मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताउनुभयो । उहाँले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा मुलकभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन् । ‘यति धेरै परीक्षार्थी किन अनुपस्थित रहे भन्ने हाम्रो लागि पनि चासोको विषय बनेको छ । जिल्लागत रूपमा बुझ्ने कोसिस गरेका छौँ तर यस विषयमा निष्कर्ष निकाल्न निकै कठिन देखिएको छ,’ उहाँले भन्नुभयो ।

एसइईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन् । जसले गर्दा एसइईमा सहभागी हुने तथ्याङ्क घट्छ । त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउँछन् ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसइईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ । महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसइई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताउनुभयो ।

अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ । ‘धेरै छात्र अनुपस्थित रहनुले उनीहरू रोजगारीमा गएका कारण वा आर्थिक अभावका कारण परीक्षामा अनुपस्थित भएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ,’ परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो । चैत १४ गतेदेखि सुरु भएको एसइई मङ्गलबार सम्पन्न हुँदै छ । उपत्यकामा सार्वजनिक बिदा भए पनि परीक्षा सोमबार पनि सञ्चालन गरिएको थियो । परीक्षाका लागि मुलुकभर दुई हजार ६४ वटा केन्द्र निर्धारण गरिएको छ । –गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया