शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

त्रिपुरेश्वरस्थित लोकबाजा संग्राहलयका संस्थापक हुन् रामप्रसाद कँडेल । उनलाई नाच्न, गाउन, बजाउन आउँदैन । ‘बाहुनको छोरो भएर शंख फुक्नमात्रै जानेको छु’ कँडेल भन्छन् । ध्यान सिक्दा गुरुले देशका केही गर्न भनेपछि उनले नेपाली लोकबाजा संग्रहालय बनाउने संकल्प गरे । अनि, २०५२ सालमा जन्मियो नेपाली लोकबाजा संग्रहालय । प्रस्तुत छ नेपाली लोक संस्कृतिलाई बचाइराख्न र विश्वभर फैलाउन लगिरहेका उनै कँडेलसँग समुद्रपारिले गरेको कुराकानीको सम्पादित अंश :-

नेपाली लोकबाजा संग्रहालयबारे थोरै भनिदिनुस् न ?
२०५२ सालदेखि नेपालका विभिन्न जात जातीमा प्रचलित बाजाहरूका अध्ययन गर्न सुरु गरेका हौँ । हामीले अहिले नेपाली लोकबाजा संग्रहालयमा १३ सय ५० प्रकारका बाजाहरूको नामावली छ । त्योमध्येको ६ सय ५५ प्रकारको झण्डै १२ सय जति बाजा संग्रहालयमा संग्रहीत छन् । त्यो भनेको नेपालका साथै हाम्रा पुर्खाहरूले आ-आफ्ना गाउँ ठाउँमा तराईमा, पहाडमा, हिमालमा वरपर जे-जे छन् । रुखलाई देखेर, जीवजन्तु, चराचुरुङ्गी, खोलानाला, पहाड, वनजंगल देखेर त्यहीँ सामग्री संकलन गरेर उहाँहरूले चाहिँ बाजाहरू बनाउनु भएको हो । ती बाजाहरू आफ्नो सन्तानको सुख, आनन्दका लागि जन्माइदिनुभयो । यसलाई निरन्तर गर्नका लागि हामीले विगत २८ वर्षदेखि नेपाली लोकबाजा संग्रहालय संस्था खोलेर (सामाजिक संस्था, २५ जना स्वयसवेक) आफ्नै काम, व्यवसाय गरेर यो संस्था चलाएका छौँ । राज्यको सहयोग छैन, बाजाहरू पछिल्ला पुस्ताले पनि देखुन् र लोक नहुन् भन्ने उद्देश्यले हामीले यो संस्था स्थापना गरेका हौँ ।

यो प्रतिको रुचि लाग्नुको रहस्य के हो ? तपाईँ आफू पनि गीत संगीत क्षेत्रमा लगाव अथवा झुकाव हो ? 
मेरो त्यस्तो केही छैन । मलाई नाच्न, गाउन, बजाउन आउँदैन । बाहुनको छोरो भएर शंख फुक्नमात्रै जानेको छु । तर मैले ध्यान सिकेँ, ध्यान सिक्दा मेरो गुरुले केही गर देशको लागि भन्नुभयो । अनि मैले चाहिँ नेपाली लोकबाजा संग्रहालय बनाएर मेरो गुरुलाई चढाउँछु भनेर खालेको हो ।सरकारको सहयोग छैन भन्नुभयो । यहाँकाे आर्थिकपाटो भाडा र अन्य खर्च कसरी व्यवस्थापन गरिराख्नु भएको छ ?
अहिलेसम्म मेरो आफ्नै खर्चबाट चलिरहेको छ । सहयोगहरू कहीँ कतैबाट आएको छैन ।

यहाँ खासगरी कस्ता खालका मानिसहरू अवलोकनको लागी आउने गर्छन् ?
यहाँ आउने भनेको नेपाली विद्यार्थीहरू हुन् । केही अध्ययन र अवलोकनका लागि हरेक दिनजसो विद्यार्थीहरू आउने गरेका छन् । विदेशी संगीतको अध्येताहरू आउँछन् । पर्यटकहरू आउँछन् । सामान्य नेपालीहरू चाहिँ एकदमै कम आउने गरेका छन् ।

विश्वभर रहेका नेपालीले सानो ठूलो जमघट हुँदा मादल, सारङ्गी अथवा बाँसुरी बजाएर रमाइलो गरिदियो भने त्योभन्दा ठूलो प्रचार केही हुँदैन । यो गर्नैपर्छ । यत्ति गर्न सकेमा हामी गौरवपूर्ण तरिकाले बाच्नसक्छौं ।

संग्रहालयमा रहेका एकदमै प्राचीन र लोप हुन लागेका १/२ वटा बाजाको जान भन्नुपर्दा…
हामी कहाँ धेरै छन् । जस्तो वैदिककालदेखि नै बजाइरहेका २/३ सय बाजाहरू, वीणाहरू त्यो प्रकारका बाजाहरू लोप हुन लागेको छ । किनभने जस्तो हार्मोनियम आयो नि पश्चिमबाट, त्यो हार्मोनियमको बाजाले गर्दा तारका बाजाहरू सबै हरायो । किनकि हार्मोनियम सजिलो भयो, औँलाले थिचेर बजाउन मिल्छ तर, तार त औँलाले अनुमान गरेर बजाउनुपर्ने थियो । कहाँनिर सा’ छ ? रे’ कहाँ छ ? ग’ कहाँ छ ? ‘सारेगम’ भन्न पनि पहिला ‘आरगमपलमी’ भन्ने रहेछ । हाम्रो पुर्खाहरूको पिँगुल भन्छ त्यसलाई । पिँगुल भनेको के रहेछ भने गाईको दूध दुहुदा खेरी धेरै दूध दिने गाईलाई ठूलो काठको गगुवा चाहियो तर, थोरै दिनेलाई त ठूलो लगेर काम भएन । त्यो दूध दुहुँदाखेरि जुन आवाज आउँछ नि त्यो आवाजको आधारमा चाहिँ उहाँहरूले संगीतको आरगमपलमी भनेर स्वर बनाउनुभयो । त्यसका आधारमा संस्कृत काव्य, लिपि बने । यी सबै चिज बचाउन जरुरी र नयाँ पुस्तालाई हामीले सिकाउनुपर्छ । हाम्रो मुख्य उद्देश्य नै ‘एउटा नेपाली, एउटा लोकबाजा’ भन्ने छ । सके बजाउन जान्नुहोस्, नसकेपनि आफ्नो घरमा मान्छे भित्र प्रवेश गर्ने मूलढोकाको अगाडि एउटा बाजा झुन्ड्याएर राख्दिनुहोस् ।

प्रवर्द्धनका लागि भावी योजना लक्ष्य के छ ? 
हामी संगीत अनुसन्धानकर्ता हो । त्यसैले सकेसम्म नेपाल सरकारलाई नेपाली लोकबाजा संग्रहालय हस्तान्तरण गर्ने प्रयास गरिरहेका छौँ । सरकारले लिएर कोठामा थन्क्याएर राख्न त सक्ने भयो तर, संग्रहालय नै बनाएर राख्न सकिन्छ चाहिँ उहाँले भन्नसक्नु भएको छैन । अझै पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कुराकानी भइरहेको छ । संगीत नाट्य एकेडेमी, राष्ट्रिय नाचघर, त्रिभुवन विश्वविद्यालयको ललित कला केन्द्रमा यसलाई बनाउन भनेर प्रयास भइरहेको छ । यदि सरकारले सहयोग गर्छ भने राम्रो भइहाल्यो नभएपनि आफै एउटा जग्गा किनेर नेपाली बाजा संग्रहालयको भवन बनाएर बाजा प्रदर्शन गर्ने र कालान्तरसम्म राम्रो नेपाली संस्कृति रहोस् । बाजा रहेपछि बाजा देख्छन्, बाजा देखेपछि सिक्छन् । थारुहरूले देखेपछि ओहो हाम्रो बाजा भन्छन्, तामाङले देखेपछि त्यही हुन्छ, क्षेत्री बाहुनले देखेपछि त्यसै भन्छन् । सबै जातीका बाजा संरक्षण गरेर राखेपछि ती जातीका मान्छेहरूले आफ्नो संस्कृति कायम राख्थे र, नेपाली संस्कृति हराएर जाँदैन थियो । नेपाली संस्कृति हरायो भने नेपाली भाषा हराउँछ । नेपाली भाषा हरायो भने नेपाल देश हराउँछ र देश हराउन नदिनलाई पृथ्वीनारायण शाहले के भन्नु भएको छ भने विदेशी बाजा नाचगान नल्याउनु, नेपालकै सिक्नु सिकाउनु त्यसो हुँदा संस्कृति हराउँदैन । हाम्रो संगीतलाई पहिला त हामीले बचाउनुपर्‍यो । अर्को संगीत तराईको सम्म परेको, पहाडको अलिकति तेस्रो र विश्वभरिको हिमाली क्षेत्रको बाजाको प्रतिनिधित्व गर्ने बाजा पनि हामीसँग छ ।

बाजा भूगोलले बन्छ ।
कुन भूगोलको कस्तो हावापानी छ ? कस्ता जीवजन्तु छन्, कस्ता रुखविरुवा छन्, चराचुरुङ्गी कस्ता छन् र त्यहाँका मानिसको रहनसहन कस्तो छ ? जस्तो मानौँ न तराईमा एकदमै चर्को स्वरले गीत गाउँछन् । किनकि ठोक्किने कहीँ छैन सबैलाई सुनाउन चर्को स्वर निकाल्नुपर्‍यो । बाजा बजाउँदाखेरि बिस्तारै बजाएर त भएन, सम्म ठाउँमा मान्छे छिटो हिँड्ने भएकाले बाजाको तालहरुपनि छिटोछिटो बज्छ । अब पहाडमा भन्नुहुन्छ भने झ्याउरे छ, एकछिन फटटट्… नाच्छ । जस्तो ‘बेनीको बजार’ भन्ने गीत बजायो भने तीन स्टेप हुन्छ । सुरुमा ढिलोबाट सुरु हुन्छ– त्यो मान्छे उकालो चढ्दैछ । बिस्तारै अलि तेस्रो आयो अलि छिटो हिँड्छ र सम्म आयो अनि फररर्…. दौडिन्छ । हाम्रो झ्याउरे गीतहरू त्यस्तो छ । गीत पनि ठिक्क स्वरमा गाइन्छ किनभने नजिकै डाँडापाखा छन् ‘इको’ आउँछ । नाच पनि बिस्तारै सुरु गर्छ फननन्.. घुम्छ र थ्याच्च बस्छ । फेरि बिस्तारै सुरु गर्छ । हिमालको गीत भनेको त्यहाँ जाडो छ जीउ पनि तताउन पर्‍यो । उनीहरू विशेषतः घाँटीमा आवाज गुम्स्याएर त्यस्तो गीत गाउँछन् । नाच्दा पनि एकले अर्कालाई हात समातेर नाच्छन् । जाडो छ जाडोमा टास्सिएर नाच्न पर्‍यो । आँगन सानो छ, हात खुट्टा झड्कार छन् त्यो न्यानो पार्नलाई हो । एकले अर्काको हात समात्नुको अर्को कारण चाहिँ अलिअलि रक्सी खाएको हुन्छ, लडिन्छ कि भनेर हो ।

एउटा ‘वारी जमुना पारी जमुना’ भन्ने भाकाले त झण्डै २० करोडको व्यापार गर्‍यो । पूर्वी नेपालको अरुण उपत्यकाको ‘हाक्पारे को नातिनी भाका’ले २० करोडको व्यापार गर्नसक्छ भने त्यस्ता झाका त हामीसँग ६० हजार छन् ।

त्यहाँ लडेपनि त भीरबाट कहाँ पुगिन्छ पुगिन्छ । त्यसकारण अत्यन्त वैज्ञानिक तरिकाको हाम्रो गीत, नाच र बाजाहरू छ । ६० हजार भन्दा बढी प्रकारका गीत भाकाहरू छन्, ३ हजार जति नाचहरू छन् । १३ सय ५० त हामीले पत्ता लगायो अझ कि त खोज्न बाँकी होला । हरेक गाउँ अनुसार एउटै बाजा पनि फरकफरक तरिकाले बजाइन्छ । एउटै बाजाको पनि हजारौँ तालहरू छ । हामीले दुःख गरेको चाहिँ नेपालका सबै भावी पुस्ताहरू विदेश जान नपरोस्, विश्वभरिका संगीत पढ्न चाहनेहरू यहाँ आउने वातावरण बनोस् । किनकि संगीतमा जति आनन्द केही पनि छैन । अझ लोकसंगीत भनेको केटाकेटीदेखि बुढापाकासम्म सबैलाई मनपर्ने हुन्छ । अनि यो लोकसंगीत सिक्न विश्वभरका मानिस बोलाउन सकेको खण्डमा पर्यटनको विकास पनि हुनेभयो । पैसा पनि आउँछ । अर्को कुरा नेपालमा पर्यटक आउँदा रोजगारी पनि बढ्छ, ग्रामीण क्षेत्रको व्यवसायमा पनि टेवा पुग्छ । नेपाली गुरु हुन्छन्, अहिले राम्रा छोराछोरी पढाउन विदेश पठाउन परेको छ, पछि विदेशीहरू संगीत सिक्न नेपाल आउनसक्छन् । गुरु हामी भएपछि त हाम्रा शिष्यहरू संसारभरि हुन्छन् । गुरु नरहरि नाथले सगरमाथाबाट ज्ञान (वेद) संसारभरि फैलिएको भनेको जस्तो संगीत संसारभरि फैलिन्छ ।नेपाली बाजा संस्कृतिको अन्तराष्ट्रियस्तरमा प्रचार गर्नका लागि के गर्न सकिन्छ ? 
‘साम्बा’ भन्ने नाच, भारतको भांड्रा ‘बल्ले बल्ले’ भन्ने नाचले विश्व खाइरोको छ । त्यस्तो नाच त हामीसँग ३ हजार प्रकारको छ, ६० हजार भाका छ । एउटा ‘वारी जमुना पारी जमुना’ भन्ने भाकाले त झण्डै २० करोडको व्यापार गर्‍यो । पूर्वी नेपालको अरुण उपत्यकाको ‘हाक्पारे को नातिनी भाका’ले २० करोडको व्यापार गर्नसक्छ भने त्यस्ता झाका त हामीसँग ६० हजार छन् । ती भाकाहरूलाई हामीले अभिलेखीकरण गरेर विश्वभर प्रचार गर्न सकेपछि त भइहाल्यो नि । जस्तो हामीले कन्सर्ट लिएर बेलायत जाँदा बेलायतीहरूले सुन्छ ‘ओहो यो त ग्यालिक’ म्युजिक जस्तो पो लाग्छ भन्छन् । ग्यालिक भनेको त पहाड आयरल्यान्डको हिमाली भेगमा बज्ने । त्यसकारण मिल्दोजुल्दो हुन्छ । थारुहरूको गीत गाएपछि केन्ट-लिभरपुल आसपासको जस्तो छ भन्छन् ।

हामी नेपाली त विश्वभर छरिएर बसेका छौँ । फुर्सदको बेला त्यहाँका मानिस, स्कुलहरूसँग भेट्ने कुराकानी गर्ने आफूले जानेको सिकाउने । जापानबाट ४० वर्ष अगाडि भोजपुरमा सुन्तलाको नर्सरी राख्न सिकाउन आउनु भएको रहेछ । उनलाई ‘सुन्तले दाइ’ भन्छौँ हामीहरूले । ४० वर्षपछि अस्ति नेपाल आउनुभयो । मसँगको भेटमा उहाँले नेपाली नाच आफूले जापानमा प्रचार गरिरहेको छु भन्नुभयो । भर्खरै टोकियोमा प्रदर्शन भएको रहेछ, जापानीजहरुले नेपाली लाखेको मास्कहरू लगाएर नाचेको रहेछ । भनेपछि हामीले हाम्रो संस्कृति नाचगान गर्नसक्यो सकेपछि संसारभर फैलिन्छ । संस्कृति पनि जोगिन्छ, पर्यटनको विकास हुन्छ र आम्दानीको बाटो पनि खुल्छ । संगीत सबैलाई तान्ने चुम्बक हो, मान्छेको मन तान्ने भनेको संगीत हो । अतः विश्वभर रहेका नेपालीले सानो ठूलो जमघट हुँदा मादल, सारङ्गी अथवा बाँसुरी बजाएर रमाइलो गरिदियो भने त्योभन्दा ठूलो प्रचार केही हुँदैन । यो गर्नैपर्छ । यत्ति गर्न सकेमा हामी गौरवपूर्ण तरिकाले बाच्नसक्छौं ।

भिडिओ :-

तपाईको प्रतिक्रिया