शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार हङकङलाई ४ विकेटले पराजित पार्दै नेपालले दोस्रो जित हात पारेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४।१ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालका तृप्तराज दासले सर्वाधिक २७ रन जोडे । त्यस्तै, राजन मगरले १७ तथा सुनिल भण्डारी र विशाल विक्रम केसीले समान ११-११ रन जोडे ।

बलिङमा हङकङका नर्सुला रानाले ३ विकेट लिए । त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै जोड्न सक्यो । हङकङका आर्यन शरद शेट्टीले २४ रन तथा कालहन मार्क चल्लुले १६ र आरुष भागवतले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका प्रतिश जिसीले ३ तथा अजय कुमार लुनियाले २ विकेट लिए। यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १-१ विकेट हात पारे । जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेलेको नेपालले दुवैमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थान उक्लिएको हो । ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया