शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो । १६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८।२ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो । बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा नेपालका विपिन पौडेलले ३ विकेट लिए । आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए ।

यसअघि हिजो नेपालले भारतलाई ६५ रनले हराएर फाइनलमा प्रवेश गरेको थियो । पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो । यस्तै प्रतियोगिता नविन राई उत्कृष्ट ब्याट्सम्यान भए । बेष्ट बलरको उपाधि विपिन पौडेलले हासिल गरे भने वेष्ट किपर राजु गुरूङले जिते । म्यान अफ दि सिरिजको उपाधि दिगेम लिम्बुले जिते । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले पुरस्कृत गरे ।

ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्क टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिन सकियोस् भनेर गरिएको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया