शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको छ । भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

२५ मेका दिन मुम्बईमा आयोजना हुने एक कार्यक्रममा मोदी सहभागी हुने र सोही समय उनको हत्याका लागि ५० करोड रुपैयाँ इनाम दिने प्रस्ताव आएको बताइएको छ । कुशल सोनीको विस्तृत परिचय खुलाइएको छैन । तर उनले सुरुमा उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई जानकारी गराएका थिए ।

उनले फोन कलको रेकर्डसमेत प्रहरीलाई बुझाएका छन् । उनलाई उक्त प्रस्ताव गर्ने व्यक्ति भारतीय नै भएको आशंका गरिएको छ । गुजराती भाषाको लयमा ती व्यक्तिले कुरा गरेका कारण विदेशमा बस्ने कुनै भारतीयले नै यस्तो प्रस्ताव गरेको अनुमान गरिएको हो ।

प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया