शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

गाउँको सानो झुपडी । सेतै फुलेकी हजुरआमा, दिनरात कामको बोझले लखतरान भएका बाआमा, गरिबी र अभावमा बाँचेका भाइबहिनी ।

एकबाली धान फल्ने खेत, सिजन परे मकै र कोदो फल्ने थोरै पाखोबारी । डाँडामाथिको घामजस्तै भएकी हजुरआमा अझै ठमठमती हिँड्नुहुन्छ । उमेरले आराम गरेर बस भनेपनि मन मान्दैन । एकछिन चुप लागेर बस्दा घरव्यवहार बिग्रने हो कि भन्ने चिन्ता लाग्छ ।

छोराबुहारी आफू हाराहारीकै भैसके । घरभरी हातखुट्टा लागेका नातिनातिना छन् । काम गर्दिन भन्दा पनि सुख पाइन्छ । जसोतसो भएपनि बुढी आमाको रेखदेख गर्न छोराबुहारीलाई कर लाग्छ । तैपनि हजुरआमा सकिनसकी भित्रबाहिर गर्नुहुन्छ । घरको कामधन्दा सघाउनुहुन्छ ।

रोगी बाआमाको झन् कहिल्यै हात खाली हुँदैन । गाईवस्तुको धन्दा, कुँडोपानी, खेतीपाती, दाउरा घाँस, भारोपर्म सबैतिर भ्याउनुपर्छ । सञ्चो भएन, आराम गर्छु कहिल्यै भन्न पाइन्न । सकिनसकी उकाली ओराली गर्नुपर्छ । दिनरात काममा खटिनुपर्छ ।

भाइबहिनी सानै छन् । गाउँको स्कूलमै पढ्छन् । विहानबेलुका घरको काम सघाउँछन् । मीठोमसिनो खाने र राम्रो लाउने रहर भएपनि पाईंदैन । विहान हतारहतार गाँस टिपेर स्कूल गएपछि फर्केर घर आएपछि मात्र खाजा खान पाइन्छ । दशैंमा बाहेक अरु बेला आक्कलझुक्कल मात्र नयाँ लुगा मिल्छ । अरुले खाएको र लाएको देखेर चित्त बुझाउनुपर्छ ।

यही गरिबी, अभाव र दुःख व्यथा बोकेको परिवारमा जन्मिएका रामले भाइबहिनीले जस्तो बेलामा पढ्न पाउनुभएन । हाँसखेल गर्ने केटाकेटी उमेरमा रमाउनेबेला घरको व्यथाले पेट पोल्न थाल्यो । अनि कामको खोजीमा काठमाडौं छिर्नुभयो ।

पढेलेखेकाले त जागिर नपाउने काठमाडौंमा लेखपढ नगरेका रामले सजिलै जागिर पाउने कुरै भएन । धेरैदिन भौंतारिएपछि बल्लतल्ल काम त मिल्यो । तर कमाई राम्रो थिएन । जेठो छोरो कमाउन गएको छ भनेपछि घरमा पैसाको आशा हुने नै भयो । यो आशा निराशामा बदलिन नदिन राम दिनरात खट्नुभयो । कयौं दिन भोकै बस्नुभयो । नखाईनखाई बचाएर राखेको पैसा घर पठाउन थाल्नुभयो ।

तर महँगो काठमाडौंमा कमाएको थोरै पैसा हात्तीको मुखमा जिराजस्तै भयो । जिन्दगी कसरी अगाडि बढाउने भनेर सोच्न नपाउँदै घरबाट विवाहको लागि दबाब आउन थाल्यो । जेठो छोरोको विहे गरिदिए सुख पाइन्छ भन्ने बुढी हजुरआमा र बाआमाको आशा थियो । परिवारको आशा पूरा गर्नकै लागि रामले मन नभएपनि विवाह गर्नुभयो ।

धेरै संयुक्त परिवारमा जस्तो हुन्छ, रामको परिवारमा पनि त्यस्तै भयो । विवाह गरेपछि नयाँ दुलही घर बस्न मानिनन् । श्रीमानसँगै काठमाडौं आइन् । यतै रमाइलो हुन थाल्यो । सासु ससुरासँग सम्बन्ध राम्रो हुन सकेन । सासु ससुरा पुराना जमानाका, बुहारी नयाँ जमानाकी । सासु ससुराको व्यवहार बुहारीलाई मन नपर्ने, बुहारीको लवाईखवाई र चालचलन सासु ससुरालाई मन नपर्ने ।

घरमा सुख होला भनेर विवाह गरेका रामको पनि केही जोर चलेन । श्रीमतीसँगै काठमाडौं बस्नुभयो । एउटा छोरा पनि भयो । पहिले आफ्नो कमाईले आफ्नो गाँस टार्न त मुश्किल पथ्र्यो । अहिले खाने मुख थपियो । घरको अवस्था उस्तै हो ।

यसरी जीवन चल्ने नदेखेपछि राम विदेश जाने बाटो खोज्न थाल्नुभयो । जापानमा रेष्टुरेन्ट चलाएर बस्ने एक नेपालीले कामदार खोजेको थाहा भएपछि त्यतै जाने मेसो निकाल्नुभयो ।

घरमा बाआमासँग रोईकराई गर्नुभयो । छोरोले कमाएर ल्याउँछ भन्ने आशामा परिवारले ऋण खोजिदिए । ऋण खोजेर जम्मा पारेको १५ लाख रुपैयाँ बोकेर राम जापानतिर हानिनुभयो ।

‘कहाँ हो कहाँ कैलाश पुग्यो उ त’ आफ्नो ठाउँबाट पारीको गाउँसम्म नपुगेकी रामकी हजुरआमा भन्नुहुन्छ, ‘आफू पुगेको छैन, कता हो कता ।’ बा, आमा र श्रीमतीलाई पनि जापान भनेको अर्कै ग्रह जस्तो लाग्छ । ‘जहाज चडेर उडेर जानुभएको, कस्तो खतरा भयो होला’ काठमाडौं बस्ने रामकी श्रीमतीको भनाइ हो यो ।

‘बा त विदेशमा जानुभएको पैसा कमाउन’ भर्खर बोल्न थालेको रामको छोरो फुरुंग हुँदै भन्छ । छिमेकीहरु पनि छोरो जापानमा छ भनेर रामको परिवारलाई सुखी ठान्छन् । तर परिवारको दुःख २० को १९ भएको छैन ।

रामको जापान बसाई पनि सुखमय छैन । जापान कसरी धनी भएछ भन्ने थाहा छ । धर आफू कसरी धनी हुने भन्ने थाहा भएपनि पूरा हुने छाँट छैन । दिनको १८ घण्टा काम गर्नुपर्छ ।

दिनभर पिठो मुछ्दै, रोटी पकाउँदै नानसँग खेल्नुपर्छ । बेलाबेला ब्याज तिर्ने पैसा घर पठाउने गर्नुहुन्छ । तर ऋण खोजेको १५ लाख कहिलेसम्म तिरिसकिएला, सम्झँदा पनि कहालीलाग्छ ।

परिवारको दुःख र गरिबी हटाउन भनेर विदेश आएपनि अवस्था फेरिएको छैन । पैसाको समस्या त उस्तै छ नै । पारिवारिक सम्बन्ध पनि राम्रो छैन । न श्रीमतीलाई चित्त बुझाउन सकिएको छ, न बाआमालाई खुशी बनाउन ।

‘बा आमा धेरै दुःख नगर्नुहोला । आमाले आफ्नो शरीरको ख्याल गर्नुहोला । भाइबहिनीहरु राम्रोसँग पढ है, नपढेमा म जस्तै दुःख पाइन्छ….उही तपाईंहरुको दुःखी ..’ जापानबाट रामले पठाएको चिठी पाएपछि घरमा रुवाबासी चल्छ । ‘घरको दुःख देख्न नसकेर उता पुगेको, उसलाई पनि कति गाह्रो होला….’ रामको बुढा बा भक्कानिनुहुन्छ ।

गरिबी र अभाव खेप्न तथा कामको खोजीमा विदेश भौंतारिन बाध्य परिवारको यो साझा व्यथा र कहानी ‘प्लेइङ विथ नान’ नामक डकुमेन्ट्रीको हो । किम्फमा प्रदर्शन भएका अरु फिल्मले जस्तै यो डकुमेन्ट्रीले पनि गाउँठाउँको यथार्थ झल्काएको छ ।

गाउँको वास्तविक भोगाई र पीडा पर्दामा देखेर दर्शकहरुको आँखा रसायो । सबैले भने–देशलाई सिँगापुर बनाउँछु भन्दै भागबण्डाको झिँगे दाउमा रमाएका नेताहरुले हेर्नुपर्ने हो यस्ता डकुमेन्ट्री । आयोजकले उनीहरुलाई देखाउनुपर्ने हो ।

तर डकुमेन्ट्रीमा नहेरेपनि गाउँठाउँ डुल्दा नेताहरुले यो अवस्था थाहा पाएकै छन् । जापानको नानसँग रुमल्लिएको जिन्दगी, नाना नपाएर अभावमा छटपटिएको कहानीबारे कोही अनभिज्ञ छैनन् ।

टीठलाग्दो जीवन गुजार्न बाध्य जनतालाई थोत्रो भाषण र आश्वासन बाहेक मन बुझ्ने र पेट भर्ने उपाय दिन सक्ने कोही निस्किएलान् त ?

तपाईको प्रतिक्रिया