Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

थसेस जापानको २१ औं साधारण सभा सम्पन्न

टोकियो- आइतवार टोकियोमा सम्पन्न थकाली सेवा समितिको २१ औं साधारण सभाले पुनः शरदकुमार गौचनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

थकालीहरुको महान चाड फागुपूर्णिमा ‘तोरन्ल्ह’ तथा नेपाली नयाँ बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमसहित एघारौं साधारण सभा सम्पन्न भएको हो ।
लुम्बिनी भ्रमण बर्ष-२०१२ का लागि अबैतनिक दूत  तथा ज्येष्ठ उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी बिश्व कीर्तिमानी कायम गर्ने मिनबहादुर शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा उई लभ नेपाल डट कमका प्रधानसम्पादक सोनाम शेर्पा, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाल जापान डट कमका प्रधानसम्पादक शरद शेरचन, नेपाल जापान साँस्कृतिक तथा मैत्री संघका अध्यक्ष बिनोद शेरचन, थसेस जापानका अग्रज नपेन्द्र भट्टचन र दिपक भट्टचन बिशेष अतिथिकारुपमा उपस्थिति रहेको थियो ।

साधारण सभाको प्रमुख अतिथि शेरचन तथा बिशेष अतिथिहरुले सामुहिकरुपमा ब्यानर खोलेर उदघाटन गर्नुभएको थियो । तत्पश्चात थकाली पहिरनमा सजिएका थकाली महिलाहरु दिना गौचन, समी शेरचन र चिजु भट्टचनले थकालीहरुको चार देवता र नरिझयवलाई पूजा अर्चना एवं खिमि झोजी
(पितृ पूजा) गरेका थिए ।

समारोहमा समितिका सहकोषाध्यक्ष तथा खेलकुद संयोजक दिपक गौचनले स्वागत मन्तब्यसहित खेलकुद उपसमितिको तर्फ़बाट बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष बुद्धि गौचनले सँस्थाको आयब्यब्य प्रतिवेदन पावर-प्वाईन्ट मार्फत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी वेभ कमिटीका संयोजक शरद शेरचनले पनि आफ्नो उपसमितिको गतिबिधि प्रष्ट्याउनुका साथै आजको २१ औं शताब्दीमा सूचना र प्रविधिको महत्व बारे प्रकाश पार्दै सूचना र प्रविधिको भरपुर उपयोग गरी संस्थाको गतिबिधिहरु अगाडि बढाईनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी महासचिब अनिल भट्टचनले २ बर्षको कार्यकालमा संस्थाले नेपालमा गरेको आर्थिक सहयोग, गत बर्षको भूकम्प तथा सुनामीका बेला गरिएको उद्वार कार्य लगायतका कार्यप्रगति बिवरण एवं संस्थाका अन्य गतिबिधि सम्बन्धी कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिबेदनहरुलाई सभाहलबाट तालीको गडगडाहटबाट पारित गरिएको थियो ।

यसैगरी सँस्थाको गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्ग निर्देशन गर्दै समितिको मान, मर्यादा र प्रतिष्ठा उच्च बनाउने कार्यमा योगदान गरेबापत अनलाईन पत्रकार सोनाम शेर्पा, समाजसेवी राजु हिराचन, समाजसेवी जापानीज मोचिजुकि कियोहिको, समितिका कोषाध्यक्ष बुद्धी गौचन र सल्लाहकार नपेन्द्र भट्टचनलाई अध्यक्षद्वारा सम्मान पत्र र खादार्पण गरी सम्मान गरिएको थियो । त्यसैगरी बिश्वकै जेष्ठ नागरिककोरुपमा सर्बोच्च शिखर सगरमाथा आरोहण गरी बिश्व कीर्तिमानी तथा लुम्बिनी भ्रमण बर्ष -२०१२ का अबैतनिक सदभावनादूत मीनबहादुर शेरचन र गत मार्च १८ मा सम्पन्न २१ औं शुभकामना साँझको स्थानिय कलाकारहरु क्रमशः सन्तोषी गौचन, प्रमिला डंगोल (गौचन), शारदा भट्टचन, स्परट भट्टचन, सोनी भट्टचन, अपेक्षा लिम्वु र सञ्जिमा शेरचनलाई पनि सम्मानसहित खादार्पण गरिएको थियो । सो अवसरमा थकाली समुदायका नवविवाहित जोडी राजु शेरचन तथा समि शेरचन, बिश्वबिद्यालय ग्य्राजुयट बिद्यार्थी सन्तोषी गौचन एवं जापानमा नवआगन्तुक चिजु भट्टचन र राजेन्द्र शेरचनलाई पनि संस्थाको तर्फबाट बधाई, तथा सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि शेरचनले बि.स. १९८८ असार ६ गते म्याग्दी जिल्लामा जन्मिएर ७२ बर्षको उमेरमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली लगायतका ठाउँमा पैदल यात्रा गरिसकेको र २००८ मे २५ तारिखका दिन ७६ बर्षको उमेरमा सफलतापूर्वक बिश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर बिश्वकै ज्येष्ठ नागरिककोरुपमा गिनिज वल्ड बुकमा रेकर्ड राख्न सफल भएको जानाकारी गराउनु हुँदै फेरि २०१२ साल भित्र ८१ बर्षको उमेरमा पुनः सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गर्ने योजना रहेको जानाकारी दिनुभयो । उहाँले राष्ट्रको बिकास र पर्यटन प्रवर्द्धनका लागि निरन्तर लागिपरेको र बिदेशी कम्पनीको नाममा नभई आफ्नै स्वदेशको नाममा बिश्वको सर्वोच्च शिखर आरोहण गर्न चाहेको बताउँदैं त्यसको निमित्त केहि आर्थिक सहयोग नेपाल सरकारको तर्फबाट प्राप्त भएको, केहि नेपालमै संकलन भईरहेको र बाँकी केहि आर्थिक सहयोगका लागि एनआरएन जापान लगायत यहाँका बिभिन्न संघसंस्थालाई अनुरोध गर्ने मनस्थितिमा रहेको धारणा ब्यक्त गर्नुभयो ।

पहिलो चरणको कार्यक्रमलाई समापन गर्दै समारोहका सभापति तथा समितिका अध्यक्ष शरदकुमार गौचनले आफु थसेस जापानको स्थापना कालदेखि हालसम्म २१ बर्षसम्म निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तीतामीठा अनुभवसहित थसेस जापानको ईतिहास लेख्न हरपल लागिपर्ने प्रतिबद्धता जाहेर गर्दै आफ्नो २ बर्षको कार्यकालमा सहयोग गर्ने सम्पूर्ण जापानबासी थकालीहरु एवं सहकर्मी टिमलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो । साथै उहाँले बर्तमान कार्यसमिति भंग भएको जानकारी गराउँदै सभालाई बन्दसत्रमा प्रवेश गराउनुभएको थियो ।

तत्पश्चात निर्वाचन कमिटिका संयोजक शरद शेरचनद्वारा थसेस जापानको आउँदो कार्यकालको लागि पुनः शरदकुमार गौचनकै अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको घोषणा गर्नुभएको थियो । जसअनुसार उपाध्यक्षहरुमा क्रमशः शशि गौचन, अनिल भट्टचन र दिपक गौचन, महासचिबमा राजु शेरचन, सचिबमा हेमन्तकुमार शेरचन र सञ्जिब गौचन, कोषाध्यक्षमा बुद्धि गौचन, सहकोषाध्यक्षमा लेनिन भट्टचन र घनश्याम भट्टचन रहनुभएको छ । यसैगरी सदस्यहरुमा, सादगी तुलाचन, सन्तोषी गौचन, धन शेरचन, यशोदा गौचन, हिक्मत गौचन, सुरज शेरचन, अरुण भट्टचन, जयकार शेरचन, बिकल भट्टचन, हिरा शेरचन, जीवन भट्टचन, बिज्ञान गौचन र सुमन गौचन चयन हुनुभएको छ । यसैगरी समितिको सल्लाहकारहरुमा, बिनोद शेरचन, दिपक भट्टचन, प्रकाश तुलाचन, बुद्धि शेरचन, मनोज तुलाचन, बिजय गौचन र गोविन्द तुलाचन रहनुभएको छ भने बिशेष सल्लाहकारहरुमा ध्रुब भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचनलाई चयन गरिएको छ । संरक्षकमा भने डा. योगेन तुलाचन यथावत नै रहनुभएको छ ।
नबनिर्वाचित कार्यसमितिका अध्यक्षलाई प्रमुख अतिथि मीनबहादुर शेरचनले खादार्पण गर्दै पदिय गोपनियताका साथै सपथ ग्रहण गराउनु भएको थियो भने नबनिर्वाचित अध्यक्षले कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएकोथियो ।

दोश्रो चरणको कार्यक्रममा बिविध साँस्कृतिक कार्यक्रमको शुरुआत सँगै राजु शेरचनको डिजे धमाकाले उपस्थित महानुभावहरुलाई अन्तसम्म भरपुर मनोरन्जन गराएको थियो ।

सम्पूर्ण कार्यक्रमको सञ्चालन उपाध्यक्ष अनिल भट्टचनले गर्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापनको जिम्मा भने संयोजक लेनिन भट्टचन, सहसंयोजक घनश्याम भट्टचन र सदस्य सञ्जिब गौचनले लिनुभएको थियो । कार्यक्रम टोकियोको हामामाचुच्योस्थित मन्दिर रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

पुन: थसेसको अध्यक्षमा निर्वाचित गौचन एनआरएन जापानका प्रवक्ता समेत हुनुहुन्छ भने उहांले लामो समयदेखि जापानको नेपाली समुदायमा बिभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । जापानबाट प्रकाशित हुने नेपाली समाचार साप्ताहिकका पूर्व सम्पादकसमेत रहेका गौचनलाई हार्दिक बधाई तथा कार्यकाल सफ़लताको कामना ।  ***

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया