मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

यहाँ,
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ,
काम नगर्नेहरु बाट नै
भाषण ठुलो ठुलो छाटिन्छ
टिटिमाइले आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह
भोली अर्कै कुरोको हल्लाह छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यो शहरको बाहिर एउटा
भित्र अर्कै खोल छ
मान्छे पिच्छे यहाँ
मान्छे मान्छे बिच मोल छ
निमुखाहरु बिचरा छन
बलिया बाङगाको बोल छ
हेर्दा तडक र भडक सबैको
बुझ्दा भित्र धेरै डामाडोल छ
आजको भाले त्यो
भोली त त्यो चल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ घरै पिच्छे
तुम्बा र ठर्राको भट्टी छ
भट्टी भित्र
मन बहलाउने अधबैसे पट्ठी छ
नगद नारायणलाई स्वागत
उधारो माग्नेलाई कट्टी छ
बहिर छेक्ने पर्दा भए पनि
भित्र सबै खुलमखुल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

ठग्नेहरु पनि यही
ठगिनेहरु पनि यही
जती शुद्दता कुरा गरे पनि
हरेक खाधान्यमा माटोको डल्ला छ
हिजो पनि
आज पनि
सरकारको सधैं
करबाही गर्छु भन्ने हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ,
हरेकको आफ्नै दाउ छ
सोझा साझालाई घुमाउ छ
टाठा बाठाको सधैं भाउ छ
मै हुँ भन्नेको पनि यहां बाउ छ
हिजो कै नहुनेहरु आज
गगन चुम्बी भब्य गाऊ छ
देखाउने एउटा
बेच्ने अर्कै गल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!! ***

तपाईको प्रतिक्रिया