कुरा छ । ‘जसो पर्छ, त्यसै तर्छ जे छ त्यसैले जिबिका चल्छ’ भन्ने संस्कारलाई हाम्रो समाजले अनुसरण गर्दै आएको पाईन्छ । हाम्रा पर्वकै कारणले समाजमा धेरै नै बिकृति र विसंगति फैलिदै आएको तितो सत्यप्रति किन सबै मौन छन ? अव भने नेपालका केहि चाडपर्वहरु कसरी सरल र सुलभ तरिकाले मनाउने भन्ने बारे हामी सबै समयमै सचेत र गम्भिर हुनै पर्छ जस्तो लाग्छ । यहाँ कसैको घरमा नुनले पनि बास गर्न सकेको छैन तर कसैको घरमा भने सुनैसुनको रन्को मच्चिएको छ । धनि र गरिब छर्लंग तौलिन मिल्ने पर्व मध्य यो तीज पनि हो भन्दा फरक नपर्ला । भावनात्मरुपमा सबैको घरदैलो र मनमन्दिरमा तीज नजिकिए पनि मानसिक र भौतिकरुपमा तीजले निकै भेदभावको प्रभाव छोड्ने गरेको पाईन्छ । यो पबित्र पर्वलाई भडि्कलो नयाँ सामाजिक संस्कारले अपबित्र तुल्याएको महसुस गर्न सकिन्छ । तीज आयो भन्दैमा तँ भर्दा म के कम झैं गरेर ‘ह्वाई भन्दा ख्वाई धेरै, ज्वाँइ भन्दा लवाई ठूलो’ किन गर्नुपरेको छ र ? तीज पर्वलाई सभ्य र जीवन्त राख्ने नै हो भने र श्रद्धापूर्वक र भावपूर्ण तरिकाले मान्ने नै हो भने आम नेपाली नारीहरुमा अझै चेतनाको अभाब खड्केको देखिन्छ । तीज पर्वलाई चाहने नै हो भने अहिले चलेको तीज भन्दा नितान्त फरक र पवित्र तरिकाले मनाउन सकिन्छ ।

मानसिक, सामाजिक र ब्यबहारिकरुपमा सिर्जनामुलक, चेतनामुलक, आवाजमुलका र सन्देशमुलक ढंगले मनाउन पनि सकिन्छ । धार्मिक हिसाबले तीजलाई जसरी परिभाषित गरिएको छ त्यो अनुरुप फिटिक्कै हुन सकेको छैन । तीजलाई कसैले नारीको ब्यथा र बेदना पोख्ने पर्व हो भनिन्छ भने कतै फेरी तीजलाई प्रेमपर्व पनि भन्ने गरिन्छ । त्यो पुरानो रितिरिवाज, धर्मसंस्कार, बिश्वास र आस्था भन्दा पनि यो नयाँ पुस्ता भनाउदाहरुको चरम ईच्छा, चाहना र महत्वाकांक्षाले तीजलाई नराम्रोसँग भाँडेको र मोडेको पाइन्छ । हरे शिव हुँदा हुँदा तीजकै नाममा हाम्रो समाजले नै पचाउन नसक्ने खाले कस्ताकस्ता उत्ताउला गीतहरु निस्कन थालेका छन । साँच्चिकै, यो तीजकै निहुँ पारेर गीतसंगीत क्षेत्रको ब्यबसाय फष्टाउने र चर्काउने धरिया पो हो कि जस्तो लाग्दै छ । आजभोलीका तीजे भाकालाई तीजको गीत भन्ने की रत्यौली गीत ? छुट्याउनै गाह्रो हुन थालेको छ । कमसेकम रत्यौलीको मझेरीमा त पुरुषको उपस्थितिलाई निषेध गरिएको हुन्छ, तर केहि समय यता तीजेखालमा र भाकाहरुमा खुलमखुल्ला छाडापन आउन थालेको छ । तीजका गीत गाउने र नाँच्नेहरु उत्ताउला हुन कि तीज पर्वनै उत्ताउलिएको हो ? सोच्नैपर्ने भएको छ । हरे.. शिव ! कस्तो जमाना आयो, पर्वको नाममा बिकृति ल्यायो महङ्गा साडी र गरगहना लगाएर कहिलै सुशील, सभ्य र भलाद्मी भईदैन । क्षणिक खुसी र सुखमा लालायित हुने र लाएर खाएर मात्रै भुल्ने समय यो पक्कै हैन । अवश्यकता भन्दा धेरै लाउने र खानेको प्रतिस्पर्धा गर्नाले समाजमा नसोचेको घटनाहरु घट्दै आएका छन् । यो सँधै खाने, लाउने र रमाईलो गर्ने भन्दा अर्को दुनियाँ नै छैन कि झैं गरेर सिंगो जीवन काटेर अधिकांश नेपाली नारीहरु जन्मिए अनि मरे कुनै लेखा जोखा नै छैन । अझै पनि यो २१ औं शताब्दिका हौ भनिने नेपाली नारीहरुमा परिवर्तनको अभाव खडि्कएको छ र चेतनाको खाँचो देखिन्छ । केवल एक दिन मनाइने पर्वको नाममा धुमधामसंग गरगहना र तामझाम गर्नुपर्ने बढ्दो चलन आबश्यकता भन्दा बाहिर गएको देखिन्छ । यसो गर्दा न आत्माले शान्ति पायो न नाकमा बोसो नै आयो फ्वाँक्कैमा । बरु परिवारमा नभएको रडाको निम्त्याउने काम मात्रै नहोला भन्न सकिन्न । यति भनेर हाम्रो तीज पर्वको उपहास गर्न खोजेको भने हैन । हाम्रा समाजमा मौलाउँदा विकृतिबारे कोट्याएको मात्रै हो । जहाँ जहाँ यो नेपालीतन, त्यहाँ अबश्य नेपालीपन, चाहे किन नहोस पराईको बन, त्यहाँ जसरी पनि नेपालीमन भनिएझैं नेपालमा हुनेले के तीज माने होलान् र ? त्यो भन्दा धेरै जापानमा धुमधामसंग मनाउने गरेको पाईन्छ । जन्म दिने बाबुआमा बाहेक पैसो भए हरेकचीज पाइने यो सातसमुद्रपारिको देश जापानमा पनि तीज आउनुभन्दा एक महिना पहिलैदेखि नेपाली दिदीबहिनीहरु आपसमा निम्ता गर्ने ३०, ३५ जना जम्मा हुने घरदेश र माइतीको सम्झना गर्दै मिठो चोखो खाएर नाच्ने र गाउने गर्दै आएका छन । त्यति मात्रै हैन जापानका पार्क, चोक र सडक हुँदै तीजेभाका घन्किएका छन, राताराता र हरिया साडी फन्किएका छन ।

एक दशक अगाडिसम्म जापानबासी नेपालीहरुले तीजलाई हेर्ने हेराई र तिनै नेपालीको यतिखेर तीजप्रतिको धारणा आकाश जमिनको फरक रहेको पाईन्छ । तत्कालिन समयमा सीमित ब्यक्तिको पहलमा पराईभूमिमा पहिलोचोटी तीज मनाउने चलन बसाल्न निकै गाह्रो भएको थियो । पूर्णरुपले हुर्किन झन्डै एक दशक नै लाग्यो । कुनै राम्रो कामको थालनी मात्रै गर्नुपर्छ सबैको साथ र सहयोग पाइदोंरहेछ र आफै हुकदो रहेछ, जग मात्रै बसाल्न गाह्रो रहेछ भन्ने कुरा बल्ल अहिले आएर प्रमाणित भएको छ । तत्कालिन अवस्थामा यदाकदा व्यक्तिहरुले भन्ने गर्थे – थाहा छ यो त जापान हो जापान, यो नेपाल हैन यो जापानमा पनि के को तीज ? के को रातो साडी ? के के न तीज मनाउने भएकि ! भनेर हप्कीदप्की पनि नगरेका हैनन् तर जसले जे भने पनि पछि नहटिकन निरन्तर अगाडि बढाउंदै संस्थागत वा व्यक्तिगतरुपमा नारी र पुरुषहरुको सहयोग र प्रेरणाले आजको अवस्थामासम्म आएर धेरै कुरा देख्न पाईएको छ । अझ यात्रा धेरै नै बाँकी छ र बर्षेनी झन भन्दा झन जिम्मेवारी थपिदै गएको छ । जसको फलस्वरुप एकाएक जापानमा तीज पर्व मनाउने क्रम फष्टाउँदै आएपछि कसैलाई कमाउने भाँडो भएको छ भने कसैलाई लुतेसंस्था उकास्ने भर्‍याङ भएको छ । नेपाली दिदीबहिनीहरुलाई के तीज आउथ्यो ? तीज त नेपाली दाजुभाईहरुलाई पो अझ आउने गरेको पाईन्छ। तीज कार्यक्रमको आयोजना गर्न अचेल त नेपाली दिदीबहिनीहरु हैन लाजै नमानी नेपाली दाजुभाइहरु पो मारामार र हारालुछ नै गर्न थालेका छन् । नेपाली दाजुभाइहरुको यस्तै चाला हो भने कुन दिन नेपाली नारीको पर्व नारीहरुले नै मनाउन नपाइने हो कि भन्ने पिर हुन थालेको छ । एक हिसाबले यसरी हानाथाप हुनु भनेको नराम्रो त हैन तर नेपाली-नेपाली बिच आपसी भाइचारामा तुषारापात नजन्मियोस भन्ने चिन्ता मात्र हो । ***

तपाईको प्रतिक्रिया