शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौ – देशव्यापी रूपमा गरिएको एक जनमत सर्वेक्षणले नेपालको राजनीतिले जनतामा निराशा बढाउँदै गएको देखाएको छ । इन्टरडिसिप्लिनरी एनालिस्ट (आईडीए) ले गरेको पछिल्लो सर्वेक्षणले राजनीतिक संरचनाले ल्याएको जनअसन्तुष्टि विस्तारै निराशामा परिवर्तन भइरहेको देखाएको हो । सर्वेक्षणमा सहभागी जनसंख्याको ठूलो हिस्साले देश गलत दिशामा गइरहेको देखाएको छ । जुनै दलको सरकार भए पनि जनताका निराशा हटाउन केही नगरेको उनीहरू ठान्छन् ।

सन् २०१० अगस्ट, २०११ का फेब्रुअरी र जुनमा गरिएका सर्वेक्षणमा ३५ जिल्लाका ३० हजार जनालाई सहभागी गराइएको थियो । उनीहरूले सबभन्दा ठूलो निराशाको उदाहरण दलहरू सहमतिमा पुग्न नसक्नु र नयाँ संविधान जारी हुन नसक्नुलाई लिएका छन् ।

जनताका मुख्य तीन सरोकार गरिबी, मूल्यवृद्धि र बेरोजगारीलाई कुनै सरकारले पनि सम्बोधन गर्न नसकेकामा निराश छन् । त्यसैले जनता सरकारको मूल्यांकन नकारात्मक हिसाबले गरिरहेका छन् र उनीहरूको बुझाइमा सरकारले अति कम प्रगति र विकास गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले देशको मुख्य प्राथमिकता संविधान निर्माणलाई दिएका छन् । धेरैले अहिलेको समस्या संविधान नबन्नु नै ठानेका छन् ।

तपाईको प्रतिक्रिया