शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सम्झँदाखेरी अस्ती भरखर जस्तो लाग्छ । फर्केर हेर्दा जापानको बसाई ४३ वर्ष पुगिसकेछ । म सन् १९७३ मा जापान आएकी हुँ, त्यतिबेला नेपाली दूताबास गोतान्दामा थियो । तत्कालिन राजदूत ठाकुरप्रसाद चन्द हुनुहुन्थ्यो । उहाँ जापानको लागि दोस्रो राजदूत हो । त्यतिबेला नेपालीहरु औंलामा गन्न सकिने संख्यामा थियौं । दिलमाया, सूर्यदेवी, मुकुन्द शर्मा, डा. योगेन्द्र तुलाचन, डा. रामध्वज श्रेष्ठ लगायत हामीहरु नै हौं त्यतिबेलाका नेपालीहरु । हेर्दाहेर्दै अहिले नेपाली कम्युनिटी बिशाल भैसकेको छ । अझै कति बढ्ने हो अनुमानभन्दा बाहिरको कुरा छ ।

राजधानी काठमाडौंको बसन्तपुरमा चौतरिया शाह खानदानमा जन्मिएकी हुर्किएकी सुष्मा ओमाता आज जापानका नेपालीहरुमाझ एक चिरपरिचित अगुवा महिलाको नाम हो । उनलाई अधिकाँश नेपालीहरुले जापानमा सुष्मादिदी भनेर बोलाउँछन् । माध्यामिक तहसम्मको शिक्षादिक्षा काठमाडौंमै लिएकी सुष्माले उच्चशिक्षा भने भारतमा लिएकी थिईन् । संगीतमा उच्चशिक्षा हासिल गरेर नेपाल फर्केपछि उनले राष्ट्रिय नाचघर र रेडियो नेपालमा सितार बजाउने सरकारी जागीर खाईन् भने पद्मकन्या क्याम्पसमा सितार संगीत पढाउँथिन् । त्यसबाहेक बाँकी रहेको समयमा उनले स्वदेशी तथा बिदेशीहरुलाई घरमै सितार बादन सिकाउने गर्थिन् । सितार सिक्न आउने स्वदेशी तथा बिदेशीहरुमा तत्कालिन नेपालका लागि जापानी राजदूतपत्नी लगायतका केही बिशिष्ट ब्यक्तिहरु पनि हुन्थे । तिनैमध्यका एक जना जापानी नागरिकसंग सुष्माको प्रेमबिबाह भएको हो । जापानी नागरिकसंग बिहे भएकै साल उनी १९७३ को अगस्तमा जापान आएकी हुन् ।

सुरुवाती दिनहरुका जापान अनुभव
बुहारी भएर पहिलोचोटी जापान आउँदाखेरिको सुष्माको अनुभव यस्तो छ – म इण्डियामा पनि धेरै बसेको हुनाले जापानका घरहरु खासै ठुला लागेनन् बरु साना साना र साँगुरो जस्तो लाग्यो । चकटीमा बस्ने चलन उस्तैउस्तै लाग्यो । संयुक्त परिवारमा बस्दा पनि नेपालमा जस्तो सासूससुरालाई त्यतिधेरै मान मनिता गर्न नपर्ने, आफ्नो काम सबैले आ-आफै गर्ने भएकोले बुहारी भएको खासै त्यस्तो अनुभव भएन । छोरी नभएको हुनाले पनि होला मलाई सासूससुराले छोरीलाई जस्तै असाध्यै माया गर्नुहुन्थ्यो । तर भाषा नबुझेर भने निकै गाह्रो हुन्थ्यो । पछि बिस्तारै सबै कुरा ठिक हुँदै गयो । जीवनलाई ढाल्न सक्नुपर्दो रहेछ, खुशी त्यहीं भेटिदोरैछ ।

यसरी सुरु भयो जापानमा जागिरे जीवन
सुष्माले जापान आएर पनि तुरुन्तै आफ्नै फिल्डको काम पाईन् । नेपाली दूतावासको सहयोगमा जेओसिभी (हालको जाइका) को कार्यक्रम अन्तर्गत जापानीहरुलाई नेपाली भाषा पढाउने, टोकियो युनिभर्सिटी अफ फाइन आर्टसमा सितार संगीत पढाउने, फुर्सदको समयमा कन्सर्ट गर्ने र बिभिन्न संघसंस्थाहरुको कार्यक्रममा नेपालको बारेमा लेक्चर दिने जस्ता काममा उनी ब्यस्त हुँदै आइन् ।

सितारको प्रचार गरेर छात्रवृत्तिको गुण तिरें
टोकियो युनिभर्सिटी अफ फाइन आर्टसले सुष्मा आएपछि मात्र सितार संगीतलाई पाठ्यक्रममा समावेश गरेको हो । संगीतका विद्यार्थीहरुलाई मात्र नभएर फाइन आर्टसका विद्यार्थीहरुलाई समेत ऐच्छिक बिषयकारुपमा सितार संगीतलाई पहिलोचोटी युनिभर्सिटीको पाठ्यक्रममा समावेश गरिएको थियो ।
’टोकियो युनिभर्सिटी अफ फाइन आर्टस जस्तो प्रतिष्ठित विश्वविद्यालयमा सितार संगीतलाई पाठ्यक्रममा समावेश गराउन सफल भएकीमा नेपाली नागरिक हुनुको नाता र त्यहाँको पार्टटाइमर प्रोफेसरको हैसियतले मलाई गर्बानुभूति छ’ – उनले भनिन् – साथै मलाई उच्चशिक्षा अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने छिमेकीराष्ट्र भारतको क्लासिकल संगीत सितारको जापानमा प्रचार गरेर गुण तिर्ने मौका पाएकोमा पनि खुशी लागेको छ ।’

उक्त विश्वविद्यालयबाट सुष्मा रिटार्यड भईसकेकी छिन् । रिटार्यड हुनु अघि सितार अध्यापनलाई निरन्तरता दिनका लागि सोही विश्वविद्यालयमा संगीतमा विद्यावारिधी गरेका सवन जोशीलाई उनले नै त्यहाँ प्रबन्ध मिलाएकी हुन् ।

जापानले के सिकायो ?
सटिक र छोटो जबाफको अपेक्षा गर्दै जापानले के सिकायो भन्ने प्रश्नको जबाफमा सुष्मा भन्छिन् – ’कामप्रतिको उच्च सम्मान गर्न, समयको म्यानेज गर्न र आफ्नो लागि आफै नै सबथोक भएकोले आफ्नो जीवनलाई आफैले रमाइलो बनाउनुपर्छ भन्ने सिकायो ।’ भावुक हुँदै उनले थपिन् – ’घरपरिवार, साथीभाइ, इष्टमित्र भनेका अस्थायी हुन् । आखिर हुने भनेको एक्लै हो, त्यसैले एक्लै रमाउन सिकायो ।’

जापान आएर पनि नेपालीहरु सुध्रन सकेनन्
जापानमा नेपालीहरुको पछिल्लो अवस्थाबारे लामो सुस्केरा हाल्दै सुष्माले चिन्तित मुद्रामा भनिन् – जापानमा नेपालीहरुको संख्या बढेसंगै आपराधिक गतिबिधी पनि निकै बढेको भन्ने जानकारीमा आईरहेका छन् । अपराध बढेसंगै नेपाली भाषाको अनुवादक पनि नपुगेर ब्यापक खोजी भईरहेको अवस्था छ । मादक पदार्थ सेवन गरेर आपसमा होहल्ला र झैंझगडा गर्ने, कूटपिट गर्ने, दूर्ब्यसनी तथा अवैध सामाग्रीको कारोबार गर्ने गरेको समाचारहरु बाहिर आईरहेका छन्, यसले थप चिन्ता बढाएको छ । जापान आएर पनि नेपालीहरु नसुध्रेकोमा असाध्यै चिन्ता लाग्छ । सार्बजनिक ठाउँ तथा सार्बजनिक यातायातको साधनमा ठूलो ठूलो स्वरले चर्कोचर्को कुरा गर्ने, फोनमा कुरा गर्ने, अश्लिल शब्द प्रयोग गर्ने, जथाभावी फोहोर फ्याँक्ने गरेको सर्बत्र देख्न पाईन्छ । जापानीहरुको अगाडि यसो गरिनु भनेको हाम्रो चरम पछौटेपनको प्रदर्शन गर्नु हो । यस्ता क्रियाकलापले आम नेपालीलाई लज्जित बनाउँदछ । सानोतिनो जमघट भयो कि हानाहान गर्ने बिकृति बढेको छ, जापान जस्तो देशमा बसेर आफ्नै नेपालीहरुबाट असुरक्षित महशुस गर्नुपर्ने स्थिति आउनु दु:खद हो । यसतर्फ जिम्मेवार सबैको बेलैमा ध्यान जान आवश्यक छ ।

जापानमा के सिक्ने ?
उनले थपिन् – जापान श्रम गरेर खाने देश हो । यहाँको नियम पालना गरेर आफ्नो काम गर्नेलाई जापानले स्वागत गर्दछ । ट्याक्स तिरेको छु भन्दैमा नियम कानुन उल्लंघन गर्ने छुट कसैलाई छैन । बरु जापानबाट त जतिसक्दो सिक्नुपर्दछ । उनीहरुको देशमा बसेका छौं, कम्तीमा पनि केही समस्या पर्दा हारगुहार गर्ने १, २ जना भए पनि जापानी मित्र बनाउनु धेरै राम्रो हो । तर जापानी मित्र बनाउन सजिलो छैन । उनीहरु १० पटक बोलायो भने १ पटक आउने स्वभावका हुन्छन् । सानो कुरामा चित्त बुझेन भने मुखले केही भन्दैनन् तर मान्छे राम्रोसंग चिनेर ब्यवहार गर्दछन् ।

आफ्नो कमाइको बचत गर्ने गजबको जापानी तरिका
जापानीहरुबाट सिकेको कुराले साँच्चिकै जीवनमा परिवर्तन ल्याएको रहष्य खुलासा गर्दै सुष्माले भनिन् – जापानीहरुबाट मैले सिकेको थुप्रै राम्रा कुराहरुमध्य एउटा महत्वपूर्ण सूत्र भनेको आफ्नो कमाइलाई बचत गर्ने गजबको तरिका हो, जुन मैले ब्यवहारमै लागू गरेकाले जीवनमा कहिलै आर्थिक संकट परेको छैन । सूत्र यस्तो छ – यदि तिमी १० कमाउँछौ भने त्यसको ६ भाग मात्र मेरो हो भन्ने सँधै मनमा हेक्का राख्नु र सोहीअनुसार खर्च गर्नू, बाँकी ४ भाग मध्य १ भाग बूढेसकालका लागि सञ्चय गर्ने, अर्को १ भाग बिबाहभोज, पार्टी, साथीभाइ भेटघाटका लागि बचत गर्ने, बाँकी रहेको २ भाग घुमफिर, धर्मकर्म, दान दातब्य लगायतका ईच्छाएको काम गर्नका लागि बचत गर्ने । यदि हामी नेपालीहरुले पनि यो सूत्रलाई ब्यवहारमा लागू गर्ने हो भने बचत गर्ने बानीको बिकास हुने छ ।

जीवनप्रति कुनै गुनासो छैन
सुष्माको ४३ वर्षे जापान बसाईलाई समीक्षा गर्दा जीवनप्रति कुनै गुनासो नभएको उनी बताउँछिन् । उनले भनिन् – ’आफैले रोजेको बाटो अंगालियो, सन्तुष्ट छु । खान लाउन पुगेकै छ, बेला बेलामा बिदेश घुम्न निस्कन्छु । नेपालमा जस्तो दु:खसुख अरुलाई बाँड्न पर्दैन । अरुको कुरा काटेर हिड्ने यहाँ कसैलाई फुर्सद छैन । त्यो नै सबैभन्दा राम्रो लाग्छ । बूढेसकाल लागेकाहरुका लागि पनि सुबिधा सम्पन्न बृद्धाश्रमहरु छँदैछन् । छोराबुहारीकोमा छु भनेर के गर्नू ? बृद्धा अवस्थामा उनीहरुको कुरा सुनदिने मान्छे कोही नहुनु, भोक लागेको बेलामा खान नपाउनू, दिनदिनैको गालीबचन सुनेर कोठामै कोचिएर बस्नुभन्दा सुबिधा सम्पन्न छन् भने बृद्धाश्रम धेरै राम्रो हो जस्तो लाग्छ ।

नेपाल धेरै मिस गर्छु
यतिका बर्षसम्म आफ्नो जन्मभूमि नेपालभन्दा टाढाको देश जापान बसाईमा नेपाल मिस गरेजस्तो लाग्दैन ? भन्ने प्रश्न भुइँमा नखस्दै सुष्मा भन्छिन् – हो नेपाल धेरै मिस गर्छु । अनि कहिलेकाँही अलि फरक सोचाई पनि आउँछ, नेपालमा भएको भए घरमा काम गर्ने मान्छेहरु हुन्थे सबै काम उनीहरुले नै गर्थे भन्ने लाग्छ । तर जापानमा जतिसुकै धनाढ्य भए पनि आफ्नो काम सबैले आफै गर्छन् । मैले पनि आफ्नो काम सबै आफै गर्ने गरेको छु ।

नेपालसंग निरन्तर सामिप्यतामै
तर जापानमा भए पनि सुष्मा निरन्तर नेपालसंग जोडिईरहने स्वयमसेवी कार्यमा क्रियाशील छिन् । सेवा (SEWA-Society for Educating to Women in Aisa) नामको संस्थामार्फत उनले असहाय, अनाथ र विपन्न छात्राहरुलाई शिक्षा प्रदान गर्दै आईरहेकीछिन् । ५ जना विद्यार्थीबाट सुरु गरेको यो अभियान मार्फत सयौं नेपाली किशोरीहरु लाभान्वित भईसकेका छन् । उनीहरु अहिले कोही शिक्षिका, नर्स, बैंकर, प्रशासक भएर सुखी जीवन बिताईरहेको उनले बताउँछिन् । सेवामार्फत उनले जापानमा पनि सितार बादन सम्बन्धि प्रशिक्षण, च्यारिटी कन्सर्ट, नेपाली भाषा तथा खानाको प्रबर्द्धन र काउन्सिलिङ लगायतका सेवाहरु प्रदान गर्दै आईरहेकी छिन् ।

सुष्माको आँखामा जापानबाट हेर्दा देखिने नेपाल
प्राकृतिक सौन्दर्यताले जति धनी छ नेपाल, सोहीअनुसार ब्यवस्थापकीय सुधार हुन सकेन । धेरै वर्षदेखि हामीले देख्दै आईरहेका छौं कि हरेक क्षेत्रमा ब्याप्त अस्तब्यस्त, घुसखोरी र कमिशनतन्त्र डरलाग्दो किसिमले मौलाएको छ । माथिदेखि तलसम्म घुस नखुवाएसम्म कुनै काम हुँदैन । कर्मचारीहरु यहाँको चलन यस्तै हो भन्दै हाकाहाकी घुस माग्छन् । सत्ताको घनचक्करमा फसेको नेपालको अस्थिर राजनीतिको फाईदा उठाउँदै स्थायी सरकार मानिने नेपालको ब्युरोक्रेसी सेटिङ मिलाएर कमाउधन्दामा लागेका छन् । खराब नियत भएका जो कोहीलाई कार्बाहीको दायरामा ल्याउनुपर्दछ । राजनीति क्षेत्र मात्र होइन कर्मचारीतन्त्रमा पनि आमुल परिवर्तन हुनु जरुरी छ ।

अबको योजना
एक छोरी र एक नातिनीकी धनी सुष्माको अब खासै त्यस्तो महत्वाकाँक्षी योजना नभएको बताईन् । अहिले जुनियर हाईस्कुल पढ्दै गरेकी नातिनीको शिक्षादिक्षामा जोड दिने, कुनै एउटा अवसर पारेर ठूलो च्यारिटी कार्यक्रम गर्ने र परोपकारी कार्य गर्नका लागि एउटा फाउण्डेशनको स्थापना गर्ने सुष्माका अबका योजना भएको उनले बताईन् ।

तीजलाई फेशन शो गर्ने पर्व बनाईनुहुँदैन
धर्म, कर्म, पूजा पाठका हिसाबले भन्दा पनि नेपाली एकताको प्रतीककारुमा बिशेष महत्व पाएको सामाजिक र साँस्कृतिक पर्व हो तीज । महिलाहरुले रातो लगाउने, खुवा खाने, ढकनी खाने, चेलीबेटीलाई दर खान बोलाउने, तीजको सेट उपहार आदानप्रदान गर्ने र हर्षोल्लासका साथ मनाउने यस पर्वका खास बिशेषताहरु हुन् । तर श्रीमानको आयु बढोस् भनेर पानी पनि नखाई निराहार ब्रत बस्ने प्रचलन भने ठिक हो जस्तो मलाई लाग्दैन । जापानको सन्दर्भमा भन्नुपर्दा सन् २००४ तिर हो गोतान्दाको कुमारी रेष्टुरेन्ट (हालको माया रेष्टुरेन्ट) मा छक्कू बहिनी, इन्दिरा सुजुकी, अमृता चौलागाई लगायतका बहिनीहरुले पहिलोचोटी जापानमा तीज कार्यक्रम राखेका थिए । उक्त कार्यक्रमबाट ज्यादै प्रभावित भएदेखि मेरो मानसपटलमा प्रवासमा तीजको गहिरो छाप परेको छ । अचेल तीज फेशन जस्तै भएको छ । जताततै तीजका कार्यक्रम छन् सबैलाई भ्याई नभ्याई छ । वर्षभरिको थकानलाई तीज पर्वमा साथीसंगीनीहरु भेट भएर रमाईलो गर्दै रिफ्रेश हुनु राम्रो कुरो हो । जसले गर्दा डिप्रेशन, फ्रष्ट्रेशन जस्ता कुराहरुबाट पनि बच्न सकिन्छ । तर जुनसुकै कुराको पनि सीमा हुन्छन् । अस्वभाविक रुपमा भड्कीलो र फेशन शो गर्ने अवसरकारुपमा तीज पर्वलाई उपयोग गरिनुहुँदैन । तीजकै कारण समाजमा विकृति र बिसंगतिहरुले प्रवेश पाउनु हुँदैन । यसै सन्दर्भमा तीजको उपलक्षमा समस्त नेपाली नारीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । सबै नेपाली नारीहरुको जीवन फूलोस्, फलोस् र तीज पर्वजस्तै रंगिन बनोस् ।

(सुष्मा ओमातासंग गरिएको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया