शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

इजिप्ट – इजिप्टमा तीन हजार वर्ष भन्दा पहिलो निधन भएका चार बालकको चिहान (ममी) भेटिएको छ । ममीमा रहेको बालकको शव अहिले पनि सुरक्षित रहेको छ । इजिप्टको शहर अस्वान नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका ममीमा शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् ।

 

स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् । चारमध्ये एक चिहानमा ममी बनाउनका लागि प्रयोग गरिएको लेनिनको कपडा पनि भेटिएको इजिप्टको पुरातत्व मन्त्रालयका निर्देशक एमन अशमावीले बताउनुभयो ।

 

भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९/५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले बताएका छन् । त्यसबेला इजिप्टमा १८ औं राजवंशले शासन थियो । अनुसन्धानकै क्रममा इजिप्ट तथा अस्ट्रियाको टोलीले चिहानको एक भाग भेट्टाएको छ भने स्वीस टिमले महिलाको प्रतिमा फेला पारेको छ ।

यो सबै इजिप्टको गेबेल अल–सिलसिला क्षेत्रमा भेटिएकोहो । पुरातत्वविदले भेट्टाएको बालबालिकाको ममी मध्ये पहिलो दुई देखि तीन वर्षको बच्चाको हो । जसमा ममी बनाउनका लागि प्रयोग भएको लेनिनको कपडा तथा लौरी भेटिएको छ । यस्तै दोस्रो ममी ६ देखि ९ वर्षको बच्चाको रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै ममीमा जन्तर र भाँडाकुँडा पनि भेटिएका छन् । तेस्रो र चौथो ममीमा रहेका बच्चा पाँच देखि ८ वर्षका हुनु पर्ने अनुसन्धाकर्ताले बताएका छन् । नयाँ भेटिएका चिहान, बालबालिका शव, तथा महिलाको प्रतिमाबाट इजिप्टको १८ औं राजवंशका बारेमा धेरै कुरा जानकारी पाउन सकिने अनुसन्धानमा संलग्न पुरातत्वविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया