शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-छोराले पढेर डिग्री हाँसिल गरोस, कुनै कार्यालयको हाकिम बनोस् भन्ने चाहना बोकेका बाबुको ईच्छालाई अटेर गरी संगीतको सागरमा हाम्फालेका बसन्त थापा, अहिले एक स्थापित गायकको परिचय बनाएका छन् । अग्लो कद, हँसिलो अनुहार अनि सुरिलो स्वरका धनी उनलाई सानैदेखि लाहुरे बन्ने हुटहुटी पनि नजागेको भने होइन । भारतीय सैनिकमा जागीर खान सिमला–सपाटुसम्म पुगे उनी । तर अन्ततः उनलाई बन्दुक होइन सारङ्गी, मादल र डम्फु नै निको लाग्यो ।
‘हुने हार, दैव नटार’ भने झैं उनको सानैदेखिको गीतसंगीतप्रतिको लगाव आखिर कसैले रोकेर नै कहाँ रोकिथ्यो र ? एसएलसी पास गरेपछि उनी हटियाको गल्कोट उच्च माविमा कमर्श विषय लिएर भर्ना भए । स्कुले जीवनमा विद्यालयस्तरीय गीतसंगीत प्रतियोगितामाहरुमा पनि निकै सक्रिय भएर भाग लिन्थे उनी । सँधै प्रथम स्थान हासिल गर्न सफल उनको संगीतप्रतिको लगाव देखेर शिक्षकहरु अझ हौसला थपिदिन्थे । त्यसो त १२ कक्षा पास गरेपछि अझ उनी लोक दोहोरीतिर आकर्षित भए । गाउँघरमा खेतबारीको काम गर्दा होस् या त अरु नै बेला उनी यसो भनेर कसैले दोहोरीमा गीत गाउँदा के भनेर उत्तर दिने भनेर आफैभित्र घोत्लिन्थे, गम्थे अनि उक्त गीतलाई मनकै कुनामा जतनसाथ साँचेर राख्थे ।
जब १२ कक्षाको अध्ययन पुरा गरे त्यसपछि उनको गाउँ बाहिरिने बाटो खुल्यो सँगसँगै मनभित्र साँचेर राखेका गीतहरु पनि बाहिर निस्कन थाले । सरस्वती क्याम्पसमा विविएस भर्ना हुन तयारी गरिरहेकै बेला बाबाले ४० हजार रुपैयाँ पढाई खर्चको नाममा हातमा थमाइ दिनुभयो । तर उनले त्यही पैसाले गीत पो रेकर्ड गराए –‘पश्चिम अञ्चल, तिम्लाई देखेर मनै चञ्चल’ ।

संगीतमै तिखारिंदै गएका बसन्तले जापान, कोरिया, दुवई, कतार लगायतका मुलुकहरुमा आफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् । विदेशमा बस्ने नेपालीहरुले नेपाली लोक संगीतलाई औधी मायाँ गरेको अनुभव सुनाउँछन् उनी । ६ सय बढी गीत सृजना र सय बढी गीत आफ्नै स्वरमा बजारमा ल्याईसकेका बसन्तले दर्जन बढी राष्ट्रिय अवार्डहरु पनि हाता पारिसकेका छन् । ‘नजाउ है सानु पँधेरीमा’, ‘सेल्फी’ र ‘डाँडै फुर्के सल्लो’ बसन्तलाई उचाईमा ल्याएका गीतहरु हुन् । यी गीतहरु जनजिब्रोमा झुण्डिएका छन्, स्रोताको मनमस्तिष्कमा बसेका छन् । यस्तै लोकले मन पराउने गीत सृजना गर्ने अनि लोककै गीत गाउने बसन्त लोकगीत भनेको वास्तविक जीवन र समाजको याथार्थ ऐना हो भन्छन् । समाजमा जे हुन्छ लोकगीतरुपी ऐनामा त्यही देखिन्छ । सस्तो लोकप्रियताको लागि लोकदोहोरी गीतमा विकृति भित्र्याउन नहुने उनको सुझाव छ । त्यसो त गीतसंगीतमा भित्रिएको यस्ता विकृतिहरुको निगरानी गर्ने कुनै निकाय नभएको उनी बताउँछन् । यस क्षेत्रमा पनि मौलिक कला संस्कृति, लोक दोहोरीको जगेर्ना गर्ने अवधारणा सहित कलाकारको हितमा काम गर्नुपर्ने आवश्यकता रहेको उनको अनुमान छ । जसले गर्दा कलाकर्मीहरुलाई पनि आफ्नो पेशामा ढुक्क भएर लागि पर्न सक्ने वातावरण बन्ने उनको आशा छ । नयाँ पिंढीमा कलासंस्कृतिको पुस्ता हस्तान्तरण हुनुपर्ने उनको राय छ ।

केही समय अगाडि मात्रै विवाह वन्धनमा बाधिएका उनलाई परिवारबाट पनि उत्तिकै सहयोग छ । उनी संगीतमा भविष्य देख्छन् । ‘जापान फुल्ने साकुरा त नेपाल फुल्ने पैयुँ, त्यै पैयुँको फूलसँग फोटो खिच्ने मै हुँ’ बोलको गीत निकट भविष्यमा नै बजारमा ल्याउने सोचमा छन् बसन्त । दुई पटक जापान आएका उनी पहिलो पटक आउँदा सपना हो कि विपनाजस्तो भएको कुरा सुनाउँछन् । नयाँ वर्षको अवसरमा गल्कोट समाजद्वारा आयोजित कार्यक्रममा जब दोस्रोपटक उनी जापान आए, जापानको बारेमा केही बढी नियाल्ने अवसर पाए । उनले जापानको प्रसंशा गर्दै भने–‘बडो वैज्ञानिक हिसावले हरेक क्षेत्रमा विकास भएको देश रहेछ जापान । विकासको चरमचुलीमा पुगेको जापानले विकासको क्षेत्रमा कुनै कसर बाँकी राखेको रहेनछ ।’

त्यसैगरी जापानमा रहेका नेपालीहरूले लोकगीत, लोकदोहोरी गीतप्रति देखाएको मायाले अति नै मन छोएको उनले बताए । भाैगोलिक हिसावले मातृभूमिभन्टादा टाढा रहेपनि अाफ्नो भाषा, अाफ्नो संस्कृतिप्रति माया गरिदिइरहन उने जापानबासी नेपालीहरूमा अनुरोध गरेका छन् । ***

तपाईको प्रतिक्रिया