शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
  • सन्तोष न्यौपाने
काठमाडौं- अँध्यारोले छोपिँदै गएको युगलाई उज्यालो पार्ने एउटा भाव छ- प्रेम। प्रेमलाई मान्छेका अभिलाषा, ठूला सपना, छड्के बाटोको सफलता, वैरभावले निरन्तर हमला गरिरहेका छन् तर प्रेम कहिँ कतै हरियो रंग भएर बसेकै छ- सुक्दै गएको दुबोको जरातिर बचेको हरियोझैं। भन्नेहरू भन्लान्- प्रेमलाई कुनै दिन चाहिँदैन। संसारको क्यालेन्डरमा यस्ता दिन तोकिएका छन् जसमा पटकपटक मानवताको हत्या गरिएको थियो। कयौं आंतकवादी हमला, ठूलो देशले सानो देशलाई निलेको दिन, नरसंहारले रक्ताम्य भएका पटांगी- सबै क्यालेन्डरमा झुन्डिएका छन्। त्यही बीच पनि प्रेम उज्यालिएर झुन्डिरहेकै छ।
 भ्यालेन्टाइन डेको प्रभाव युवापुस्तामा बढ्दै गएको छ, नकार्नै नसकिने गरी। सबैथोक सुरुमै गंगाझैं निर्मल हुँदैन, गंगा पनि बग्दाबग्दै निर्मल भएको हो। समयको खोलामा बग्दै गए प्रेम संग्लिदै जान्छ। युवा नै प्रेमका राजदूत हुन्। सुरु जहाँबाट गरे पनि हुन्छ, भ्यालेन्टाइन डेबाट पनि। नकार्नु घृणा हो, स्विकार्नुमा पनि कला चाहिन्छ। एकअर्काको अस्तित्व र अधिकार स्विकार्ने कला विकास भयो भने संसार सुन्दर हुँदै जाला। ‘स्विकार्ने कला’ नै ‘प्रेम’ हो।
‘ए महाकाली तल आऊ त, अलि ठाँट्टिएर है, फोटो बाहिर आउँछ!’
उनी पहिल्यै टोपी फेरेर चिटिक्क परिसकेका थिए।
महाकाली तल झरिन्।
‘ल हेर्नुस् अझै जवान छिन्,’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नी श्रीमतीतिर देखाउँदै भने, ‘कसैले ७७ वर्षको भन्छ त?’
महाकाली मुस्कुराइन्। लाजले अनुहार लाल भयो। केही बोलिनन्। घिमिरे नयाँ प्रेमीजस्तो श्रीमतीको प्रशंसा गरिरहे- ‘मेरो सबै थोक यिनै हुन्, यिनी मलाई सम्हाल्छिन्, म कविता सम्हाल्छु।’
सोफामा श्रीमान्सँगै बसेकी महाकाली हाँसिरहिन्।
‘खै कस्तो खिच्नुभएछ? तपाईंहरूले जुन छापे पनि म आफू त सबै हेरुँ न,’ खिच्दाखिच्दै घिमिरेले आफ्नो तस्बिर हेर्न चाहे।
‘हाम्रो फोटो हाँसेको आउनुपर्छ,’ क्यामराको स्त्रि्कनमा एकटक लाउँदै उनले सन्तुष्ट पारामा भने, ‘हासेकै आएछ।’
फोटोको प्रसंग उठेपछि मात्र महाकालीको आवाज सुनियो। उनले भनिन्, ‘हाँसेको न आएर के भो र…’
‘सुन्नुभो मैले भन्या थेँ नि,’ महाकालीले वाक्य पूरा गर्न नपाउँदै घिमिरेले पत्नीको कुरामा सहमति जनाए।
महाकाली कोठामा आउनुअघि नै उनले भनेका थिए, ‘हाम्रो पालामा माया भनेको ‘फिलिङ’ मात्र हुन्थ्यो, देखिँनदैथ्यो। बाहिरबाट नदेखिए पनि भित्री माया गाढा हुन्थ्यो।’
श्रीमतीले त्यही कुरामा सही थापेपछि राष्ट्रकविको अनुहार उज्यालो भएर आयो। ९३ वर्षे घिमिरेले आफ्नो पालाको मायाबारे कुरा गरे। ‘अहिलेजस्तो हरेक बिहान आई लभ यू भन्न आवश्यक थिएन, प्रेम कामबाट देखिने हो,’ उनले भने, ‘पहिले विवाहपछि प्रेम हुन्थ्यो, अहिले प्रेमपछि विवाह।’
विवाहपछिको प्रेम कस्तो हुन्छ? यसको गहिरो अनुभव छ घिमिरे र महाकालीलाई।
‘यसको प्रमाण गौरी हो,’ घिमिरेले भने, ‘तपाईंले पढ्नु भा छ होला?’
घिमिरे १४-१५ वर्षका ठिटो थिए। लमजुङको उत्तरी भेग पुस्तुङमा छँदाको कुरा। सानै उमेरमा विवाह गर्ने चलनै हो त्यतिखेरको। विवाहको कुरालाई कसैले नाइँ भन्दैन थिए। उनले पनि चलन पछ्याए। उनका बुवा र केटीका बुवाबीच कुरा भयो। ‘लड्कीको घर १०-१२ किलोमिटर टाढा थियो,’ उनले सम्झे, ‘उनको बुवा र मेरो बुवाले भेटेर कुरा मिलाएपछि हाम्रो बिहे भयो।’
त्यतिबेला गौरी पोख्रेल १० वर्षकी थिइन्। बिहेपछि घिमिरे पढ्न काठमाडौं आए। गौरी माइतै बसिन्। त्यतिखेरसम्म उनले गौरीलाई राम्रोसँग देखेका पनि थिएनन्। कुराकानी त परै जाओस्। गौरी ३-४ वर्ष माइतै बसिन्।
‘हामीबीच अरूले देख्नेगरी कहिल्यै कुराकानी भएन, लाज हुन्थ्यो,’ घिमिरेले भने, ‘एकान्तमा भेट्दा उनको अनुहारमा लाज आउँथ्यो। त्यो लाजको सौन्दर्य आत्मीय र पवित्र थियो, मायाको अनुभव हुन्थ्यो।’
विवाहपछि चार/पाँच वर्ष मात्र उनीहरू सँगै बसे। यसबीच दुई छोरी जन्मिए। वैवाहिक जीवन राम्रैसँग चलिरहेको थियो। २००४ सालमा एक्कासि गौरीलाई टाइफाइडले यस्तरी समात्यो, २०/२१ वर्षकी उनी त्यही व्यथाले बितिन्। घिमिरे ठूलो पीडामा परे। नदेखिने हृदयको प्रेम कति विशाल हुँदो रहेछ! हरेक दिन ‘आई लभ यू’ नभने पनि हुँदो रहेछ। पवित्र र सच्चा प्रेम छ भने पिपलका जराजस्तो झांगिन कत्ति बेर लाग्दैन। उनले प्रेमको अनुभव त्यतिखेर गरे, जब गौरी उनीसँग थिइनन्। गौरीप्रतिको माया हृदयमा मात्र राख्न सकेनन्। असरल्ल पोखिदिए, शोक काव्य ‘गौरी’ मार्फत्।
त्यतिबेला छोरीहरू सानै थिए। स्याहार्ने आमाको खाँचो बढ्दै गयो। ‘कवि मान्छे, असरल्ल स्वभावको थिएँ,’ उनी भन्छन्, ‘केटाकेटीको त कुरा, मैलाई स्याहार्ने मान्छे चाहिने भयो।’
काकाले घर नजिकैको गाउँमा केटी माग्न गए। यसपालि पनि केटी हेर्नेतिर लागेनन् उनी। उनको मान्यता छ- अर्काकी छोरीलाई हेर्न गएपछि बिहे गर्नु नै राम्रो। हेरीवरि त्यत्तिकै छाडे केटीको मनमा आघात पर्छ।
उनलाई गतेमिति ठ्याक्कै सम्झना भएन। २००५ सालतिर हुनुपर्छ। उनकै शब्दमा भन्दा, बेस्सरी हिँउ परेको अर्को वर्ष। उनले दोस्रो बिहे गरे, महाकाली अधिकारीसँग। उनी त्यसबेला २८ वर्षका थिए। घरमा नयाँ दुलही भित्रिएपछि जीवनको गोरेटो फराकिलो हुँदै गयो। उनी महाकालीलाई बेलाउँदा पनि ‘दुलही’ नै भनेर बोलाउँथे। ‘बच्चा जन्मेपछि भने नामै काढ्न थालेँ,’ उनले भने।
महाकालीबाट चार छोरी र दुई छोरा जन्मिए। यति लामो जीवन यात्रामा अहिलेसम्म एक दिन ठाकठुक परेको छैन। प्रेम हृदयदेखि हुनुपर्छ। यी दुईबीच यही कुराले काम गरेको छ। घिमिरेलाई पत्नीप्रति गर्व छ। ‘असरल्ल स्वभाव’ भएका कविलाई सम्हालेर यहाँसम्म ल्याइन्। उनको पढाइलेखाइमा साथ दिइन्। कहिल्यै गुनासो गरिनन्। जहानघर सम्हालिन्। अहिले पनि सम्हालिरहेकै छन्, उस्तैगरी।
महाकालीलाई पनि श्रीमान्प्रति उस्तै सम्मान र गर्व छ। भन्छिन्, ‘मैले उहाँजस्तो व्यक्तिलाई श्रीमान् भन्न पाएकी छु। उहाँले पाएको सम्मानमा म पनि सम्मानित भएजस्तो लाग्छ।’
यति भनेर उनी एकछिन अडिइन्। पुलुक्क श्रीमानतिर हेरिन्। दुवै मुसुक्क हाँसे।
बुढाबुढी भएजस्तो लाग्दैन उनीहरूलाई। ‘हरेक दिन यिनलाई देख्दा मलाई नयाँ ऊर्जा मिल्छ,’ घिमिरेले भने, ‘यही प्रसंगमा मलाई एउटा कविता भन्न मन लाग्यो।’
मेरो प्रिती पहिले हो कि
उनको प्रिती पहिले
जान्दिनँ म एकैचोटि
के भो कुन्नि कहिले।
‘प्रेम व्यवहारिक हुनुपर्छ,’ उनी आफ्नो पालाको प्रेमलाई अहिलेको लभसँग दाँज्दै भन्छन्, ‘उमेर पुगपछि गर्ने प्रेम राम्रो हो। केही कुरामा भने ध्यान पुर्‍याउनुपर्छ। पहिले माया गर्ने, पछि मन परेन भनेर विछोडिने राम्रो होइन। पहिलो कुरा त दुई प्रेमीबीच आपसी समझदारी र एकअर्कामा राम्रो बुझाइ हुनुपर्छ। यसले मात्र हुँदैन, अभिभावकको संरक्षणमा प्रेम जोडीले आफ्नो प्रेम अगाडि बढाउनुपर्छ।’
उनले अगाडि थपे, ‘देखावटी माया राम्रो होइन, जुन अहिले चलेको छ। प्रेम पर्वलाई नबुझी मनाइयो भने राम्रो होइन। यसलाई हाम्रो संस्कृतिमा परिवर्तन गर्नुपर्छ। हाम्रो संस्कृतिअनुसार कामदेव प्रेमका भगवान हुन। पहिले-पहिले वसन्त सुरु हुनेबित्तिकै प्रेम उत्सव सुरु हुन्थ्यो। त्योबेला मानिसले कामदेवको पूजा गर्थे। प्रेममा कामदेवको पूजा गरिनुपर्छ। तर काम वासनातिर मात्र मन गयो भने नकारात्मक हुन्छ।’
पूर्वीय संस्कृतिमा वसन्त ऋतुको आगमनपछि मनाइने प्रेम उत्सव नै पश्चिमीहरूले ‘भ्यालेन्टाइन्स डे’का नाममा मनाउन थालेको उनको बुझाइ छ। ‘प्रेम उत्सव हाम्रै चाड हो, हाम्रै संस्कृति हो, यो वसन्त आगमनको उल्लास मनाउने र प्रेमलाई सदियौं जीवित राख्छु भनी बाचा गर्ने अवसर हो,’ उनले भने।

तपाईको प्रतिक्रिया