शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

Interview-with-dev-gurung

काठमाडौं – करिब एक दर्जनको हाराहारीमा विभाजित भएका माओवादीहरु एकतामा बाँधिएका छन् र नेकपा माओवादी केन्द्र गठन भएको छ । विभाजित १० घटकले बनेको नेकपा माओवादी केन्द्रले अब छिट्टै नै सभा, भेला र संगठन विस्तारसहित एक वर्षभित्रमा महाधिवेशन गर्ने बताएको छ । तर, एकताको घोषणा गर्दैगर्दा केही माओवादी घटकहरु अझै छुट्टिएर बसेका छन् भने केही नयाँ शक्ति निर्माण गर्ने अभियानमा लागेका छन् । यस्तो अवस्थामा एकताको सन्देश, माओवादीको अबको यात्रा र यसले नेपाली राजनीतिमा पार्ने प्रभाव लगायतका बिषयमा केन्द्रित रहेर शिव श्रेष्ठले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देव गुरुङसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

टुक्रिएका माओवादीका १० घटकबीच भएको पार्टी एकताको सन्देश के हो ?
समग्रमा एकताको कार्यक्रम सफल रह्यो । पार्टी एकताका लागि चालिएको अभियानले एउटा मूर्त रुप लियो र नेकपा माओवादी केन्द्र गठन भएको घोषणा गरियो । पार्टी एकतासँगै ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन भएको छ । अब सो समितिको बैठकले जनसभा, भेला तथा संगठन विस्तारजस्ता मुख्य कामहरु सुरु गर्ने छ ।

पार्टी भित्र नेतृत्व परिवर्तनको बहस भइरहँदा अध्यक्ष चाहिँ फेरि प्रचण्डलाई नै बनाउनुभयो नि ?
अहिलेको परिस्थितिलाई हेरेर उहाँकै नेतृत्वमा पार्टी एक गराउने भन्ने हो र सोही अनुरुप फेरि अध्यक्षको रुपमा हामीले सर्वसम्मत प्रचण्डलाई चुनेका हौं । किरण बैद्य पनि एकताको लागि आउनुभएको भए उहाँलाई नै अध्यक्ष बनाउने भन्नेसम्मको कुरो थियो । उहाँ एकता मै नआउने भएपछि यो विषय यसरी टुंगिएको हो ।

फुटेर गएको पार्टीको नेतृत्व गरिरहनु भएको बैद्यले एकता भएको पार्टीको अध्यक्ष चाहिँ किन बन्न चाहनुभएन । उहाँको प्रचण्डसँग दुश्मनी हो ?
बैचारिक र सैद्धान्तिक प्रश्न हेर्दा उहाँले राखेका सर्तहरुमा हाम्रो पनि सहमती नै हो । राजनीतिक मुद्दामा विमती नभएपछि पार्टी एकतामा अड्कन नपर्ने हो । तर, यी विषयमा सहमती हुँदाहुँदै पनि बैद्य एकतामा नआउनु र आउन नचाहनुमा चाहिँ सम्भवतः त्यस्तै कारण हुन सक्छ ।

पार्टीले नै कारबाही गरेको बैद्य समूह अब कुनै दिन फेरि एकतामा आउने सम्भावना रहन्छ कि रहँदैन ?
अन्तिम समयसम्म प्रयास गरेकै हो । विभिन्न खालका छलफल र बहस हुँदा पनि अहिलेको प्रक्रियामा उहाँलाई एकताको डोरी भित्र ल्याउन सकिएन । बहुमत साथीहरुले प्रयास गर्दा पनि नआउनु भएपछि वर्तमान अवस्थामा उहाँ बाहिर नै रहनुभयो । तर, यसैलाई बैद्यसँगको सम्बन्ध वा एकताको अन्त्य भयो भनेर चाहिँ बुझ्न भएन । प्रयास कालान्तरसम्म जारी रहन्छ ।

एकताको नाममा कसैलाई कारबाही गरेर वा फेरि पार्टी फुटाएर आउनभयो हैन ? अलि मजाक गरे जस्तो देखिएन ?
जनवादी केन्द्रियताको सिद्धान्त अनुसार बहुमतीय प्रक्रियामा नै पार्टी चल्ने हो । यहाँ पनि बहुमत केन्द्रिय सदस्यहरुले गरेको निर्णयलाई कार्यान्वयन गरिएको अवस्था छ । अल्पमतको अधिनमा बहुमत रहने भन्ने त कुरै भएन । अल्पमतका साथीहरुले बहुमतको निर्णय मान्नपर्नेमा उहाँहरु अल्पमत मै विभाजित भएर बस्नुभयो । अझैपनि जो एकतामा आउनुभएन उहाँहरुबीचमा पनि बहुमतको संख्या सोलोडोलो एकतामै जाउँ भन्नेमा देखिन्छन् । त्यसैले, बहुमतले पार्टी फुटाएर एकता गर्‍यो भन्ने हुँदैन । आशा छ, उहाँहरु पनि कुनै दिन फेरि एकता मै आउनुहुने छ ।

तपाईंहरुले यता एकताको घोषणा गरिरहँदा उता नयाँ शक्ति जन्मिरहेको छ । एकताका लागि डा. बाबुराम भट्टराईसँग चाहिँ तपाईंहरुको छलफल भयो कि भएन ?
उहाँसँग दैनिक आइपर्ने समस्या र एजेण्डामा सहकार्य हुने भन्ने एउटा कुरा रह्यो । तर, पार्टीको नीतिको हिसाबमा त विचारमा नै भिन्नता भयो नि । विचारको हिसाबले उहाँ माक्र्सवाद, लेनिनवाद, माओवाद नै नमान्ने । कम्युनिष्ट आन्दोलन नै नमान्ने । उहाँसँग यसरी आधारभूत कुरामा नै फरक भएपछि वार्ता, छलफल र पार्टी एकताको गुञ्जयास त रहने नै भएन ।

भनेपछि डा. भट्टराईसँग कुनै समयमा पार्टी एकता हुन सक्ला भन्ने झिनो आशा पनि रहेन ?
उहाँले कम्युनिष्ट आन्दोलनलाई अंगिकार गर्नुभयो भने वा मालेमावादलाई अनुसरण गर्नुभयो भने असम्भव भन्ने त केही पनि छैन । तर, मालेमावाद र कम्युनिष्ट आन्दोलनलाई छाडेर पार्टी एकता त कसरी सम्भव हुन्छ ? त्यसो हो भने त काँग्रेससँग एकता गरेपनि भयो नि, अझ नामधारी त एमाले पनि छँदैछ । एमाले त नामधारी मात्र हो, कुनै कम्युनिष्ट होइन अर्थात क्रान्तिकारी होइन भनिराखेको अवस्थामा कम्युनिष्ट पार्टी र सिद्धान्त नै छाडिसकेको व्यक्तिसँगको सन्दर्भमा एकताको हिसाबकिताब हुने कुरै भएन ।

पार्टी एकताको घोषणासँगै तपाईंहरुले एक वर्ष भित्रमा महाधिवेशन गर्ने भन्ने सहमति गर्नुभयो । अब हुने महाधिवेशनले चाहिँ नेतृत्व परिवर्तन गर्ने हो ?
नेतृत्व परिवर्तनका विषयमा हामी बीच कुनै कुरो भएको छैन । अहिले त टुटफुट भएका पार्टीलाई कसरी एकता गराउने र विजयीको बाटोमा कसरी अघि बढ्ने भन्ने विषयमा मात्र केन्द्रित छौं । महाधिवेशनले के तय गर्छ, त्यहीवेलामा मात्र सोच्ने कुरा हो । अहिले महाधिवेशनको अनुमान गरेर टिप्पणी गर्नुको कुनै अर्थ छैन जस्तो लाग्छ ।

एक ढिक्कामा रहेको पार्टी फुट्दा फुट्दा दर्जन हाराहारीमा पुगेर फेरि एकताको घोषणा गरिएको छ । अब फेरि पार्टी सहज रुपमा अगाडि बढ्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
अब यो विचारमा नै भर पर्ने कुरा हो । जबसम्म मालेमावादलाई अंगिकार गरिरहन्छ, क्रान्तिको बाटोलाई अनुसरण गरिरहन्छ, राष्ट्रिय स्वाधिनता, जनजीविका, जनतन्त्रलगायतका मुद्धाहरुलाई निरन्तर रुपमा उठाईरहन्छ र जबसम्म त्यो मुद्धा सम्बोधन हुँदैन, तबसम्म पार्टीको एकताको प्रक्रिया चलिरहन्छ । विचारमा भिन्नता भएन भने पार्टी सहज रुपमा चल्न कुनै गाह्रो छैन ।

सरकारमा रहेका दललाई कमजोर बनाउने र सरकार ढाल्नेसम्मको खेल भइरहेको अवस्थामा तपाईंहरुको एकताले सरकार अझ बलियो भयो भन्न मिल्छ ?
सरकारको विषयमा अहिले हाम्रो कुरो भएको छैन । सरकारको विषयमा पार्टीमा छलफल भएपछि टुंगो लाग्ने कुरा हो । भर्खरै मात्र पार्टी एकता भएकोले यो विषयमा कुरा हुन बाँकी नै छ । सरकारको विषय, राजनीतिक विषय तथा सरकारको नीतिगत योजनाका विषयमा अहिले कसैसँग पनि कुनै छलफल भएको छैन । केही समयपछि हुनेछ ।

अब अलि फरक प्रसंग, यतिखेर संघीय गठबन्धनको नाममा देशमा आन्दोलन चलिरहेको छ । संविधान जारी भएदेखि सुरु भएको आन्दोलन अझैसम्म कुनै न कुनै हिसाबले जारी छ । यसको निकास के र कसरी देख्नुहुन्छ ?
मधेस/जनजातीहरुको आन्दोलनले उठाएका मुद्दाहरु सही छन् । त्यसैले, सही मुद्दालाई संवाद र सहमतिको आधारबाट टुङ्ग्याउनु पर्छ भन्ने मेरो मान्यता हो । योसँगै मधेसी नेतृत्वका कतिपय नेताहरुले आन्दोलन गर्दै जाँदा दिल्लीदरबार र लैनचौरमा रहेको राजदूतावास धाउने जो प्रवृत्ति देखिएको छ । यो प्रवृत्तिको बिरोध गर्दै आन्दोलनले उठान गरेका मागहरु सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा म छु ।
यस्तो खालको संवाद र सहमति हुनसक्ने सम्भावना देखिन्छ कि देखिदैन ?
एउटै देशको नेता/नागरिकबीच संवाद र सहमति हुन नसक्ने भन्ने कुरै छैन । कि त उहाँहरुले हाम्रो देश, भेष नै फरक हो भनेर आन्दोलन गर्नुपर्‍यो । होइन भने लैनचौर दूतावास र दिल्ली दरबार धाउन छाड्ने हो भने सहमति र संवाद सिंहदरबार नजिकै आईसकेको छ ।

अहिले देशको मुख्य मुद्दा र एजेण्डा भनेको पुनर्निर्माण हो । यसमा तपाईंहरुको भूमिका चाहिँ के रहन्छ ?
पुनर्निर्माणको काम जुन ढंगले अघि बढ्नुपर्ने थियो, त्यो भएन र अहिलेको काम गराईको हिसाबले नेपाललाई हैटी बनाउने दिशा तर्फ जाने हो कि भन्ने लाग्छ । यसका साथै, अब त विदेशीहरुको क्रिडास्थल चाहिँ नेपाल बन्ने हो कि भन्ने डर पनि छ । त्यसैले यसलाई रोकेर आफै आत्मनिर्भर र आत्मस्वाभिमानी बनेर पुनर्निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो ।

अन्तमाः माओवादीमा देखिएको एकताको अभियानले देशवासीमा नै एक खालको उमंग देखिएको छ । उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?
माओवादीमा देखिएको विघटन र विसर्जनका कारण मुलुक नै एकखाले प्रतिगामी दिशामा अगाडि बढेको देखिन्छ । यसको प्रत्यक्ष असर राष्ट्रिय स्वाधिनता र अस्मिता नै खण्डित भएर जाने हो कि भन्ने डर थियो । त्यसैले, राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सच्चा कम्युनिष्टहरु एकढिक्का हुन जरुरी छ । यसरी, मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न सकियो भने राजनीतिक दलहरुको अर्थ र औचित्य रहन्छ । त्यसैले, अहिलेको मुख्य कार्यभार भनेको राष्ट्रको अस्तित्व जोगाउनु हो, त्यसको लागि पहिलो कार्यभार भनेकै कम्युनिष्टहरु एक हुनु थियो । यो यात्राको शुभारम्भ भएको छ, यसमा सबैको साथ सहयोग रहने छ भन्ने अपेक्षा गरेको छु ।

तपाईको प्रतिक्रिया