शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – हामी स्वस्थ रहनका लागि बहुतै चनाखो हुन्छौँ । तर, दिनरात चनाखो हुँदा पनि कहिलेकाहीँ बिरामी भइहाल्छौँ ।

हामीले साँच्चिकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता प्रण गर्न जरुरी छ, जसले निरोगी बन्न महत्वपूर्ण भूमिका खेल्छ । यस्ता टिप्सलाई आत्मसात् गर्नुहोस्, जसले तपाईंलाई स्वस्थ राख्न विशेष भूमिका खेल्नेछः–

तनावमा नरहनुहोस्
आफ्नो करिअर, परिवारप्रतिको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षालगायतका कुराले मानिस तनावमा पर्छ । यसले मानिसको शरीरमा नकारात्मक प्रभाव पार्छ । जस्तै– शारीरिक, मानसिक स्वास्थ्यलगायतमा प्रभाव पार्छ । यसका लागि आजैदेखि सामान्य विषयमा तनाव लिने काम नगर्नुहोस् । तनाव बढी लिने मान्छेको मुटुको धड्कन तीव्र हुने, पाचन क्रियाको गडबडी, रक्तप्रवाह प्रभावितलगायतका समस्या उत्पन्न हुन्छन् ।

मोटोपनदेखि बच्नुहोस्
मानिस स्वस्थ रहनका लागि मोटोपनदेखि बच्न जरुरी छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ शरीरका लागि हानिकारक १० खतरामध्ये मोटोपनलाई पनि सामेल गरेको छ । त्यसो त मोटोपन आफैँमा कुनै रोग होइन । तर, रोग उत्पन्न गर्ने कारणचाहिँ हो । यसले विशेषगरी डाइबेटिज, तनाव, अत्यधिक पसिना आउनेलगायत विभिन्न समस्या देखिन्छन् ।

नियमित दिनचर्याको ख्याल राखौँ
आफ्नो नियमित दिनचर्यालाई एकदमै सही तरिकाले अपनाउन सक्नुभयो भने पनि स्वस्थ रहन केही हदसम्म सकिन्छ । निश्चित समयमा उठ्ने र सुत्ने गर्नुपर्छ । खाने समय निश्चित गर्नुहोस् । हामी धेरैको खाने समय निश्चित हुँदैन, न त सुत्ने समय नै हुन्छ । स्वस्थ जीवनयापनका लागि खाने, सुत्ने, काम सबैको समय तोकेर गर्न जरुरी छ ।

नास्तामा जोड दिऔँ
हरेक दिन बिहान शरीरमा ऊर्जा हुन आवश्यक छ । त्यसका लागि खाना खानुअघि ब्रेकफास्ट लिन जरुरी छ । घरमा बिहान ब्रेकफास्ट गर्ने समय भएन भने बाहिर भए पनि सफा र ताजा ब्रेकफास्ट लिन जरुरी हुन्छ ।

एक्सरसाइजमा ध्यान दिनुस्
आजको प्रतिस्पर्धात्मक जमानामा आफूलाई अरूभन्दा अझ प्रभावशाली बनाउन स्वस्थ र शरीरमा ऊर्जा हुन जरुरी छ । यसका लागि नियमित रूपमा एक्सरसाइज गर्न जरुरी छ । एक्सरसाइजले शारीरिक रूपमा स्वस्थ रहन मात्रै सहयोग गर्दैन कि मानसिक रूपमा पनि शान्ति मिल्छ । हरेक दिन १५ मिनेट गरिएको एक्सरसाइजले तपाईंको जीवनकाल अरू तीन वर्ष बढ्न सक्छ ।

ध्यान गरौँ
ध्यानले मस्तिष्कलाई तेजिलो बनाउने काम गर्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न सक्छ । तपाईं आफ्नो आँखा बन्द गरेर बस्नुस् र गहिरो आराम गर्नुस् । सुरुमा यो असहज भए पनि दृढ इच्छाशक्तिले आफ्नो मनलाई नियन्त्रणमा लिएर भए पनि ध्यान दिने बानीको विकास गर्नुहोस् । ध्यानले एलर्जी र उत्तेजित हुनबाट जोगाउँछ भने थकान कम गराउँछ । मुटुसम्बन्धी रोग, हाई ब्लडप्रेसर, अनिद्रामा आराम मिल्छ । हामी मनोवैज्ञानिक रूपमा पनि बिरामी हुन सक्छौँ । यसबाट जोगिन पनि ध्यान गर्न जरुरी छ ।

५ देखि ८ घन्टा निद्रा
चिकित्सकका अनुसार हरेक मान्छेले पाँचदेखि आठ घन्टा पूरा निद्रा लिन जरुरी छ । यदि आवश्यक मात्रामा निद्रा पुगेन भने दिनभरि तनाव उत्पन्न हुनुका साथै अस्वस्थ हुन सकिन्छ । निद्रा नपुग्ने मानिसमा शारीरिक, मानसिक समस्या देखा पर्न सक्छ । त्यसैले नियमित रूपमा आवश्यक निद्रा पूरा गर्नुहोस्, अस्वस्थ हुनबाट बच्नुहोस् ।

नियमित स्वास्थ्य जाँच
हामी जबसम्म बिरामी हुँदैनौँ, त्यतिवेलासम्म अस्पताल पुग्दैनौँ । त्यसैले बिरामी नहुँदा पनि स्वास्थ्य जाँच गर्न जरुरी छ । कुनै पनि समस्याका लक्षण देखिनुअघि नै समस्याबारे थाहा भयो भने केही हदसम्म बिरामी हुनबाट बच्न सकिन्छ ।

सन्तुलित भोजन
नियमित रूपमा सन्तुलित र पोषणयुक्त भोजन सेवन गर्ने हो भने बिरामी हुनबाट बच्न सकिन्छ । तपाईंले सेवन गर्ने भोजनमा फलफूल, सागसब्जी र तरल पदार्थलाई उचित मात्रामा मिलाउन जरुरी छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया