आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
बाग्लुङ– नेकपा एमालेका नेता केपी ओलीले लडाकुलाई देखाएर रकम असुल्ने बहानामा माओवादीले शान्ति प्रक्रियालाई लम्बाएको आरोप लगाएका छन् । ‘लडाकुका नाममा रकम कुम्लाउने,’ ओलीले भने- लडाकुको व्यवस्थापन नगरेर शान्ति प्रक्रियालाई अल्झाइराख्‍ने दाउ हो ।
अस्थिरताकै बीचमा नयाँ चुनावमा जाने र सो रकम प्रयोग गरेर फेरि चुनाव कब्जा गर्ने रणनीति माओवादीको रहेको उनको टिप्पणी थियो । नेकपा एमालेको सङ्गठन सुदृढीकरण एवम् जनपरिचालन अभियानअन्तर्गत धौलागिरी अञ्चल समितिले मङ्गलबार बाग्लुङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्‍घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले अब क्याम्पमा राखेका लडाकुलाई तलब भर्न नसकिने पनि बताए । ओलीले माओवादीका कारण शान्ति प्रक्रियाले गति लिन नसकेको बताए । उनले भने- लडाकुलाई व्यवस्थापन नगर्दासम्म नयाँ संविधान जारी हुन सक्दैन ।’ माओवादीले बहिर्गमनमा परेका लडाकुलाई उचालेको आरोप लगाए। ‘अयोग्य ठहरिएका लडाकुलाई माओवादीले फेरि विभिन्न बहानामा उचालेर रकम कुम्लाउने दाउ गरेको छ’- उनले भने ।
सर्वोच्च अदालतको फैसला उनले घुमाउरो पाराले ठीक भने । ‘सङ्क्रमणकाललाई टुङ्ग्याउनुपर्छ,’ ओलीले भने- दुई वर्षको अवधि बन्नुपर्ने संविधान चार वर्षमा पनि बन्न सकेको छैन । यस्तो अवस्थामा यसलाई निरन्तरता दिनुको कुनै औचित्य छैन ।
कङ्ग्रेस, एमालेलाई साँढे सातको दसा लागेकाले सत्ताको नेतृत्व माओवादीको हातमा पुगेको बताएका छन् । ‘लामो अनुभव भएका लोकतान्त्रिक शक्तिहरु बाहिर रहेका छन्,’ ओलीले भने- दुई, चार घर आगो लगाएर, ढुङ्गामुढा गरेर झरीमा आएका पार्टी सरकारमा पुगेकाले मूलुकको शान्ति प्रक्रिया अगाडि बढेन ।
माओवादीलाई विश्वास गर्दा फसिएको पनि उनले बताए । ‘माओवादीले विगतमा गरेका सम्झौता कार्यान्वयनमा ल्याएको छैन,’ उनले भने- विश्वास गर्दा फसिएको हो । अब प्रतिबद्धता होइन, कार्यान्वयन गर्नुपर्छ ।’ प्रशिक्षण कार्यक्रममा ओलीसहित, उपाध्यक्ष वामदेव गौतम, महासचिव शङ्कर पोख्रेल, सचिव ईश्वर पोख्रेललगायतका नेताहरु बाग्लुङ आइपुगेका छन् ।
तपाईको प्रतिक्रिया