Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024
दसैं टीकाको एक दिनअघि, गायक भक्तराजको जीवन कथामा आधारित चलचित्र ‘आचार्य’ हेर्दाहेर्दै म पटक-पटक ‘नोस्टालजिक’ भएँ, भावुक बनें । झूटो प्रशंसा नगर्ने हो भने, भक्तराज आचार्य कुनै महान् गायक होइनन् । त्यसमाथि उनी एक यस्तो युगमा गीत गाउँथे, जुन युगमा बच्चु कैलाश, नारायण गोपाल, गोपाल योन्जन, अम्बर गुरुङजस्ता गायन कलाका महायोद्धाहरू मैदानमा थिए । ती नामहरू आफैंमा यति धेरै चम्किला थिए कि उनीहरूका अगाडि अरू कोही संगीतकर्मी चम्कनु सहज थिएन । यति हुँदाहुँदै पनि, त्यस युगबाट प्रेमध्वज प्रधान, योगेश वैद्य, फत्तेमान, भक्तराज आचार्य, दीप श्रेष्ठ, ओमविक्रम बिष्ट आदि कलाकारको नाम झििकदियो भने नेपाली आधुनिक संगीतको आकाश अधुरो नै रहन्छ । भक्तराज आचार्यको नाम हटाउने हो भने नेपाली भक्ति संगीतको दुनियाँ त अनाथ नै हुन पुग्छ । भक्तराजजीलाई ‘भजन शिरोमणि’ उपाधि दिइएको छ । यो सब हुँदाहँुदै पनि म भक्तराज आचार्यका निम्ति गायक रूपमा ‘एक बेग्लै स्वर भएका उत्कृष्ट गायक’ भन्दा माथिको विशेषण प्रयोग गर्न असमर्थ छु । संगीतकारका रूपमा त उनी ‘औसत’ भन्दा अलि माथि मात्र हुन् ।
तर पनि ‘आचार्य’ ले मलाई भावुक बनाइदियो । हुन त आजसम्म मलाई भक्तराजजीसँग भेटको अवसर मिलेको छैन । तर यसपटक नवमीका दिन ‘आचार्य’ हेरेपछि, मलाई माया लागेर आयो, भक्तराजको जीवनसँग, अझ भनौं उनको परिवारसँग । साथै मलाई गर्व भयो भक्तराजका दुई होनहार सुपुत्र सत्य र स्वरूपमाथि, जसले जिब्रोको क्यान्सरले खोसेको  आफ्नो पिताको वाणीलाई ‘आचार्य’ मार्फत नेपाली मानसपटलमा पुनर्जीवित तुल्याएका छन् । कुनै पनि मातापिताका निम्ति आफूलाई यति राम्ररी बुझ्ने, अनुभूत गर्ने र अभिव्यक्तसमेत गर्ने सन्तान पाउनुभन्दा ठूलो भाग्य अरू के पो हुनसक्छ र ?
विषयगत र प्राविधिक दृष्टिकोणले सिनेमामा अनेक कमजोरी औंल्याउन सकिन्छ तर मूल कुरा त्यो होइन । कुराको चुरो के हो भने­ नेपालमा गीत, संगीत र कलाजस्ता ‘परफर्मिङ आर्ट’ का क्षेत्रमा लाग्ने तपस्वीहरूको जुन तस्बिर ‘आचार्य’ ले प्रस्तुत गरेको छ, त्यो तस्बिरमा नेपालका धेरै ज्ञात­अज्ञात साधकले आपmनै जीवनको धेरथोर छाया देख्ने छन् । एक भक्तराजको कथा देखाएर ‘आचार्य’ ले साहित्य, कला र संस्कृतिको क्षेत्रमा लागेका धेरै नेपाली साधकहरूले, आ­-आपmनो जीवन महसुस गर्ने विषादयुक्त ‘अन्तरद्वन्द्व’ दर्शकसामु राम्ररी पस्केको छ । चलचित्रमा भक्तराजको भूमिका गर्ने उनकै छोरा सत्यराज एक ठाउँमा भन्छन्, ‘कहिलेकाहीं लाग्छ, म संसारको सबैभन्दा भाग्यमानी मानिस हुँ, अनि कहिलेकाहीं लाग्छ म जस्तो अभागी यो संसारमा को पो होला ?’
हुन त, यो पाक्षिक स्तम्भ प्रकाशित हुने पूर्वनिर्धारित दिन शनिबार, असोज २८ सम्म ‘आचार्य’ काठमाडौंका सिनेमा हलहरूमा सम्भवतः बाँकी हुने छैन । कुनै नेपाली सिनेमा बजारमा किन बढी वा कम चल्छ ? भन्ने जटिल विषयमा म आज प्रवेश गर्न चाहन्नँ । ‘आचार्य’ जस्ता नेपाली चलचित्र हेर्नुभयो भने तपाईं निराश हुनु हुने छैन, अपितु त्यस्ता खाले चलचित्रले तपाईंको मनको कुनै न कुनै कुनालाई छुने छन् । ‘आचार्य’ कुनै अद्भुत  सिनेमा होइन तर यो तपाईं-हामी बाँचेको समाजको एक अविस्मरणीय कहानी अवश्य हो ।
प्राविधिक वा विषयगत हिसाबले विदेशी सिनेमा जतिसुकै उच्च स्तरको भए तापनि त्यसले तपाईं-हाम्रो मनको भित्री कुनालाई त्यति सजिलै छुन सक्दैन, किनभने ती सिनेमाहरूको आधार कथा भिन्न परिवेशमा हुन्छन् । परफर्मिङ आर्टको कुनै पनि विधामा ‘कन्टेकस्ट’ अर्थात् परिवेशले ठूलो महत्त्व राख्छ । तर अपवादबाहेक, नेपाली चलचित्रका लगभग सबै निर्देशकहरूले नेपाली परिवेशको पृष्ठभूमिमा चलचित्र निर्माण गर्न सकिरहेका छैनन् । कृपया याद राख्नु होला, यहाँनेर म नेपाली समाजको ‘परिवेश’ शब्दको प्रयोग गर्दैछु, नकि हाम्रा कतिपय अर्धशिक्षित र मूर्ख समीक्षकहरूले प्रयोग गर्ने ‘नेपालीपन’ शब्दको दुरुपयोग ! के हो नेपालीपन वा भारतीयपन वा अमेरिकीपन बोकेको सिनेमा भनेको ? यो प्रश्नको उत्तरमा बकमफुस्से सतही तर्क र कार्यपत्र प्रस्तुत गर्न जति सजिलो छ, यथार्थ त्योभन्दा धेरै जटिल छ । एकै छिनका लागि मानी लिउँ कि हामीले ‘नेपालीपन’ बोकेको सिनेमा ‘यस्तो’ हुन्छ, नेपालीपन बोकेको सिनेमाका ‘यति थान हातखुट्टा’ हुन्छन् भनेर परिभाषित गरिहाल्यौं भने पनि त्यो परिभाषा कति कालखण्डका लागि मान्य हुन्छ ? साँच्चै भन्ने हो भने, राम्रा सिनेमाहरू परिवेशको बृहद् आकाशमा निर्माण हुन्छन् न कि अल्पज्ञानको सीमित परिभाषामा । एक राम्रो सिनेमाभित्र तपाईं-हाम्रो जीवनका अनुभूतिहरूको घामछाया परेको हुनु अनिवार्य छ । कतै न कतै, दूर वा नजिक क्षितिजमा, सिनेमाले जीवनका तीतामीठा अनुभूतिहरूलाई छोएको हुनैपर्छ ।
कला, साहित्य र संगीतको क्षेत्रमा फरक-फरक मानिसहरू अलग-अलग कारणले लागेका हुन्छन् । वास्तवमा भन्ने हो भने हरेक मानिसभित्र एक गायक, नायक वा लेखक लुकेर रहेको हुन्छ । जीवनको एक वा अर्को क्षणमा गीत नगुनगुनाएको, सिसा हेरेर आफैंसँग दंग नपरेको वा दुई/चार अक्षर गीत, कविता नकोरेको प्राणी संसारमा बिरलै हुन्छ होला । कागजमा अक्षर कोर्न नसक्नेहरूले पनि मनको कागजमा भावनाको मसीले केही न केही लेखेकै हुन्छन् । गीत गुनगुनाउन ‘प्रोफेसनल’ गायकझैं ‘सुर­ताल’ मिलेकै हुनुपर्छ वा नृत्य गर्न ‘स्टेप्स’ जानेकै हुनुपर्ने कुनै आवश्यक्ता छैन । संगीत, अभिनय र साहित्यको मुहान मानिसको मनभित्रै हुने भएकाले ऊ प्राकृतिक रूपले नै त्यतातिर आजन्म आकषिर्त भइरहेको हुन्छ । तर यी क्षेत्रप्रति आकषिर्त हुन जति सजिलो छ, व्यावसायिक सफलता पाउन त्यत्तिकै गाह्रो छ ।
मैले सिसा हेर्दा आफूलाई ‘हिरो’ ठाने तापनि वा मैले बाथरुममा गुनगुनाउँदा आफैंलाई नारायण गोपाल माने तापनि जनताले त्यो कुरा स्वीकार नगरेसम्म म एक ‘बाथरुम सिंगर’ भन्दा बढी केही हुन सक्दिनँ । मैले एक/दुई एलबम निकाल्दैमा वा दुई/चार पत्रिकामा लेखाउँदैमा म बाथरुम सिंगरको हैसियतभन्दा माथि पुग्न होइन । आजको दिनमा पनि मुम्बईको भिक्टोरिया रेल टर्मिनलमा हिरो, हिरोइन बन्ने सपना बोकेर नजाने कति आकांक्षीहरूको भीड प्रतिदिन ओर्लिरहेको हुन्छ । भक्तराजको पालामा झैं, आज पनि रेडियो नेपाल, गीत रेकर्डिङ कम्पनीहरू, एफएम स्टेसनहरू, टेलिभिजन स्टेसनहरू वा निर्माताहरूको ढोकामा आकांक्षीहरूको भीड अविरल कायमै छ, भविष्यमा पनि कायमै रहने छ । तर, यीमध्ये ज्यादै थोरैले सफलता पाउने छन्, बाँकी सबै कालक्रमसँगै हराउने छन् । ‘परफर्मिङ आर्टका’ सबै क्षेत्रहरूमा असफलताको दर ज्यादै माथि छ ।
कोही मानिसले आज शाखा अधिकृत पदमा जागिर खायो वा आफ्नै कुनै सानोतिनो पसल व्यापार गर्‍यो भने २१ वर्षपछि ऊ सांसरिक जीवनको कुनै निश्चित मुकामसम्म पुग्ने जति सम्भावना छ, त्यसको तुलनामा उसले नेपालमा साहित्य, कला वा संगीतजस्ता क्षेत्रको सेवा गर्‍यो भने जीवनको साँझ पर्ने बेलासम्म ऊ कतै कुनै ठाउँमा पुग्छ वा पुग्दैन ? यसै भन्न सकिन्नँ । कहींकतै पुग्ने त कुरै छाडौं, त्यो साधकले आफ्नो परिवारको पालनपोषण पनि राम्ररी गर्न सक्छ वा सक्दैन, यसै भन्न सकिँदैन । नेपालमा मात्र होइन, संसारभरि नै साहित्य, संगीत र कलाको क्षेत्रले आफ्ना साधकहरूबाट जुन प्रकारको साधना र धैर्यको बलिदान माग्छ, त्यो चढाउने मुटु थोरैमा हुन्छ । आचार्य हेरेपछि थाहा हुन्छ­ भक्तराजमा त्यो मुटु थियो । अनि पो उनी ‘आचार्य’ हुन सके ।
एक गायकका रूपमा मैले भक्तराजलाई महान् नमाने पनि ‘आचार्य’ हेरेपछि एक संगीत साधकका रूपमा भने म उनको महानताको अगाडि नतमस्तक भएँ । चियाबगानमा काम गर्ने एक गरिब मजदुर ‘भक्ते’ कसरी संगीतप्रति आफ्नो अदम्य प्रेम र साधनाले गर्दा कालान्तरमा भजन शिरोमणि भक्तराज आचार्यमा रूपान्तरित भयो- हेर्न, बुझ्नलायक कहानी छ यो । एक दिन शशांक कोइरालाले मलाई आफ्ना पिता बीपी कोइरालाको सम्झना यसरी सुनाउनुभएको थियो, ‘बाबा भन्नु हुन्थ्यो- जीवनको सफलता व्यक्तिले के कति हासिल गर्न सक्यो भन्ने आधारबाट मात्र मापन गर्न कदापि सकिँदैन । आफूले ठीक ठानेको लक्ष्यका निम्ति, त्यो व्यक्तिले पूरा प्रयत्न, पूरा प्रयास गर्‍यो कि गरेन भन्ने कुरा मूल हो ।’
चियाबगानको मजदुर ‘भक्ते’ गायक बन्न चाहन्थ्यो । गायक बन्ने सपना त धेरैले देख्छन् । तर आफ्नो सपनाका पछाडि पागलझैं दौडिने र त्यो क्रममा पटक-पटक लडेर, हरेकपटक उठ्ने र फेरि पागलझैं दौडिने साहस र योग्यता थोरैमा हुन्छ । ‘आचार्य’ सपना देख्ने मानिसहरूको कथा हो, आफ्ना सपनाका पछाडि पागलझैं दौडिनेहरूको कहानी हो ।  साहित्य, कला, संगीतकै सपना हेर्नुपर्छ भन्ने केही छैन, जुनसुकै क्षेत्रको हेरे पनि हुन्छ ।
हुन त ‘आचार्य’ भक्तराजको पुस्ताले भोगेको काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको चलचित्र हो, तथापि नयाँ पुस्ताले पनि यसमा आफ्नै प्रकारको सुगन्ध महसुस गर्ने छ । किनभने सहर जतिसुकै बदलिएको भए तापनि काठमाडौं उभिएको माटो त उही हो नि ! फूल झरेर गए पनि वातावरणमा सुवास त अझै बाँकी छ नि ! यो सुवास हराउनअघि नै बगैंचामा नयाँ फूलहरू फूलिसकेका हुनेछन् । ‘आचार्य’ मैले सपरिवार कुमारी हलमा हेरंे । फुर्सतको समयमा प्रायः इन्टरनेट र अंग्रेजी सिनेमामा मात्र रमाउने नयाँ पुस्ताका सदस्यहरूले पनि यो चलचित्र मन पराएको देखेर मेरो मनमा बेग्लै प्रकारको सन्तोष अनुभूत भयो । कतिपय चलचित्रकर्मी भन्छन्, ‘नयाँ पुस्ताका सहरिया युवाहरू नेपाली सिनेमा हेर्दैनन् । हेरिहाले पनि मन पराउँदैनन् ।’ सत्य के हो भने, हाम्रा अधिकांश चलचित्रकर्मीहरू नयाँ पुस्तालाई आकषिर्त गराउने खालका नेपाली चलचित्र नै बनाउँदैनन् । यदाकदा बनाइहाले पनि त्यसको सही ‘पब्लिसिटी’ मा चुक्छन्, जसरी ‘आचार्य’ चुक्यो ।
राजेश हमालसँग एकपटक टेलिभिजन वार्ता गरेको थिएँ । कला क्षेत्रको सुन्दरताका विषयमा उनी भन्थे, ‘मभन्दा अगाडिको पुस्ता अमेरिका वा नेपालको कुनै गाउँ पुगेर आयो भने त्यसले एक प्रकारका अनुभव बोकेको कथा लिएर आउने गर्थ्यो । तपाईं वा म त्यही ठाउँमा आज पुग्यौं भने अर्कै अनुभव बोकेर फर्कनेछौं । हामीपछिको पुस्ता हामी पुगेकै ठाउँमा गयो भने उसका अनुभव हाम्राभन्दा नितान्त फरक हुनेछन् । तर यी तीनथरी फरक-फरक पुस्ताका अनुभवहरू अलग-अलग भए तापनि केही अनुभूति सदा सर्वदा उही रहनेछन् । सय वर्षअघि एक प्रेमीले आफ्नी प्रेमिकालाई भेट्दा उनीहरूको मुहारमा जुन उज्यालो अनुभूति छाउँथ्यो, ठीक त्यही अनुभूति कुनै प्रेमीले आफ्नो प्रेमिकालाई भेट्दा आज पनि कायम छ र भोलि पनि रहने छ । सय वर्षअघि आफूलाई मन नपरेको काम कसैले गर्दा जुन क्रोधका भाव मानिसको मुहारमा झल्कन्थे, ठीक त्यही भाव आज पनि त्यस्तो परिस्थितिमा कायमै रहेका छन् । भविष्यमा पनि रहने छन् । पुस्ता जतिसुकै बदलियोस् मानवीय संवेदनाहरू उही छन् । मानवीय समवेदनाहरू मात्र संसारमा स्थायी र शाश्वत हुन् ।’
राजेश हमालले वर्षौंअगाडि मलाई भनेका कुराहरू ‘आचार्य’ हेर्दा सम्झनामा आए । भक्तराजले संगीत साधनाका निम्ति संघर्ष गर्दाको काठमाडौं अब बाँकी छैन । उनका छोराहरू सत्य र स्वरूपले संघर्ष गरिरहेको वर्तमान युगका चुनौती र सम्भावनाहरू नितान्त भिन्न छन् । तर धेरैले असम्भव ठानेका सपनाका पछाडि पागलझैं दौडिने, जतिचोटि लड्यो उति पल्ट उठेर झन् वेगले दौडिने आचार्यहरू त्यस युगमा पनि थिए, यो युगमा पनि होलान्, आउने समयमा पनि हुनेछन् । भक्तराजजीलगायत सबै क्षेत्रका समस्त ‘आचार्य’ हरूलाई सादर नमन !!
कान्तिपुर दैनिकबाट
तपाईको प्रतिक्रिया