शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चितवन – जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाएको छ । डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि यो अभियान चलाइएको हो । एक महानगर र २ नगरपालिकामा ७ हजार ३ सय ६ वटा घरमा स्वास्थ्य स्वयंसेविकाहरु खटाएर गरिएको खोजी अभियानमा ३ सय ८६ घरमा डेंगु पोजेटिभ देखिएको थियो ।

भरतपुर महानगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिका क्षेत्रमा पुगेर लार्भा खोज्दै नष्ट गर्ने अभियान चलाइएको कार्यालयका किटनिरीक्षक रामकुमार केसीले बताउनुभयो ।  फागुन २८ देखि चैत ५ गतेसम्म अभियान चलाइएको क्षेत्रमा ५ दशमलव २८ प्रतिशत घरमा डेंगु सार्ने लामखुट्टेको लार्भा र प्यूपा भेटिएको केसीले जानकारी दिनुभयो । नगरक्षेत्रका ५ प्रतिशत घरमा डेंगु पोजेटिभ लार्भा प्यूपा भेटिएको उहाँले बताउनुभयो ।

घर वरपर फालिएकाटायर प्लाष्टिको झोला, भाँडा, गमलालगायतका बस्तुमा जमेका पानीमा लामखुट्टेले लार्भा प्यूपा पार्ने गर्दछन । घर वरपर राखिएका २८ हजार १ सय ४७ भाँडामा खोजी गर्दा ६ सय ८८ भाँडामा लामखुट्टेका लार्भा र प्यूपा फेला परेको केसीले जानकारी दिनुभयो । भेटिएका लार्भा र प्यूपा सबैलाई नष्ट गरिएको उहाँले बताउनुभयो । डेंगु रोगको जोखिम बढेका कारण समयमै सचेतनाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्थानीय तहसँग समन्वय गरेर अभियान चलाइएको उहाँले बताउनुभयो । पानी पर्ने र सुख्खा हुने क्रममा बढ्दा डेंगुको जोखिम बढ्ने बताउँदै केसीले अभियानको क्रममा स्थानियलाई सचेत गराउने र डेंगु रोगको सावधानीको विषयमा सचेतना गराइएको बताउनुभयो ।

चितवनमा यस अर्थिक वर्षमा १ हजार १ सय ६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको जानकारी दिँदै केसीले डेंगुका कारण एक जनाको ज्यान गएको थियो । एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो ।

तपाईको प्रतिक्रिया