शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – जापानले नेपालको सूचना प्रबिधि तथा सन्चार क्षेत्रमा सघाउने इच्छा जाहेर गरेको छ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईसँगको भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको आवश्यकता अनुसार सघाउन जापान तत्पर रहेको बताए ।

सन्चार मन्त्रालयमा बुधवार भएको शिष्टाचार भेटमा राजदूत ओगावाले बिगतको सहयोग निरन्तर गर्दै सन्चार विकासमा थप सहयोग गर्न जापान इच्छुक रहेको बताए ।

राजदूतले नेपालमा जारी अघोषित नाकाबन्दीका कारण सिर्जित इन्धन संकटका कारण जापानले भूकम्प प्रभावित नेपाली जनतालाई जारी राखेको मानवीय र भौतिक सहायता कार्य प्रभावित भएको बताए ।

उनले चाँडै नै नेपालमा सबै पक्ष सहमत भएर अहिलेको असहज अवस्था अन्त हुने अपेक्षा व्यक्त गरे । मन्त्री राईले भूकम्पपछिको राहत, उद्दार र पुननिर्माणमा जापानले गरेको सहयोगको प्रशंसा गर्दै सन्चार क्षेत्रमा जापानको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री राईले मध्यपहाडी राजमार्गलाई अप्टिकल हाइवे बनाउने आफ्नो योजना सुनाउदै भविष्यमा जापानसँग सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताए । बनेपा बर्दिबास जोड्ने वीपी राजमार्ग निर्माण र अप्टिकल फाइबर बिछ्याउने काममा जापानको सहयोगको स्मरण गर्दै मन्त्री राईले भने- ‘जापानसँग दीर्घकालिन रुपमा सन्चार प्रबिधि विकासको क्षेत्रमा काम गर्न हामी तत्पर छौं ।’

मन्त्री राईले अघोषित नाकाबन्दी अन्त गर्न नेपाल सरकारले राजनीतिक र कूटनीतिक पहल निष्कर्ष नजिक पुर्‍याएको र चाँडैनै नेपालमा राजनीतिक निकास आउने बताए ।

यसैबीच मन्त्री राईसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जीनले पनि बुधवारै सन्चार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । राजदूतले नेपालको सन्चार क्षेत्रको विकासमा कोरियाले सघाउन चाहेको बताए । ***

तपाईको प्रतिक्रिया